काठमाडौं । आज बिहानदेखि नेपालसहित विभिन्न देशका धेरै सरकारी वेबसाइटहरु बन्द छन्। साथै, व्यवसायिक कम्पनीहरुका वेबसाइट पनि अफलाइन छन्।
एआई को सहयोगमा वेबसाइट निर्माणमा व्यापक रुपमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ ल्याङ्वेजमा मा गम्भीर सुरक्षा त्रुटि पत्ता लागेको छ। जसकारण विश्वभर साइबर सुरक्षा सतर्कता बढाइएको छ।
एक दशकभन्दा बढी समयदेखि लुकेको भनिएको सो कमजोरीको दुरुपयोग भएमा ह्याकरले प्रभावित सर्भरमा अनधिकृत पहुँच प्राप्त गर्ने र संवेदनशील डेटा चोरी गर्न सक्ने जोखिम बढेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।
त्यसैले सुरक्षा निकायहरुले वेबसाइट संचालकहरुलाई तत्काल सुरक्षा अपडेट गर्न र सम्भव नभए जोखिमयुक्त प्रणाली अस्थायी रुपमा अफलाइन राख्न आग्रह गरेका छन्।
नेपालमा केही सरकारी वेबसाइटहरु बिहानैदेखि बन्द छन्। यो समाचार तयार पार्दा सम्म प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयको बेवसाइट बन्द छ।

फिनल्यान्डका सरकारी निकाय, एडिनबर्ग काउन्सिल, नेदरल्यान्ड्सको साइबर सुरक्षा निकाय, युनिभर्सिटी अफ जेनेभा, स्कटल्यान्डका केही स्वास्थ्य बोर्ड र स्थानीय काउन्सिलले पनि आफ्ना केही वेबसाइट बन्द गरेको बताइएको छ।
चीनले पनि आफ्ना वेबसाइटहरुको निगरानी बढाएको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि यस्तो गरिएको हो।
के हो पीएचपी?
पीएचपी वेबसाइटको पछाडिपट्टि चल्ने काम संचालन गर्न प्रयोग गरिने प्रोग्रामिङ भाषा हो।
अनलाइन पसल, ब्लग र वर्डप्रेस जस्ता प्लेटफर्ममा यसको व्यापक प्रयोग हुन्छ। यसमा देखिएको कमजोरीले प्रभावित संस्करण र प्रणाली प्रयोग गर्ने वेबसाइटलाई जोखिममा पार्न सक्छ।
पीएचपीको कमजोरी देखिएसँगै साइबर सुरक्षा विज्ञहरुले वेबसाइट संचालकलाई सम्बन्धित सुरक्षा अपडेट तुरुन्त लागू गर्न भनेका छन्।
त्यस्तै, प्रणालीमा शंकास्पद गतिविधि निरीक्षण गर्न र प्रयोगकर्तालाई फिसिङ तथा शंकास्पद सन्देशबाट सचेत रहन आग्रह गरेका छन्। त्यो नहुन्जेल वेबसाइट बन्द गर्न आग्रह गरिएको छ।










