प्रत्येक आयोजनाको योजना बनाएर अघि बढ्न यातायात मन्त्रीको निर्देशन, पर्वतमा दुई पुल बन्यो

बिजमाण्डू
२०७७ माघ २६ गते १५:५६ | Feb 8, 2021

Tata
GBIME

काठमाडौं। भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पोखरा पुगेर प्रत्येक आयोजनाको योजना बनाएर अघि बढाउन निर्देशन दिएका छन् ।

सोमबार  संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखरा अन्तर्गतका डिभिजन प्रमुख, आयोजना प्रमुख ,निर्माण व्यवसायीहरुसंग पछिल्लो प्रगतीको जानकारी लिँदै आयोजनाहरु समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।

पोखरा काठमाडौंपछिको महत्वपूर्ण शहर भएकाले यस क्षेत्रका सडकको सौन्दर्यको कामलाई तीब्र बनाउन निर्देशन दिएका हुन्। नेम्वाङले  मन्त्रालयले प्राथमिकता दिएर पोखरा क्षेत्रमा ठूलो बजेट विनियोजन गरिएको समेत उल्लेख गरे। 

सोमबार मन्त्री नेम्वाङ सहितको टोली पर्वत पुगेको थियो। उनले त्यहाँ पुगेर जिल्लाको रती खोला र अम्बोट खोलामा निर्माण सम्पन्न दुई  पक्की पुलको एकसाथ उद्घाटन गरे ।

मोदी गाउँपालिकाको डिमुवा–राम्जा–चित्रे सडकमा पर्ने रतीखोला पुलको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कुश्मा नगरपालिकाको अम्बोट–दुर्लुङ सडकमा पर्ने अम्बोटखोला पुल नेम्वाङले उद्घाटन गरेका छन्। 

रती खोलामा निर्माण भएको पुल १० करोड ४५ लाख ९८ हजारको लागतमा निर्माण सम्पन्न भएको हो। जसको लम्बाई ७० मिटर रहेको छ । दुवैतिर १.७५ मिटरको फुटपाथ रहेको पुलको चौडाई ७.५० मिटर छ ।

यो पुल निर्माण भएपछि वर्षैदेखि खोलाबाट हिड्न बाध्य मोदी गाउँपालिका वडा नं ६,७ र ८ का बासिन्दा हर्षित भएका छन् । यो पुललाई पोखरा–बागलुङ राजमार्गको वैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने छ ।

यस पुलले मोदी गाउँ चित्रे–आर्थर हुँदै पर्वतको दक्षिण तथा स्याङ्जा जिल्ला समेत पुग्न सकिन्छ । धार्मिक तथा पर्यटकीय सडकको रुपमा विकास भईरहेको पोखरा–पामे–पन्चासे सडकलाई समेत यस पुलले जोड्ने छ ।

त्यसैगरी अम्बोट खोलामा निर्माण सम्पन्न पुलले कुश्मा नगरपालिका वडा नं ३ का साथै मोदी गाउँपालिकाको वडा नं ४ को हलहले, क्याङ तथा वडा ५ को बाजुङका स्थानीय लाभान्वित हुने भएका छन् ।अम्बोट खोलामा निर्मित पुलको लम्बाई २५ मिटर र चौडाई ७.५० मिटर र छ ।

सिङगल स्पान रहेको यो पुल ४ करोड १७ लाख ६२ हजार रुपैयाँ लागतमा निर्माण भएको हो । अम्बोट खोला पुलले दुर्लुङ बाजुङ –हलहले –क्याङ–लेस्पार सडकको कनेक्टिभिटीको रुपमा काम गर्ने छ।

पुल उद्घाटन कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सरकारले अगाडि बढाएका काम समयमा सम्पन्न गर्न सम्बन्धित कार्यालय तथा निर्माण व्यवसायीले आफ्नो कामको गतिमा बृद्धि गर्नुपर्ने बताए।

उनले राजनीतिक परिवर्तन सँगै समृद्धिको यात्रामा अगाडि बढेको अवस्थामा समयमा काम सम्पन्न नहुँदा योजनाहरु अलपत्र पर्ने गरेकोमा चिन्ता व्यक्त गरे। ।

‘पर्वतमा पूर्वाधारको क्षेत्रमा थुप्रै काम भइरहेको छ,’ उनले भने, ‘अब लाख करोडको होइन, हामीले अर्बको योजना अगाडि बढाएका छौं । पोखरा–राम्जा–रिडी सडक वैकल्पिक राजमार्गको रुपमा काम सुरु हुँदै छ ।'

ग्रामीण सडक सुधार आयोजनाअन्तर्गत १०० किमी सडक पर्वतमा निर्माण हुँदैछ ।’मन्त्री नेम्वाङले वर्तमान सरकार  ठूला ठूला विकासको पूर्वाधार निर्माणमा लागेको  बताए।