प्रधानमन्त्रीको दाबी: लकडाउनका बेला पनि देशको अर्थतन्त्र खस्किएन, व्यापार घाटा सुध्रियो

बिजमाण्डू
२०७७ चैत्र १४ गते ०६:५८ | Mar 27, 2021

Tata
GBIME

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमानमा सरकार र उद्योगीबीच तनावपूर्ण स्थिति नभएको दाबी गरेका छन्।  उद्योग सङ्गठन मोरङको नवनिर्वाचित कार्यसमितिको पदस्थापन समारोहमा शुक्रबार संक्षिप्त भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार र उद्योगीबीच सुमधुर सम्बन्ध भएको बताएका हुन्।

ओलीले सरकार र उद्योगी एकअर्काका परिपूरक भएको धारणा प्रकट गरे। उनले विगतका तुलनामा व्यापार घाटा घट्दै गएको जिकिर गरे।
‘अनुपात र प्रतिशतमा थोरै देखिएला तर व्यापार घाटामा सुधार आएको छ’, प्रधानमन्त्रीले भने, ‘तुलनात्मक अध्ययन गर्दा हामी सकारात्मक दिशातिर फर्किएको छर्लङ्ग हुन्छ।’

उनले आफ्नो नेतृत्वको सरकारले ठूला, साना र मझौला गरी सबै प्रकारका औद्योगिक क्षेत्रको निर्माण गरिरहेको जानकारी दिए। उनले हरेक पालिकामा एक औद्योगिक ग्राम बनाउने योजना रहेको सुनाए। प्रधानमन्त्रीले कोभिड र लकडाउनका कालमा पनि कृषि उपजको उत्पादन राम्रो भएको र आर्थिक क्षति कम भएको बताए।

उनले भने ‘केही समय लकडाउन भयो तर अन्य मुलुकका तुलनामा हाम्रो सामाजिक जनजीवन त्यति खल्बलिएन। हाम्रो अर्थतन्त्रमा ठूलो क्षति भएन। लकडाउनका बेलामा पनि हाम्रो आपूर्ति व्यवस्था राम्रो रह्यो।’प्रम ओलीले कोभिडयता होटल र पर्यटनको क्षेत्र केही खस्किए पनि रिभाइभ हुने विश्वास व्यक्त गरे।

समारोहमा प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट नै उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घले संयुक्त रूपमा सुरु गरेको नारा ‘मेरो देश मेरै उत्पादन’ को शुभारम्भ भएको घोषणा गरे। कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुयश प्याकुरेलले सङ्गठनको विधानअनुसार कार्यसमितिको महिला सदस्यमा प्रतिभा रिजाल ओली तथा अन्य दुई जनामा सुशील रिजाल र सञ्जय अग्रवाललाई मनोनीत गरे।