काठमाडौं। सेयर बजार बढ्दा लगानी बढाउने संस्थागत लगानीकर्ता सुस्त हुँदा होल्ड भएका छन्। बजारको बुलिस ट्रेन्डमा नाफा कमाउन सेयर खरिदमा सक्रिय संस्थागत लगानीकर्ताले बियरिसमा पर्ख र हेरको रणनीति लिएका हुन्।
इन्योरेन्स कम्पनी, म्युचुअल फण्ड, इन्भेष्टमेन्ट कम्पनी बजारमा ठूला लगानीकर्ताको रुपमा सक्रिय छन्। बजार बढ्दा म्युचुअल फण्ड र इन्स्योरेन्स कम्पनीले सेयरमा लगानी बढाएकामा घटेपछि बैंक मौज्दात बढाएका हुन्। फागुन २१ गतेको निर्वाचनपछि निरन्तर उकालो लागेको बजार चैत दोस्रो सातासम्म २९६० विन्दुमा पुगेको थियो।
त्यसपछि बजार फेरि निरन्तर घटेर अहिले २६३० विन्दुमा छ। सूचक पछिल्लो ६ महिनादेखि २९००-२५०० विन्दुमा घुमिरहेको छ।
बजारमा इन्स्योरेन्स कम्पनी, म्युचुअल फण्डले बढ्दा लगानी बढाएकामा सूचक ओरालो लाग्दा पछिल्लो समय घटाएका हुन। संस्थागत लगानीकर्ता नै लगानी गर्न तयार नभएकाले बजार ड्राइभ नभएको विश्लेषक बताउँछन्।
‘बजार स्लो भइरहेको अवस्थामा खासै कसैले लगानी गर्न चाहँदैन। संस्थागत लगानीकर्ताले ड्राइभ गर्नुपर्ने उनीहरूले गर्नै सकेका छैनन्। संस्थागत लगानीकर्ताले बजार घटेको अवस्थामा लगानी गरेर नोक्सानी बेहोरे उनीहरूले आफ्नो बोर्डमा जवाफ दिनुपर्ने हुन्छ,’ एक ब्रोकरले भने, ‘उनीहरूलाई लस हुनुभन्दा बरु घाटै नपरी पैसा सेभ हुनु ठिक हो भन्ने पर्छ।’
बजारमा लगानीको माहोल नभएका बेला संस्थागत लगानीकर्ता रिस्क लिएर लगानी गर्न तयार नभएको उनीहरू बताउँछन्। गत साउनसम्म सेयर बजारमा खुला र बन्द गरेर सामूहिक लगानी कोषको सेयर बजारमा ६० अर्ब रुपैया बढी लगानी पुगेको थियो।
सेयर बजारमा जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीले सेयर बजारमा ५६ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ लगानी गरेका छन्। बजारमा जीवन बीमा कम्पनीको मात्रै ४६ अर्ब ११ करोड र निर्जीवन बीमा कम्पनीको ५ अर्ब ४४ करोड रुपैयाँ लगानी छ।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट बजारमा ठूलासाना लगानीकर्ता पर्ख र हेरको अवस्था रहेको बताउँछन्।
‘बजारमा अहिले माहोल देखिएको छैन। माहोल हुन थालेपछि बजार बिस्तारै माथि जाने हो। अहिलेसम्म नीति नियमका मात्रै धेरै आए। लगानीकर्ताले कन्फिडेन्स बढाउने उपाय खोजिरहेका छन्,’ उनले भने, ‘यसले ठूला लगानीकर्तालाई पर्ख र हेरको अवस्था राख्यो। उनीहरू झन् रिस्क लिएर लगानी गर्न चाहँदैनन्।’
बैंकको ब्याजदर र बजार दुवै घट्दा संस्थागत लगानीकर्ताका लागि टाउको दुखाइ बनेको छ। उनीहरूले लगानीको नयाँ उपकरण पाएका छैनन्।
बैंकको ब्याजदर साढे ३ वर्षदेखि निरन्तर ओरालो लाग्दा मुद्दतीको निक्षेप २.७५ प्रतिशतमा आएको छ। ब्याजदरले लागत समेत नधान्ने भएपछि कम्पनीहरूले सेयर बजारमा लगानी बढाएकामा बजार घट्दा होल्ड भएको मर्चेन्ट बैंकर बताउँछन्।
‘आजको दिनमा संस्थागत लगानीकर्ताको ठूलो पैसा बैंकहरूले लिइरहेका छैनन्। बैंकको डिपोजिट मात्रै बढिरहेको छ। ऋण गइहरेको छैन। यसले संस्थागत लगानीकर्तालाई पनि लगानी व्यवस्थापन गर्न सकस भएको छ,’ एक क्यापिटलका म्युचुअल फण्ड प्रमुखले भने, ‘बजारमा संस्थागत लगानीकर्ताको रणनीति भनेकै राम्रो अवसर खोज्ने हो। बजार बढ्दा लगानी बढाएर एक चरणमा पुगेपछि बिक्री गर्ने नै हो। जानाजान कसैले पैसा लगानी गरेर फाल्न चाहँदैन।’
बजारमा साना लगानीकर्ताको तुलनामा संस्थागत लगानीकर्ताको हिस्सा न्यून छ। इन्स्योरेन्स कम्पनी, म्युचुअल फण्ड बाहेकका ठूला लगानीकर्ताको प्रवेश बढेको देखिँदैन।
विश्लेषक अनलराज भट्टराई संस्थागत लगानीकर्ता छोटो र लामो अवधिका लागि प्रतिफल हेरेर मात्रै लगानी गर्ने बताउँछन्।
‘संस्थागत लगानीकर्ता सर्ट-टर्ममा पनि लङ-टर्ममा पनि प्रोफिट हेरेर नै लगानी गर्ने हो। नियामकीय रिफर्महरू थुप्रै हुने क्रममा देखिएका छन्। सरकार सबै नियामकीय रिफर्ममा लागेको छ,’ उनले भने, ‘नियामकले कसरी सुधार गरेर लैजान्छ भनेर हेरिरहेका छन्। बजार नबढे पनि घट्न सकेको छैन। बजारले कन्फिडेन्स बनाउने ट्रिगर खोजिरहेको छ।’









