आइतवार नेप्से झर्यो, नेपाल बैंकको एकैदिन सय रूपैयाँले बढ्यो, निर्धनको १५ प्रतिशत लाभांस

बिजमाण्डू
२०६९ पुष २२ गते ००:०० | Jan 6, 2013
आइतवार नेप्से झर्यो, नेपाल बैंकको एकैदिन सय रूपैयाँले बढ्यो, निर्धनको १५ प्रतिशत लाभांस

काठमाडौं । नेपाल स्टकले साताको पहिलो दिन आइतवार शुभ संकेत दिएन । नेप्से १.८२ अंकले तल झरेर बन्द भयो । बाणिज्य बैंक समूहको ३.२ अंक र जलविद्युत समूहको सूचकांक ५.८९ अंकले तल झरेपछि नेप्से सूचकमै असर पर्यो । होटल हायात सञ्चालन गर्ने तारा गाउँ रिजेन्सीको सेयर मूल्य बढेपछि होटल समूहको सूचक ०.१८ अंक, सेती र युनियन फाइनान्सको सेयर मूल्य बढेपछि फाइनान्स समूहको १.१५ अंक, सगरमाथा, लाइफ इन्सुरेन्स कम्पनी, लुम्विनी जनरल इन्सुरेन्सको सेयर मूल्य बढेपछि इन्सुरेन्स समूहको सूचक ०.३८ र नेपाल टेलिकमको सेयर मूल्य बढेपछि अन्य समूहको सेयर सूचक १.१८ अंकको वृद्धि भयो ।
नेपाल बैंक आइतवार पनि सर्वश्रेष्ठ कम्पनी नै रह्यो । कम्पनीको सेयर आइतवार एकै दिन १०३ रुपैयाँले बढ्यो । आइतवारको कारोवारपछि नेपाल बैंकको सेयर मूल्य ११३८ मा कारोवार भयो । नेपाल बैंकको सेयर मूल्यमा भएको वृद्धिले राम्रो प्रदर्शन गरिरहेका बैंकहरुलाई भने निरास बनाएको छ । राम्रो वित्तीय नतिजा निकाले पनि कम्तिमा अर्को चार वर्ष लाभांस लिन नसकिने बैंकको सेयर मूल्य किने यसरी बढिरहेको छ, स्टक बजारमा कारणहरु समेत खोजी हुन थालेको छ ।
चिलिमेको सेयर मूल्य १९ रुपैयाँले तल झरेर प्रतिकित्ता ११३५ मा कारोवार भयो । नागरिक लगानी कोषको भने ८९ रुपैयाँले सेयर मूल्य बढेपछि प्रतिकित्ता १५३५ मा पुग्यो । कोष प्रतिकित्ता १५ सय रुपैयाँ माथि कारोवार हुने सिमित कम्पनीमा एक बन्न पुगेको छ । एभरेष्ट इन्सुरेन्सको सेयर आइतवार १५ रुपैयाँले घटेर ३९० मा कारोवार भयो । कम्पनीले नयाँ पोलिसी विक्री नगरेको खबरपछि एभरेष्टको सेयर मूल्य तल झरेको हो ।
लाइफ इन्सुरेन्स कम्पनीको सेयर मूल्य आइतवार हजार नजिक पुग्यो । बुक क्लोजपछि कम्पनीको सेयर मूल्य तल झरेको थियो । ६२ प्रतिशत बोनस सेयर र तीन प्रतिशत नगद लाभांस दिएको कम्पनीले अब हकप्रद सेयर पनि जारी गर्दैछ । यही कारण पनि कम्पनीको सेयरमा लगानीकर्ताको चासो छ ।
आइतवार नविल बैंकको सेयर १४ रुपैयाँले घटेर १६७५ मा कारोवार भयो । नेपाल लाइफ इन्सुरेन्सको सेयर मूल्य २७ रुपैयाँले घटेर १४४८ मा, नेशनल लाइफ इन्सुरेन्सको २० रुपैयाँ घटेर ५०५, नेपाल एसबीआईको १३ रुपैयाँ घटेर ८४६ मा, स्ट्याण्डर्ड चार्टड बैंकको १७ रुपैयाँ घटेर २०८४ मा कारोवार भयो । सिद्धार्थ फाइनान्सको १२ रुपैयाँले सेयर मूल्य घटेर १२६ मा कारोवार भयो भने सगरमाथा इन्सुरेन्सको सेयर मूल्य ३५ रुपैयाँले बढेर ७५५ मा कारोवार भयो ।
निर्धनको लाभांस
निर्धन उत्थान बैंकले सेयरधनीलाई १५ प्रतिशत लाभांस दिने भएको छ । बैंकले सेयरधनीलाई ११.८७ प्रतिशत नगद र ३.९२ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो । बैंकले राष्ट्र बैंकको स्वीकृती र साधरणसभाको अनुमतिपछि लाभांस वितरण गर्ने छ । गतवर्ष बैंकले सेयरधनीलाई आठ प्रतिशत बोनस सेयर दिएको थियो । लाभांस घोषणापछि बैंकको आइतवार चार प्रतिशतले सेयर मूल्य बढेर प्रतिकित्ता २०८ रुपैयाँमा कारोवार भयो ।

Tata
GBIME
Nepal Life