बैंकिङ समूहले बढायो सेयर बजार, जलविद्युतका सेयर विक्री गर्दै बैंकतर्फ लगानीकर्ता  



बिजमाण्डू
२०७७ असोज १८ गते १५:२९ | Oct 4, 2020

Tata
GBIME

काठमाडौं। साताको पहिलो दिन सेयर बजार १४ दशमलव ७१ अंक बढेर १५८५ दशमलव ७५ विन्दुमा बन्द भएको छ।

सेयर बजारमा अधिकत्तम सेयर हिस्सा रहेको वाणिज्य बैंकको सुचक १ दशमलव २४ प्रतिशत र विकास बैंकको सुचक १ दशमलव २१ प्रतिशत बढेपछि सेयर बजार बढ्न पुगेको हो । उत्पादन समुहमा कारोबार हुँदै आएको ६ कम्पनीमा शिवम् सिमेण्ट र हिमालयन डिष्टिलरीको सेयर मुल्य बढेसँगै उक्त समुहको सुचक सबैभन्दा बढी ४ दशमलव ७८ प्रतिशत बढेको छ। 

कारोबार भएका १२ समुहको सुचकमा जलविद्युत र म्युचुअल फण्डको सुचक बाहेक बाँकी समुहको सुचक बढेको छ । गत साता १३१७ विन्दुसम्म पुगेको जलविद्युतको सुचक आइतवार १२७७.१२ विन्दुमा ओर्लिएको छ। नेप्सेका सूचीकृत रहेका ३४ जलविद्युत कम्पनीमा गत सातामा सबै एक सय रुपैयाँ भन्दा माथि रहेका कम्पनी थिए भने आइतवार जलविद्युत सेयर सुचक घटेसँगै नेशनल हाइड्रोपावरको सेयर मुल्य ९६ रुपैयाँमा ओर्लिएको छ। 

विहीवार १५७१ दशमलव ०४ विन्दुमा बन्द भएको सेयर बजार आइतवार १५७७ दशमलव ७८ विन्दुबाट सुरु भएको हो। नियमित कारोबारको सात मिनेटमा नै यसदिनकै उच्च १५८८ विन्दुसम्म पुगेको थियो। तर सुचक सो विन्दुमा टिक्न भने सकेन्। 
आइतवार कारोबार रकम पनि बढेको छ। विहीवार २ अर्ब ८० करोड बराबरको सेयर कारोबार भएको थियो भने आइतवार ३ अर्ब ४ करोड ४१ लाख बराबरको सेयर कारोबार भएको छ।  

शिवम् सिमेन्टको सबैभन्दा बढी २५ करोड ७८ लाख बराबरको सेयर कारोबार भएको छभने नेपाल पुनर्बीमा कम्पनीको १८ करोड ५९ लाख ४७ हजारको सेयर कारोबार भएको छ। कर्पोरेट डेभपमेण्ट बैंकको सेयर मुल्य ९ दशमलव ८३ प्रतिशत बढेर प्रतिकित्ता २०१ रुपैयाँ पुगेको छ भने प्रोग्रेसिभ फाइनान्सको सेयर मुल्य ९ दशमलव ४४ प्रतिशत बढेर १३९ रुपैयाँ पुगेको छ । सेयर मुल्य घट्नेमा अधिकांश जलविद्युत कम्पनी रहेका छन्। युनियन हाइड्रोपावर, खानीखोला, दिव्यश्वरी जलविद्युतको सेयर मुल्य ९ प्रतिशतसम्म घटेको छ।