निजी क्षेत्रको विकासमा सघाउने मोहन वैद्यको प्रतिवद्ध

बिजमाण्डू
२०६९ असार २० गते ००:०० | Jul 4, 2012

काठमाडौं । नवगठित नेकपा –माओवादीले आफू निजी क्षेत्रको विकासप्रति प्रतिवद्ध रहेको बताएको छ ।  आफूलाई भेट्न आएको नेपाल चेम्वर अफ कमर्सको प्रतिनिधीसँग अध्यक्ष मोहन वैद्यले पार्टी निजी क्षेत्रको विकासप्रति प्रतिवद्ध रहेको र आर्थिक क्षेत्रका समस्या समाधान गर्नुपर्ने राय दिएका थिए । उनले मुलुकको उच्च आर्थिक वृद्धिदर हासिलका लागि राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजसंग सहकार्य गर्न पार्टी तयार रहेको पनि बताए ।
अध्यक्ष वैद्यले मुलुकको आर्थिक वातावरण थप विग्रन नदिन र अर्थतन्त्रलाई सुचारु राख्न न्युनतम आर्थिक एजेण्डामा राजनीतिक दल र निजी क्षेत्रसंग सहकार्य हुनु पर्नेमा जोड दिए । चम्वरले राजनीतिक दलका नेतालाई भेट गरी साझा आर्थिक एजेण्ड ओझेल परेको भन्दै चिन्ता व्यक्त गरेको थियो ।
चेम्वर अध्यक्ष सुरेश कुमार बस्नेतज्युको नेतृृत्वमा गएको टोलीले नेपाल कम्युनिष्ट पार्टी – माओवादीका अध्यक्ष वैद्य र मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसंग बुधवार भेट  गरेको थियो ।
अध्यक्ष बस्नेतले दलका नेताहरुलाई सहमति गरेर मुलुकलाई निकास दिन अनुरोध गरेका थिए । बजेटमा सहमती र सहकार्य गर्दै संक्रमणकाल अन्त्य गर्न पनि उनले सुझाव दिएका थिए ।
अध्यक्ष वैद्यले मुुलुकको राजनीतिक आर्थिक समस्या समाधान गर्न राष्ट्रिय सहमति अनिवार्य रहेको बताए । यसका लागि आफूहरु प्रयासरत रहने र निजी क्षेत्रलाई पनि राष्ट्रिय सहमतिका लागि प्रयास गर्न सुझाव दिए ।
फोरमका अध्यक्ष उपेन्द्र यादवले आर्थिक क्षेत्रका समस्याहरु समाधान गर्न निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाको सहभागितालाई राज्यका हरेक निकायहरुमा प्रभावकारी बनाउनु पर्ने बताए । चेम्वरले सिंगो अर्थतन्त्रको बारेमा स्पष्टताका साथ आएकोमा उनले खुशी पनि व्यक्त गरे ।
 आर्थिक एजेण्डाहरु ओझेलमा परेको स्वीकार्दै अध्यक्ष यादवले राजनीतिक सहमतीमा सम्पूर्ण समस्याहरु समाधान हुने भएकोले आवश्यक पहल गर्न निजी क्षेत्रलाई अनुरोध गरे । भेटघाटमा चेम्वरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, महासचिव कमलेश कुमार अग्रवाल, सचिव देवेन्द्रभक्त श्रेष्ठ, सन्तोष कुमार पाण्डे, सहकोषाध्यक्ष पर्शुराम दाहाल एवं का.स.सदस्य कैलाश चन्द्र गोयल दीपक काजी तुलाधर एवं सुरेन्द्र कुमार शारदाको उपस्थिती थियो ।

Tata
GBIME