अहिलेकोभन्दा अनौठा परिदृष्य के देखिएला अर्थतन्त्रमा? बादलमा चाँदीको घेरा

सरोज काफ्ले
२०७७ बैशाख ३ गते १३:४३ | Apr 15, 2020
अहिलेकोभन्दा अनौठा परिदृष्य के देखिएला अर्थतन्त्रमा? बादलमा चाँदीको घेरा



कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट अर्थतन्त्रमा कति क्षति पुग्छ भनेर अहिले नै भन्न सबैलाई कठिन छ। आफ्ना ठाउँबाट सबैले अनुमान गर्दैछन्। विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, ख्यातिप्राप्त विश्वविद्यालयहरु, नोबेल पुरस्कारप्राप्त अर्थशास्त्रीहरु सबै यसैमा लागेका छन्। उनीहरुलाई नै क्षतिको आँकलन र पुनर्उत्थानको खाका बनाउने दायित्व छ।

Tata
GBIME
NLIC

यस्ता अध्ययनहरु गम्भीर र बौद्धिक हुने नै छन्। अध्येता, नीतिनिर्माता, विद्यार्थीका लागि यस्ता बौद्धिक निचोड र शोधले दीर्घकालीन सोच बनाउन सघाउँछ। तर म यहाँ साना कुराका बारेमा लेख्दैछु। तपाई हामीले देखेकै कुरालाई अलि स्पष्ट बनाएर सबैले बुझ्ने बनाउन मात्रै खोजेको हुँ।

हाम्रा नाङ्गा आँखाले नै अर्थतन्त्रमा ठूलो असर देखिइसकेको छ। महामारी छोटो अवधिका हुन्छन्, तर यसले अर्थतन्त्रमा भने दीर्घकालीन असर छाड्छ। अर्थतन्त्र एक्लै केही होइन यसमा अन्य पक्षहरु जोडिइरहेका हुन्छन्।

यो महामारीका कारण स्पष्ट देखिने र सबैभन्दा धेरैले भोग्ने समस्या रोजगारीकै हुनेछ। अहिलेसम्म नै विश्वका करोडौं मानिसले रोजगारी गुमाइसके। यो क्रम अझै केही सयम रोकिने छैन। तथ्यांक स्पष्ट भएका मुलुकले रोजगारी गुमाउनेको संख्या हरेक साता सार्वजनिक गरि नै रहेका छन्। हाम्राजस्ता मुलुकले यसलाई अध्यावधिक गर्न सकेका छैनन्। तर रोजगारी त गुमिरहेकै छ। रोजगारी गुम्दाको प्रत्यक्ष असर उपभोक्ताको क्रय शक्तिमा पर्छ।

संसारभरका साना तथा मझौला उद्योगहरु कोरोना महामारीका कारण कि त बन्द छन् कि निकै थोरै उत्पादन गरिरहेका छन्। विश्व अर्थतन्त्रमा यस्ता उद्योगको योगदान ठूला उद्योगको भन्दा बढी छ। स्वरोजगार र थोरै मानिसलाई रोगजारी दिएका उद्योगहरु त निकै कठिन अवस्थामा छन्। सरकारहरुले यस्ता उद्योगलाई राहत नदिए उनीहरु पुनः उठ्न कठिन हुन्छ। यस्ता साना उद्योग फेरि चलेनन् भने समस्या रोजगारीमै पर्छ। 

हेर्नुस् त, दैनिक अर्बौको कारोबार गर्ने ठूला बजारहरु सबै बन्द छन्। हरेक क्षण चापाचाप गरेर मोटर गुड्ने सडक सुनसान छन्। विमान नउड्दा आकाश खाली खाली छन्। लाखौं पानीजहाज समुद्री किनारमा थन्किएका छन्। ठूला ठूला कलकारखाना सुनसान छन्। 

अनुमानभन्दा बाहिरको अचम्म लाग्दो अवस्था छ। अहिले कुनै एउटा मुलुक वा क्षेत्र मात्रै भन्ने छैन, संसार नै ठप्प छ। हामी १५ दिन वा महिना दिन भनेर गनिरहेका छौं, तर यसको असर भने निकै लामो हुन्छ। सोचौं त यस्तो पनि होला भनेर अनुमान कसैले गरेको थियो होला ? 

रोजगारी गुमेका मात्रै छैनन्, लाखौं नयाँ भर्ना पनि रोकिएका छन्। यसले एकातिर नयाँ जागिरको आशमा रहेकाहरु निराश छन् भने अर्कोतिर त्यस्ता कम्पनीहरुले नयाँ भर्नामै पुनर्विचार गर्नेछन्। खासमा कामदार र कम्पनी दुवै पक्षले क्षति ब्यहोर्दैछन्। ठूला अध्ययनहरुले विश्वको कुल व्यापार त यही माहामारीका कारण ३२ प्रतिशत घट्छ भनिसके। 

अब हामी चाही के गर्छौ त ! 
रोजगारी गुमाउनेहरुलाई विकसित मुलुकले ठूलो धनराशी खर्च गरेर बेरोजगार भत्ता दिँदैछन्। यस्तो खर्च अप्रत्याशित हो। उनीहरु अनेक स्रोतबाट पैसा जुटाउँदै छन्। तर हाम्रा जस्ता अविकसित मुलुकले त्यो क्षमता राख्दैनन्। यस्तै समस्या आउँदाका लागि भनेर स्थापना गरिएको सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाएर कार्यान्वयनमै ल्याइएन। बितेको एक दशक एकले अर्को पक्षलाई दोष लगाउँदै बिते। वर्तमान प्रधानमन्त्रीको तस्वीरले सहर रंगाएर कोषको उद्घाटनसम्म त भएको थियो।  खै त अहिले मजदुर तथा कर्मचारीलाई चाहिने बेलामा यो कोष ? 

हामी त सजिलो अवस्थामा थियौं, मुलुकभित्रै रोजगारी सृजना नभए पनि वैदेशिक रोजगारीले लाखौं युवालाई आकर्षित गरिरहेकै थियो। मुलुक रेमिट्यान्सको भरमा चलेकै छ, आयात प्रशस्त बढ्दा राजस्वमा चिन्ता थिएन। रोजगारी चाहियो भनेर सडकमा कोही आएको पनि छैन र औद्योगिक वातावरण बनाउन कसैलाई दबाब पनि छैन। हामी कति बेवकुफी कुरा गर्छौ भने नि जसले बढी राजस्व उठाउन सक्यो त्यसलाई सफल अर्थमन्त्रीको पगरी भिराइदिन्थ्यौं, त्यो पनि आयात केन्द्रित राजस्व। सफल अर्थमन्त्री हुन त आर्थिक विकासमा नीतिगत योगदान पो हुनुपर्ला, मुलुकको अर्थतन्त्र बलियो बनाएको हुनुपर्ला, न कि आयात बढेर थपिएको भन्सारमा मापन गरेर।

विकासको लक्ष्यका कुरा अहिले गौण हुन्। यो प्राविधिक कुरा हो। हाम्रो जस्तो मुलुकका न्युन आय भएका नागरिकलाई यो विषय साँच्चै विकासे अड्डाकै लागि मात्र हुन्। अधिकांश मुलुक यस वर्ष लक्ष्यमा पुग्ने छैनन्। अचम्म छ, संसार नै लक्ष्यबाट चुक्दै छ। बहुराष्ट्रिय एजेन्सीहरु वृद्धिदरको कुरा गरिरहँदा पनि सबै देशका सरकार अझै एक वर्ष पहिला आफ्ना नागरिकको स्वास्थ सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने छन्।

सर्वाधिक प्रभावित क्षेत्र पर्यटन हो। विश्वभर यो क्षेत्र पूर्वाधार बाहेकमा तहसनहस जस्तै हुनेछ। सेवाक्षेत्रमा यति ठूलो क्षति विश्वयुद्धपछि अहिले हुँदैछ। सन् २००८/२००९ को वित्तीय संकट पनि यस्तो भएको थिएन। पर्यटनलाई अस्थायी क्षेत्र मानिदैन अर्थतन्त्रमा, तर यस पटक यस्तै भयो। रोजगारी धेरै गुमाउने यही क्षेत्र भएको छ। पर्यटनसँगै जोडिएका हवाई उड्डयन नराम्रोसँग प्रभावित भएको छ। यही उद्योगमा मात्रै लाखौंले रोजगारी गुमाएका छन्।

होटलका कामदारको अवस्था अनुमान गर्नुस् त ! अहिलेकै अवस्था हेर्दा विश्वभर ५ प्रतिशत पनि अकुपेन्सी छैन। ती होटल तथा रिसोर्टमा काम गर्ने कर्मचारी तथा मजदूरको अवस्था के होला ? दैनिक ज्यालादारीमा काम गर्नेहरु पनि अहिले बेरोजगार छन्।

नेपालमै हेरौं न, एयरलाइन्स कम्पनीहरुले पाइलटको तलब घटाइरहेका छन्। यात्रु बोक्ने यी कम्पनीहरुको आम्दानी त शून्य नै छ। यो पर्यटनको मौसम हो। ठमेलदेखि सगरमाथासम्म सबै बन्द छ। कति मानिस बेरोजगार भए र कतिको व्यवसाय चौपट भयो ? अमेरिकामा मात्रै हवाई उड्ययनमा काम गर्ने करिब सात लाख ५० हजारभन्दा बढी छन् भनेर गार्जियनले छापेको छ। अमेरिकामा ५० अर्ब डलरको आर्थिक प्याकेज एयरलाइन्सहरुका लागि आवश्यक हुने अनुमान छ। युरोप र मध्य-पूर्व एयरलाइन्सका हब हुन्। त्यता पनि यस्तै बिजोग छ। कस्तो कल्पनाभन्दा पनि बाहिरको दुर्घटना भोग्दै छ विश्व अर्थतन्त्र।

हाम्रो चासो त वैदेशिक रोजगारीमा हुनुपर्छ। वैदेशिक रोजगारीमा ठूलो गिरावट आयो भने के होला ? ४० लाख मानिस त वैदेशिक रोजगारीमा छन्। रेमिट्यान्स घट्नासाथ बैंकिङ क्षेत्रमा तरलता कम हुन थाल्छ। सन् २००९ को वित्तीय संकटको बेला हामीले त्यसको संकेत पाइसकेका थियौं। कच्चा तेलको मूल्यमा आएको भारी गिरावटले वैदेशिक रोगजारीमा असर पर्छ। कस्तो अनौठो अवस्था देखियो भने तेलको मूल्यको कुरा भएन उत्पादित तेल खानीबाट निकालेको तेल राख्ने ठाउँसम्म भएन।

बादलमा चाँदीको घेरा
यसले सरकारी अर्थतन्त्रका संरचनागत केही बाटाहरु बदल्छ। यसले केही राम्रो सुधार हुनेछ। संसारभर स्वास्थ्य क्षेत्रमा सरकारी हस्तक्षेप बढ्ने निश्चित छ। समाजवादी भन्नेहरु युरोपेली हुन् कि एशियाली हुन् उनीहरुको नाकैमा यो प्रश्नका रूपमा देखापरिसक्यो। हामी त सिक्ने प्रयास नै गर्दैनौं, न विनासकारी भूकम्पबाट सिक्यौं, न बाढी पहिरोबाट सिक्यौं, न त नाकाबन्दीबाट।

वित्तीय क्षेत्रले विद्युतीय कारोबार बढाउने छन्। अल्पविकसित र अति कम विकसित मुलुकले पनि यस्तो अभ्यासलाई प्राथमिकता दिनेछन्। अनलाइन कारोबारले विश्वभर तीव्रता पाउने छ। महिनौ घरभित्रै बस्नुपर्ने भएकाले पनि मानिसहरुलाई अनलाइन खरिद-बिक्रीमा बढी अभ्यस्त बनाउने छ।

प्रविधिको विस्तार कायम रहने छ, तर गति भने सुस्ताउने छ। ठूला कम्पनीहरु आफ्नो लक्ष्य नै परिवर्तन गर्दैछन्। एप्पल, सामसङ र माइक्रोसफ्ट जस्ता कम्पनीले लक्ष्य परिवर्तन गरिसकेका छन् भने अरु कम्पनीहरुले पनि त्यो बाटो पछ्याइरहेका छन्। तर अझै पनि प्रविधिकै विकास र विस्तार तीव्र गतिमा हुनेछ, चाहे त्यो स्वास्थ्यका क्षेत्रमा होस् वा वित्तीय क्षेत्रमा।

विकसित मुलुकहरुले स्वास्थ्य क्षेत्रको लगानीमा निकै बढोत्तरी गर्नैपर्ने छ। कोरोना महामारीका कारण तहसनहस बनेको अर्थतन्त्रले अन्य सामाजिक क्षेत्रको भार उठाउन सक्दैन। यसले हामी जस्ता अविकसित मुलुकमा जाने अनुदान तथा ऋण सहायतामा पनि असर गर्नेछ। हामी आफ्नै स्रोतले ठूलो लगानी गर्न सक्दैनौ। केही संकेत त यसअघि नै सार्स तथा इबोला भाइरसकै बेला पनि देखिएकै हो। अझ भनौं अति कम तथा अल्पविकसित मुलुकले केही वर्ष आफ्नै बलबुतामा लड्नु पर्नेछ। त्यसैले हाम्रो परनिर्भर स्वभावमा केही कमी आउला कि ?

अर्को सुखद पक्ष भनेको हाम्रो अर्थतन्त्र निर्वाहमुखी चरित्रको छ। व्यवसायिकता थोरै छ। आशा गरौं, महामारीको अवस्थामा पनि सर्वसाधारणलाई दुई-चार महिना गुजारा गर्न कठिन नहोला।