जनकपुरधाम-ढल्केवर छ लेनको सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ स्थित महेन्द्रनगर बजारमा दुई वटा आकाशे पुल निर्माण गरिएको छ।
सडकमा पैदल यात्रुको चाप बढी हुने महिला विकास चोक र सखुवा चोकमा दुई वटा आकाशे पुल निर्माण गरिएको हो। पुल ५.६ मिटर उचाइ, २९.४ मिटर लम्बाइ र ३ मिटर चौडाइका हुन्।
सडक डिभिजन कार्यालय, जनकपुरधामका अनुसार मधेश प्रदेशमा पहिलोपटक विकास चोक र सखुवा चोकमा आकाशे पुल बनाइएको हो। दुवै पुल रङरोगन तथा सौन्दर्यीकरणको काम सकेर चाँडै प्रयोगमा ल्याउने कार्यालयले जनाएको छ।
महिला विकास चोकको पुलका लागि ३ करोड ३५ लाख र सखुवा चोकको पुलका लागि ३ करोड ५७ लाख रुपैयाँ विनियोजन गरिएको थियो।
लक्ष्मीनिया गाउँपालिकामा पनि आकाशे पुल निर्माणको काम भइरहेको छ। सडक डिभिजन कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर दरोगाप्रसाद साहका अनुसार लक्ष्मीनिया गाउँपालिकाको पुल मंसिर मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ। रासस









