नेपालको पर्यटन विश्वमाझ पुर्‍याउन बोर्डले ल्यायो ७ देशका ट्राभल कन्टेन्ट क्रिएटर

बिजमाण्डू
२०८३ कात्तिक १५ गते १४:४२ | Nov 1, 2026
नेपालको पर्यटन विश्वमाझ पुर्‍याउन बोर्डले ल्यायो ७ देशका ट्राभल कन्टेन्ट क्रिएटर


काठमाडौं। नेपाल पर्यटन बोर्डले ७ देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर)लाई नेपालमा ल्याएको छ।

GBIME
Tata

नेपालका पर्यटकीय गन्तव्यलाई सामाजिक सञ्जाल लगायत विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यका साथ बोर्डले टिकटकको सहकार्यमा उनीहरूलाई नेपालमा आमन्त्रण गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्काका कन्टेन्ट क्रिएटरहरूलाई नेपाल आमन्त्रण गरिएको बोर्डले जनाएको छ।

नेपाल आएका उनीहरूले यहाँका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि र पर्यटनका विविध पक्ष समेटिएका भिडियो तथा डिजिटल सामग्री तयार गर्नेछन्। ती सामग्री टिकटकसहितका सामाजिक सञ्जालमार्फत विश्वभरका दर्शकमाझ प्रस्तुत गरिने छ।

यूएई र ट्युनिसियाका ३ जना पोखरा र अन्य काठमाडौंमा सामग्री उत्पादन गरिरहेका छन्। उनीहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालका सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय महत्त्वका स्थल र उत्पादनसम्बन्धी सामग्री तयार गर्ने बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले जानकारी दिए।

नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई छोटा भिडियोमार्फत विश्वसमुदायसमक्ष प्रस्तुत गरिने छ। रासस