एनआईसी एशियाले एकै वर्षमा तीनवटा ऋणपत्र निष्कासनको अनुमति पायो, १० अर्ब २३ करोडको ऋणपत्र

बिजमाण्डू
२०७६ असार २७ गते १४:०२ | Jul 12, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। एनआईसी एशियाले चालु आर्थिक वर्षमा तीन वटा ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बैंकलाई १० अर्ब २३ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो।

बैंकले दुई वटा ऋणपत्र निष्कासन गरिसकेको छ। शुक्रबार १०.२५ प्रतिशत व्याजदरको चार अर्ब ४० करोड रुपैयाँको ’१०.२५ प्रतिशत एनआईसी एशिया बैंक डिवेन्चर २०८३/८४’ निष्कासन गर्ने अनुमति पाएको हो।

बोर्डबाट अनुमति पाए सँगै बैंकले ४० प्रतिशत ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

बैंकले गत भदौमा एक अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको थियो। यस सँगै पुसमा १० प्रतिशत व्याजदरमा चार अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको थियो।

चालु आर्थिक वर्षमा मात्रै बोर्डले १२ वटा ऋणपत्र निष्कासन गर्ने अनुमति प्रदान गरेको छ। नौ बाणिज्य बैंकले १२ वटा ऋणपत्र मार्फत २९ अर्ब ९८ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएका हुन्।

बोर्डमा तीन वटा बाणिज्य बैंकले ५ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासनका लागि निवेदन दिएका छन्।

बाणिज्य बैंकहरुले पछिल्लो समय पूँजी कोष व्यवस्थापनका लागि ऋणपत्र निष्कासन गर्दै आएका छन्। पूँजी बढाउदा दिर्घकालिन प्रभाव पर्ने भन्दै बैंकहरुले ऋणपत्रलाई प्राथमिकता दिएका हुन्। बैंकहरुले ऋणपत्रलाई प्राथमिकता दिए पनि बैंकिङ तरलताको अभावले बिक्न गाह्रो पर्ने गरेको छ।

नेपाल राष्ट्र बैंक तथा बैंकर एसोसिएसनको सहमतिमा सर्वसाधारणको लागि ९.२५ प्रतिशत र संस्थागत निक्षेपको लागि ९.५ प्रतिशतसम्म मात्रै व्याज दिन पाइने भद्र सहमति भएको छ।

निक्षेप तानातान गर्ने क्रममा बैंकहरुले व्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गर्न थाले पछि राष्ट्र बैंकले नियन्त्रण गरेको हो।