भारत जान थालेपछि सुनचाँदीको भन्सार बढ्यो, सुनमा प्रतिदश ग्राम १५ सय रुपैयाँ बढ्यो

बिजमाण्डू
२०७६ कात्तिक २३ गते १८:०६ | Nov 9, 2019
भारत जान थालेपछि सुनचाँदीको भन्सार बढ्यो, सुनमा प्रतिदश ग्राम १५ सय रुपैयाँ बढ्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले नेपालबाट सुनचाँदी भारत गएको आशंकामा भन्सार बढाएको छ।

केही दिनअघिको मन्त्रिपरिषद् बैठकले सुनचाँदीको भन्सार बढाएको हो। अर्थमन्त्रालयका अनुसार सुनमा प्रति दशग्राम ५ हजार रुपैयाँबाट ६५ सय रुपैयाँ भन्सार पुर्याएको छ। चाँदीमा प्रति दशग्राम ५६ रुपैयाँबाट ७५ रुपैयाँ पुर्याएको छ। भन्सार बढेपछि सुनको भाउ महँगो हुनेछ।

राजस्व सचिव शिशिर ढुंगानाले सुनचाँदीको भन्सार बढाएको पुष्टि गरे। ‘भारत भन्दा सुनचाँदी सस्तो नहोस् भनेर भन्सार बढाइएको हो’ उनले बिजमाण्डूसँग भने,’भारत भन्दा नेपालमा सस्तो हुँदा नेपालबाट सुनचाँदी जाने सम्भावना रहन्छ।’

सुनको भाउ आकासिएपछि भारतमा भन्दा नेपालमा सुन सस्तो पर्न थालेको थियो। भारतमा मूल्यका आधारमा १० प्रतिशत भन्सार लाग्छ। नेपालमा भने तौलका आधारमा भन्सार मूल्यांकन हुन्छ। मूल्य उकालो लागेपछि नेपालको तुलनामा भारतमा सुन महँगो पर्यो। नेपालमा सस्तो भएपछि यहाँबाट अवैध रुपमा भारतमा गएको आशंकामा सरकारले भन्सार बढाएको हो।

अर्थमन्त्रालयका अनुसार तिजको बेलामा सुनको कारोबारनै भएन्। तर दशैंतिहारका बेलामा सुनको कारोबार ह्वात्तै बढ्यो।‘तिजमा सबैभन्दा बढी सुनको कारोबार हुनुपर्ने थियो। तर त्यो बेलामा कारोबारनै भएन। तर दशैंतिहारमा एकाएक सुनको कारोबार बढ्यो’, भन्सारका एक अधिकारीले बिजमाण्डूलाई भने,‘सुनको भाउ धेरै नघटेको बेला पनि कारोबार अस्वभाविक रुपमा बढेको पाइयो। हाम्रो अध्ययनले नेपालमा सस्तो भएपछि यहाँबाट सुन भारत जान थालेको पाइयो।’

बैंकर्स संघको तथ्यांकले समेत सुनको कारोबार अस्वभाविक भएको देखाउँछ। दशैंअघि बैंकसँग साढे पाँच सय किलो सुन रहेकोमा केही दिन अघि घटेर २ सय ३५ किलोमा झरेको थियो। व्यवसायीबाट सुनको माग बढेपछि वाणिज्य बैंकहरूले सुन आयात गर्न थालेको थियो।

कात्तिकमा वाणिज्य बैंकहरूले दुई सय किलो नयाँ सुन आयात गरेका छन्। साउनदेखि वाणिज्य बैंकहरूले नयाँ सुन आयात बन्द गरेका थिए।नेपाल सुनचाँदी व्यवसायी महासंघले समेत सुनको माग बढेको दाबी गरेको थियो। महासंघले मोफसलमा सुनको माग बढ्न थालेको जनाएको थियो।

भन्सारका ती अधिकारीका अनुसार मोफसलका नाममा धेरै सुन भारत जान थालेको थियो। चाँदीको माग पनि पछिल्लो समयमा एकाएक बढेको थियो। वीरगंजका एक चाँदी कारोबारीका अनुसार पछिल्लो एक महिनामा चाँदीको माग अस्वभाविक रुपमा बढेको थियो। ‘चाँदीको माग अस्वभाविक रुपमा बढेको थियो। त्यही भएर आयात पनि धेरै भएको थियो’ ती व्यवसायीले भने।