भोटेकोशी बाढीमा बेपत्ता भएका कर्मचारीका परिवारलाई प्राधिकरणले दिन थाल्यो राहत रकम

बिजमाण्डू
२०८३ असोज २७ गते १५:५५ | Oct 13, 2026
भोटेकोशी बाढीमा बेपत्ता भएका कर्मचारीका परिवारलाई प्राधिकरणले दिन थाल्यो राहत रकम


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका आफ्ना कर्मचारीका परिवारलाई राहत रकम दिन सुरु गरेको छ।

GBIME
Tata

प्राधिकरणले बाढीमा बेपत्ता भएका ४७ कर्मचारीमध्ये ६ जनाका परिवारलाई राहत रकम दिएको छ। आवश्यक आधार र प्रमाणसहित निवेदन दिएका ६ जना हकवालालाई राहत रकम प्रदान गरिएको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ।

प्राधिकरणको सञ्चालक समितिले यसअघि नै सम्पर्कविहीन कर्मचारीका परिवारलाई ५ लाख रुपैयाँ र ६ महिनाको तलबको आधा रकम उपलब्ध गराउने निर्णय गरेको थियो।

प्राधिकरणले अन्य हकवालालाई आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरेको छ। राहत रकम प्राप्त गर्न सम्पर्कविहीन कर्मचारी र निवेदकबीचको नाता प्रमाणित हुने प्रमाणपत्र, हकवालाको नागरिकता प्रमाणपत्र तथा नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ।

साथै, नजिकको हकवाला भएको खुल्ने स्थानीय तहको सिफारिसपत्र, बैंक खाता नम्बर र राहत उपलब्ध गराइदिन अनुरोध गरिएको निवेदनसमेत बुझाउनुपर्नेछ।

प्राधिकरणको विनियमावली तथा सरकारले घोषणा गर्ने राहत प्याकेज अनुसार आगामी दिनमा अन्य सहयोग हुने प्राधिकरणले जनाएको छ।