प्रविधि हात-हातमा पुग्दा पनि बिजुलीको पैसा तिर्न लाइन, काठमाडौं उपत्यकाकै ४२% ग्राहक पुग्छन् काउन्टर

जनक वली
२०८३ कात्तिक ९ गते ०६:१० | Oct 26, 2026
प्रविधि हात-हातमा पुग्दा पनि बिजुलीको पैसा तिर्न लाइन, काठमाडौं उपत्यकाकै ४२% ग्राहक पुग्छन् काउन्टर


काठमाडौं। डिजिटल भुक्तानीको प्रयोग बढ्दै गए पनि काठमाडौं उपत्यकाका करिब ४२ प्रतिशत ग्राहक अझै बिजुलीको महसुल तिर्न नेपाल विद्युत प्राधिकरणको काउन्टरमा पुग्ने गरेका छन्।

GBIME
Tata

प्राधिकरणको गत आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार उपत्यकाका मुख्य १० वितरण केन्द्रका ४१.८३ प्रतिशत ग्राहकले नगदमै महसुल बुझाएका हुन्।

उपत्यकाका यी वितरण केन्द्रअन्तर्गत कुल ५ लाख २० हजार २०९ ग्राहक छन्। तीमध्ये २ लाख १७ हजार ६२१ जनाले विद्युत महसुल बुझाउन काउन्टरमै पुगेर नगद भुक्तानी गरेको तथ्यांकले देखाएको छ।

स्मार्टफोन, इन्टरनेट र डिजिटल भुक्तानी सेवाको पहुँच विस्तार भइरहँदा पनि ठूलो संख्यामा ग्राहकले परम्परागत भुक्तानी प्रणाली अपनाइरहेका छन्। विशेषगरी देशमै उच्च साक्षरता दर भएका जिल्लामा समेत डिजिटल भुक्तानीको प्रयोग अपेक्षाअनुसार बढ्न नसकेको देखिएको छ।

स्रोत : नेपाल विद्युत प्राधिकरण

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा सबैभन्दा बढी साक्षरता दर भएका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर हुन्। काठमाडौंको साक्षरता दर ८९.२३ प्रतिशत, ललितपुरको ८८.२१ प्रतिशत र भक्तपुरको ८८.०६ प्रतिशत छ।

उच्च साक्षरता दर भएका जिल्लामै ठूलो संख्यामा ग्राहकले काउन्टरबाट महसुल बुझाउने गरेको तथ्यांकले प्राधिकरणका कर्मचारीलाई समेत आश्चर्यमा पारेको छ।

‘अहिले ग्राहकले अनलाइन र भौतिकरुपमा उपस्थित भएर बिजुलीको महसुल तिर्ने व्यवस्था छ। तर, उपत्यकाकै करिब आधा ग्राहक अझै अनलाइन भुक्तानीमा गएका छैनन्, जुन हाम्रा लागि आश्चर्यको विषय छ,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘अनलाइनबाट तिर्ने वा काउन्टरमा पुगेर महसुल बुझाउने ग्राहकको स्वतन्त्रताको कुरा हो। त्यसैले हामीले ग्राहकलाई केही भन्दैनौं।’

काठमाडौं उपत्यकामा प्राधिकरणका रत्नपार्क, बानेश्वर, कुलेश्वर, महाराजगञ्ज, जोरपाटी, लगनखेल, भक्तपुर, थिमी, पुल्चोक र कीर्तिपुर गरी १० वटा मुख्य वितरण केन्द्र छन्। यी केन्द्रमध्ये काउन्टरमा पुगेर महसुल बुझाउने ग्राहकको अनुपात कीर्तिपुरमा सबैभन्दा धेरै छ।

कीर्तिपुर वितरण केन्द्रअन्तर्गत ५२.१६ प्रतिशत ग्राहकले काउन्टरमै पुगेर विद्युत महसुल बुझाएका छन्। अर्थात् उक्त क्षेत्रमा आधाभन्दा बढी ग्राहकले नगद भुक्तानी गर्ने गरेका छन्।

काउन्टरबाट महसुल बुझाउने ग्राहकको अनुपातका आधारमा पुल्चोक वितरण केन्द्र दोस्रो स्थानमा छ। त्यहाँ ४८.१२ प्रतिशत अर्थात् १३ हजार ७९४ ग्राहकले काउन्टरमै पुगेर महसुल तिरेका छन्।

भक्तपुर वितरण केन्द्रअन्तर्गत पनि नगद भुक्तानी गर्ने ग्राहकको संख्या उल्लेख्य छ। त्यहाँ ४५.१८ प्रतिशत अर्थात् २३ हजार ३७० ग्राहकले डिजिटल माध्यम प्रयोग नगरी काउन्टरबाट महसुल बुझाएका छन्।

यद्यपि, सबै वितरण केन्द्रमा नगद भुक्तानी गर्ने ग्राहकको अनुपात समान छैन। रत्नपार्क वितरण केन्द्रअन्तर्गतका ५१ हजार ३५९ ग्राहकमध्ये २९ हजार १०१ जना अर्थात् ५६.६६ प्रतिशतले अनलाइनबाट महसुल तिरेका छन्।

ठूलो रकम भुक्तानी गर्दा अनलाइन कारोबारमा लाग्ने सीमाका कारण पनि केही ग्राहक काउन्टरमा पुग्ने गरेका छन्। तर, यस्तो सीमाका कारण काउन्टरमै जानुपर्ने ग्राहकको संख्या ठूलो नरहेको प्राधिकरणको भनाइ छ।

कुन वितरण केन्द्रबाट कति संकलन?

प्रविधिको सहज पहुँच हुँदाहुँदै पनि काउन्टरमै पुग्नुले काठमाडौं उपत्यका ग्राहक नै अनलाइन भुक्तानीप्रति विश्वस्त नरहेको त होइन भन्ने प्रश्न पनि कतिपयले उठाएका छन्।

रकमका आधारमा उपत्यकामा आधा महसुल काउन्टरबाट संकलन हुने गरेको छ। उपत्यकाका १० वितरण केन्द्रले गत आर्थिक वर्ष संकलन गरेको २ अर्ब ४० करोड ८१ लाख रुपैयाँ महसुलमध्ये १ अर्ब २० करोड ४५ लाख रुपैयाँ अर्थात ५०.०२ प्रतिशत ग्राहकको भौतिक उपस्थितिमा उठेको हो।

रत्नपार्क वितरण केन्द्र अन्तर्गत संकलन भएको ५५ करोड ५ लाख रुपैयाँ महसुलमध्ये ६३.५५ प्रतिशत अर्थात ३४ करोड ९८ लाख रुपैयाँ ग्राहकको भौतिक उपस्थितिमा उठेको हो।

वितरण केन्द्रकुल संकलनअनाइन संकलन
रत्नपार्क वितरण केन्द्र५५,०५,२३,०००२०,०६,४०,२८९
बानेश्वर वितरण केन्द्र४१,५३,३६,०००२३,१५,३३,०५३
कुलेश्वर वितरण केन्द्र२६,००,५०,०००१४,३२,६१,५६८
महाराजगञ्ज वितरण केन्द्र३२,२३,५६,०००१६,४०,८२,८४१
जोरपाटी वितरण केन्द्र९,५६,२६,०००६,५५,५९,५६२
लगनखेल वितरण केन्द्र३०,७३,८४,०००१५,९८,५७,५७८
भक्तपूर वितरण केन्द्र१२,७४,१८,०००६,४१,६२,१८६
थिमी वितरण केन्द्र१०,१९,१६,०००७,०८,२८,६९६
पुञ्चोक वितरण केन्द्र१६,३७,१९,०००७,३१,५७,२३६
क्रितिपुर वितरण केन्द्र६,३८,३१,०००३,०५,०५,२१६
कुल२,४०,८१,५९,०००१,२०,३५,८८,२२५
स्रोत : नेपाल विद्युत प्राधिकरण