काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले बालेन्द्र शाह सरकारले मनमौजी ढंगबाट डरको शासन चलाउन खोज्दा अर्थतन्त्र डामाडोल भएको बताएका छन्।
‘बैंकमा पैसा थुप्रिएको छ। कर्जा परिचालन हुँदैन। विश्व बैंककै प्रतिवेदनअनुसार बैंकिङ प्रणाली दबाबमा छ,’ उनले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘बैंकको पैसा उठेको छैन। साना उद्यमीले किस्ता तिर्न सकेका छैनन्। मूल्यवृद्धि अकासिएको छ। यस्तो बेलामा अर्थतन्त्रतर्फ फोकस्ड हुनुपर्ने हो। तर, यहाँ उहाँहरू कसलाई कहिले उठाउने भन्ने कुरामा केन्द्रित हुनुहुन्छ।’
गगनले सरकारले सबै क्षेत्रलाई तर्साएर शासन गर्न खोजेको भन्दै विश्वासको सबैभन्दा ठूलो समस्या देखिएको बताए।
‘कर्मचारी, व्यवसायी थुरथुर छन्। नेपाल प्रहरीमा त्यही समस्या छ। अदालतको हालत त्यस्तै छ,’उनले भने, ‘यसरी तर्साएर शिथिल भएको अर्थतन्त्रलाई अगाडि बढाउन सकिँदैन। अहिले डर होइन, विश्वास र भरोसा चाहिएको हो।’

उनले अनुमान नै गर्न नसकिने अवस्थामा लगानी आउन नसक्ने र पछिल्लो समय एक रुपैयाँ पनि लगानी विदेशबाट नआएको भन्दै सुशासन र आर्थिक सुधारका लागि कांग्रेस २४सै घण्टा सरकारसँग मिलेर काम गर्न तयार रहेको समेत बताए।
‘हामी राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल हो। प्रतिनिधि सभामा प्रतिपक्ष हो। तपाइँहरूले आर्थिक सुधारका विधेयक ल्याउने हो भने हामी २४सै घण्टा हप्तामा सातै दिन काम गर्न तयार छौं,’ उनले भने।
गगनले पक्राउ गर्दा र छाड्दा लाइक र कमेन्ट आएकोमा नै सरकार रमाइरहेको र आर्थिक सुधारका मुद्दामा ध्यानै नदिएको आरोप लगाए।
‘समातेको मान्छे छाड्दा भरर लाइक आएकोमा लाइक र कमेन्टमा सरकार रमाइरहेको छ,’ उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई व्यंग्य गर्दै भने।

गगनले कांग्रेसले ५ वटा मुद्दामा सम्झौता नगर्ने स्पष्ट पार्दै त्यसमा सरकार पारदर्शी हुनुपर्ने धारणा राखे। उनले संचारमाध्यमको कार्यालयमा गएर पत्रकार पक्राउ गर्ने विषयको छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरे।
‘पहिलो कुरा भनेको पत्रकारको अफिसमा गएर पत्रकार पक्राउ गर्ने विषय रफादफा गर्ने हामीलाई मान्य छैन। यसलाई पन्छाउने वा विषयान्तर मान्ने छैनौँ,’ उनले भने, ‘वक्तव्य निकालेर पनि मान्ने छैनौँ। जवाफ होइन परिणाम चाहिन्छ।’
गगनले स्वच्छेचारी शासन स्वीकार्न नसकिने भन्दै प्रत्येक निकायले कानुनविपरीत काम नगर्ने विश्वास आवश्यक रहेको बताए। उनले संवेदनशील विषयको अनुसन्धान जरासम्म पुग्नुपर्ने र चयनात्मक नहुने प्रतिवद्धता चाहिने स्पस्ट पारे।
‘अनुसन्धान अनुकूलतामा प्रयोग वा दुरुपयोग गरिनु हुँदैन,’ उनले भने।
उनले न्यायपालिका र संवैधानिक निकायको स्वच्छताका लागि पूर्वाग्रह नराखी परिणाम हेरेर छलफल गर्न तयार रहेको बताए। उनले लथालिंग भएको अर्थतन्त्र सुधारका लागि काम गर्न आग्रह गर्दै यसलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए।

‘सरकारले यी पाँच कुरा अगाडि बढाओस्। यो सरकारले पाँच वर्ष म्यान्डेट पाएको कुरामा हामी रेस्पेक्ट गर्छौं। हामी पनि पाँच वर्ष प्रतिपक्षमा रहेको कुरालाई उसले रेस्पेक्ट गरोस्। मनमौजी शासन स्वीकार्य छैन। हामी आँखामा आँखा जुधाएर कुरा र प्रतिवाद गर्न तयार छौं,’ उनले भने।









