काठमाडौं। नेपालको परम्परागत इँटा उद्योगलाई वातावरणमैत्री र आधुनिक प्रविधिमा रूपान्तरण गर्ने उद्देश्यसहित गुड ब्रिक्सले ६ करोड अमेरिकी डलर (करिब ९ अर्ब रुपैयाँभन्दा बढी) बराबरको कार्बन फाइनान्सिङ कार्यक्रम घोषणा गरेको छ।
इनोसीएसआर र हुलास इको ब्रिक्सले संयुक्त रूपमा अघि बढाएको यो कार्यक्रममार्फत सन् २०३० सम्म नेपालका ३०० वटा इँटा उत्पादन केन्द्रमा गुड ब्रिक्स प्रविधि विस्तार गर्ने लक्ष्य राखिएको छ।
गुड ब्रिक्स टेक्नोलोजीको विकासकर्ता जलवायु प्रविधिसम्बन्धी कम्पनी इनोसीएसआर हो। दिवाकर गोल्छा अर्गनाइजेसनको सहयोगमा सञ्चालित हुलास इको ब्रिक्सले यस प्रविधिलाई देशभर विस्तार गर्नेछ।
नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तनसम्बन्धी सहकार्यका लागि फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भएको केही समयपछि यो कार्यक्रम घोषणा गरिएको हो।
कार्यक्रमअन्तर्गत सहभागी इँटा उद्योगलाई हाइड्रोलिक इँटा प्रेस मेसिन उपलब्ध गराउनुका साथै बजार व्यवस्थापनमा समेत सहयोग गरिनेछ। प्रत्येक उत्पादन केन्द्रमा करिब २ लाख अमेरिकी डलर बराबरको मेसिनरी र बजार सहयोग उपलब्ध गराउने योजना छ।
कार्बन क्रेडिटबाट भविष्यमा प्राप्त हुने आम्दानीलाई उपयोग गर्दै स्थानीय उद्योगीले प्रविधि जडान गर्न गर्नुपर्ने सुरुवाती लगानीको भार कम गर्ने कार्यक्रमको लक्ष्य छ।
यसका लागि एसियाली विकास बैंक (एडीबी), एनएच इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज र कोरिया वेस्टर्न पावरजस्ता अन्तर्राष्ट्रिय लगानीकर्ताबाट कार्बन फाइनान्सिङ उपलब्ध गराइनेछ।
कम्पनीका अनुसार यो प्रविधि अपनाउँदा इँटा उत्पादकले दीर्घकालीन प्रतिस्पर्धात्मक क्षमता बढाउन सक्नेछन्। साथै, परम्परागत इँटा उत्पादनमा लागू हुँदै गएका कडा वातावरणीय मापदण्ड पूरा गर्न पनि सहज हुनेछ।
पूर्ण क्षमतामा सञ्चालन हुँदा प्रस्तावित ३०० उत्पादन केन्द्रबाट वार्षिक करिब ३ अर्ब वटा पोल्न नपर्ने इँटा उत्पादन गर्न सकिने अनुमान छ। यसबाट परम्परागत भट्टामा इँटा पोल्दा निस्कने कार्बन उत्सर्जनको तुलनामा वार्षिक १५ लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउन सकिने कम्पनीको दाबी छ।
इनोसीएसआरका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत साम युनसुक लीले स्वच्छ प्रविधिको विकास गर्नु मात्रै चुनौती नभई त्यसलाई विद्यमान उद्योगले व्यावसायिक रूपमा प्रयोग गर्न सक्ने बनाउनु वास्तविक उपलब्धि भएको बताए।
उनले कार्बन फाइनान्सिङ, परीक्षण भइसकेको प्रविधि र बलियो स्थानीय साझेदारीलाई एकै ठाउँमा जोडेर नेपालले समग्र उद्योगलाई दिगो उत्पादनतर्फ लैजान सक्ने बताए।
कसरी उत्पादन हुन्छ गुड ब्रिक्स?
परम्परागत कोइलाबाट चल्ने भट्टामा इँटा पोल्नुपर्ने प्रक्रियाभन्दा गुड ब्रिक्स उत्पादन विधि फरक छ।
यस प्रविधिमा स्थानीय रूपमा उपलब्ध माटो, सिमेन्ट र इनोसीएसआरले विकास गरेको विशेष गुड सोल स्टेबलाइजर प्रयोग गरिन्छ। त्यसपछि हाइड्रोलिक मेसिनको सहायताले यी सामग्रीलाई उच्च दबाबमा थिचेर इँटा तयार गरिन्छ। यस प्रक्रियामा भट्टामा पोल्नुपर्ने आवश्यकता पर्दैन।
कम्पनीका अनुसार गुड ब्रिक्स प्रविधिले मूल्य, गुणस्तर र उत्पादन क्षमताका हिसाबले परम्परागत इँटा उद्योगसँग प्रतिस्पर्धा गर्न सक्छ। साथै, यसले कार्बन उत्सर्जन र वायु प्रदूषण पनि उल्लेख्य रूपमा घटाउँछ।
यस कार्यक्रमअन्तर्गत हुलास इको ब्रिक्सले दिवाकर गोल्छा अर्गनाइजेसनको औद्योगिक सञ्जाल प्रयोग गरी देशभर प्रविधि विस्तार गर्नेछ भने इनोसीएसआरले प्रविधि उपलब्ध गराउनेछ।
अर्गनाइजेसनका निर्देशक हितेश गोल्छाले यो साझेदारी नेपाली उद्यमीका लागि आधुनिक इँटा उत्पादन प्रविधिलाई सहज रूपमा उपलब्ध गराउने प्रयास भएको बताए।
गोल्छाका अनुसार यसले व्यवसाय र वातावरण दुवैलाई फाइदा पुग्ने गरी स्वच्छ र प्रतिस्पर्धी इँटा उद्योग निर्माणमा सहयोग गर्नेछ।
अन्तर्राष्ट्रिय कार्बन फाइनान्सिङलाई स्थानीय उत्पादनसँग जोडेर अघि बढाइएको यो कार्यक्रम नेपालका ठूला औद्योगिक कार्बन फाइनान्सिङमध्ये एक बन्ने कम्पनीको अपेक्षा छ। यसले वातावरणमैत्री निर्माण सामग्री उत्पादनमा नेपाललाई क्षेत्रीय नेतृत्व लिनसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।









![लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर] लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर]](https://bizmandu.com/wp-content/uploads/2026/11/848804182_1140586615022874_2099901756651918260_n-1-300x300.jpg)
