ताइवानी मोटरसाइकल पनि नेपालमा, श्रेष्ठ इन्टरनेशनलले ल्यायो छ लाख पर्ने बाइक

बिजमाण्डू
२०६९ असार २३ गते ००:०० | Jul 7, 2012
ताइवानी  मोटरसाइकल पनि नेपालमा, श्रेष्ठ इन्टरनेशनलले ल्यायो छ लाख पर्ने बाइक

काठमाडौं । ताइवानको लोकप्रिय दुईपांग्रे मोटरसाइकल एसवाईएम नेपाली बजारमा आएको छ । एसवाईएमको नेपालको आधिकारिक बिक्रेता श्रेष्ठ इन्टरनेशनलले यो मोटरसाइकल नेपाली बजारमा ल्याएको हो ।
एसवाईएमका  चार मोडलका मोटरसाइकल र स्कुटर नेपाली बजारमा आएको छ । कम्पनीले युवापुस्तालाई लक्षित गरेर वल्फ एसवी २५० एनआई स्पोर्टस बाईक र जेट ४, अर्विट र म्याजिक स्कुटर बजारमा ल्याएको छ । कम्पनीका अनुसार वल्फ स्पोर्टस वाईक २ सय ५० सीसी क्षमता भएको  फोर स्ट्रोक वाईक हो । यसको मूल्य ५ लाख ९९ हजार ९ सय रुपैयाँ छ । यसमा सिंगल सिलिन्डर लिक्विड इन्जिन, ६ गियर र १४ लिटरको इन्धन ट्याकीं छ । यो मोटरसाइकलको अधिकतम पावर क्षमता १८.४ केडब्लु छ । युरो ३ इमिसनको यो बाइकमा अघि र पछि दुवैतर्फ डिस्क ब्रेक छ । यो बाइक रातो, पहेंलो, सेतो, कालो, निलो र खैरो गरी छ रंगमा उपलब्ध छ ।
यस्तै जेट ४ पनि स्पोर्टी मोडलको आर्कषक बनोट रहेको स्कुटर हो । यसमा सीभिटी ट्रान्समिसन, फ्रन्ट डिस्क ब्रेक लगयतका सुविधा छन् ।
१२५ र १४९ सिसिमा उपलब्ध यो स्कुटीमा ५.२ लिटरको इन्धन ट्यांकी छ । युरो २ र युरो ३ मापदण्डमा उपलब्ध यो स्कुटर विभिन्न चार रंगमा उपलब्ध छ । अर्विट १२ इन्चको टायर र हलुका बडी भएको नेपाली बाटोलाई सुहाउँदो स्कुटर हो ।यी दुबै स्कुटर १ सय २५ सीसीका हुन । यी दुबै स्कुटरमा ट्युबलेस टायर छन् ।  ट्युबलेस टायर भएको पहिलो स्कुटर यही भएको कम्पनीको दावी छ । म्याजिक १ सय २५ सीसीमा चार गियर भएको स्कुटर हो । यसको टायर ठूलो भएकोले लामो यात्रामा लैजान सकिने कम्पनीको दावी छ । कम्पनीले विक्री शुभारम्भ गरेको अवसरमा मोटरसाइकल र स्कुटर खरीदमा आर्कषक छुट पनि दिएको छ ।
कम्पनीले स्पोर्टस बाइकमा ४० हजार, स्कुटरमा २० हजार र म्याजिकमा १५ हजार छुट दिएको छ । कम्पनीले  अर्विटको १ लाख ७९ हजार ९ सय, जेटको १ लाख ९९ हजार ९ सय र म्याजिकको १ लाख ५४ हजार ९ सय म्याजिकको मूल्य तोकेको छ ।

Tata
GBIME
Nepal Life