काठमाडौं। मतदाता नामावली अद्यावधिक एवम् विवरण प्रमाणीकरणका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले निर्वाचन आयोगलाई व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका व्यक्तिगत घटना दर्तासम्बन्धी विवरण उपयोग गर्न दिने भएको छ।
विभागले मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई प्रभावकारी बनाउन आफ्नो सूचना प्रणालीमा रहेका विवरण उपयोग गर्न दिने भएको हो।
यस सम्बन्धमा आयोग र विभागबीच बिहीबार समझदारी भएको छ। समझदारी पत्रमा आयोगका सहसचिव राजेन्द्र कुमार केसी र विभागका महानिर्देशक कृष्ण पौडेलले हस्ताक्षर गरेका छन्।
विवरण सुरक्षित आदानप्रदान तथा उपयोगका लागि आवश्यक प्राविधिक प्रणाली विकास, तथ्यांकको सुरक्षा र गोपनीयता कायम गर्ने व्यवस्था मिलाइने आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
यो समझदारी कार्यान्वयनबाट मतदाता नामावलीमा शुद्धता कायम गर्न तथा निर्वाचन व्यवस्थापनसम्बन्धी कार्यमा सूचना प्रविधिको उपयोगलाई थप सुदृढ बनाउन योगदान पुग्ने आयोगको विश्वास छ।










