विश्व च्याम्पियन जर्मनीलाई हराउँदै फ्रान्स १६ वर्षपछि युरोकपको फाइनलमा

बिजमाण्डू
२०७३ असार २४ गते ००:०० | Jul 8, 2016
विश्व च्याम्पियन जर्मनीलाई हराउँदै फ्रान्स १६ वर्षपछि युरोकपको फाइनलमा

एन्टोनी ग्रिज्मनले दुई गोल गरेपछि  विश्व च्याम्पियन जर्मनीलाई हराउँदै आयोजक फ्रान्स १६ वर्षपछि युरोकपको फाइनलमा पुगेको छ।

फ्रान्सले अब उपाधिको लागि आगामी शनिबार राति पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ।
मार्सेमा शुक्रबार बिहान सम्पन्न खेलमा फ्रान्ससँग २–० ले पराजित हुँदै जर्मनी युरोकपबाट बाहिरिएको हो। जर्मनीलाई सेमिफाइनलमा पराजित गरेसँगै फ्रान्सले दुई वर्षअघि ब्राजिल विश्वकपमा बेहोरेको हारको बदला समेत लिएको छ।

 

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा जर्मनीले फ्रान्सलाई १–० ले पराजित गरेको थियो। यस्तै फ्रान्सले ५८ वर्षपछि मुख्य प्रतियोगितामा जर्मनीलाई पराजित गरेको छ। सन् १९५८ को विश्वकपमा जर्मनीलाई हराएको फ्रान्स त्यसपछि तीन वटा विश्वकपमा भने पराजित भएको थियो।



सन् २००० मा च्याम्पियन बनेको फ्रान्स युरोकपको फाइनलमा पुगेको १६ वर्षपछि पहिलो पटक हो।



जर्मनी विरुद्धको जितमा फ्रान्सका लागि ग्रिज्मनले दुवै हाफमा गोल गरे। पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमा गोल गर्दै ग्रिज्मनले फ्रान्सलाई अग्रता दिलाए। कप्तान बास्टिन स्वाइन्स्टाइगरले पेनाटी एरियामा बल ह्याण्ड गरेपछि फ्रान्सले पेनाल्टी प्राप्त गरेको हो।



एक गोलले पछि परेको विश्व विजेता जर्मनी दोस्रो हाफमा खेलमा फर्कने प्रयासमा थियो तर ७२ औं मिनेटमा ग्रिज्मनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे। त्यसपछि खेलमा दुवैतर्फबाट गोल हुन नसक्दा फ्रान्स २–० ले विजयी भयो। खेलमा जर्मनीले गोल गर्ने राम्रा अवसर प्राप्त गरेपनि गोल गर्न भने चुकेको थियो।



जर्मनीविरुद्ध दुई गोल गरेसँगै गोलसंख्या ६ पुर्याएका ग्रिज्मन सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् र गोल्डेन बुट जित्ने सम्भावना बढाएका छन्। दोस्रो स्थानमा रहेका पोर्चुगलका रोनाल्डोको ३ गोल छ। 



तेस्रो पटक युरोकपको उपाधि जित्ने दाउमा रहेको फ्रान्सले अब फाइनलमा पोर्चुगलसँग खेल्नेछ। पोर्चुगल पहिलो सेमिफाइनलमा वेलसलाई पराजित गर्दै १२ वर्षपछि फाइनल पुगेको हो। फ्रान्स दुई पटकको विजेता हो भने पोर्चुगलले अहिलेसम्म उपाधि जित्न सकेको छैन।

Tata
GBIME
Nepal Life