नागरिक लगानी कोषबाट ऋण लिनेलाई ब्याजमा १०% छुट, कोरोनाले मृत्यु भएमा परिवारलाई २ लाख रुपैयाँ

बिजमाण्डू
२०७७ बैशाख ४ गते १७:२० | Apr 16, 2020


काठमाडौं। कोभिड-१९ का कारण अप्ठेरोमा परेका सेवाग्राहीका लागि नागरिक लगानी कोषले ब्याजमा केही छुट दिने भएको छ।

Tata
GBIME

कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीले लिएको आवास कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको समयमा ब्याज भुक्तानी गर्ने सहभागीहरुलाई ब्याज भुक्तानीमा छुट दिने भएको हो।

अहिले पनि कोषले नियमित पैसा बुझाउनेलाई ब्याजमा निश्चित छुट दिँदै आएको छ। यो छुटसमेत गरी गत चैतदेखि २०७७ असारसम्मको ब्याज असारभित्र बुझाएमा चार महिनामा पाकेको ब्याज रकममा १० प्रतिशत छुट उपलब्ध हुने छ। 

कोषको बिहीबार बसेको बैठकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणको अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको जनाएको छ। 

कोषमा नियमित रूपमा रकम जम्मा गरी कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भएमा उसको हकवालालाई क्षतिपूर्तिवापत २ लाख रुपैयाँ प्रदान गरिने भएको छ।