गोरुसिङ्गे-चन्द्रौटा सडक विस्तारको ठेक्का ४.५६ अर्बमा चिनियाँ कम्पनीलाई, अढाइ वर्षमा सक्नुपर्ने

बिजमाण्डू
२०८३ असोज २७ गते ११:१६ | Oct 13, 2026
गोरुसिङ्गे-चन्द्रौटा सडक विस्तारको ठेक्का ४.५६ अर्बमा चिनियाँ कम्पनीलाई, अढाइ वर्षमा सक्नुपर्ने


काठमाडौं। पूर्व पश्चिम राजमार्गअन्तर्गत गोरुसिङ्गे-चन्द्रौटा सडक विस्तार गर्ने ठेक्का चिनियाँ कम्पनीले पाएको छ। चाइना एमसीसी १७ ग्रुप कम्पनीले ४ अर्ब ५६ करोड ६६ लाख रुपैयाँमा ठेक्का पाएको हो।

GBIME
Tata

यो ठेक्काका लागि नेपाली जेभीसहित ११ वटा निर्माण कम्पनी प्रतिस्पर्धामा थिए। बिना पुरी होल्डिङ बीएजडी, चाइना फर्स्ट हाइवे कम्पनी, कोभेक-मोतिदान जेभी, इभ्रासकन-कालिका जेभी, जेसीईजी-दिवा जेभी, लङजियान-सगुन जेभी, एससीईजीसी-एएनएस जेभी, सिम्प्लेक्स-रतौहा जेभी, एसएक्सआरबी-केएसएनएस जेभी र भीबीईपीएल-इलाइट जेभीलाई पछि पारेर चाइना एमसीसी १७ ग्रुप कम्पनीले ठेक्का पाएको हो।

कम्पनीले सम्झौता भएको अढाइ वर्षमा काम सम्पन्न गर्नुपर्नेछ। ५ वर्षसम्म मर्मत संभारको जिम्मा पनि कम्पनीको हुनेछ।

गोरुसिङ्गे-चन्द्रौटा हाल २ लेनको रहेकामा अब चार लेनमा विस्तार गरिनेछ। १९ किलोमिटर लामो सडकमा १२ वटा नयाँ पुल, ६० कलभर्ट र ११ स्थानमा पाइप कलभर्ट बनाइनेछ।

सडकका दुवै छेउमा २.५ मिटरका पैदलमार्ग हुनेछ। ठूला, मझौला र साना वन्यजन्तु आउजाउका लागि ६ वटा अन्डरपास निर्माण गरिनेछ। हुने छन्।

चन्द्रौटा चोकमा २० मिटर चौडा र ८०० मिटर लामो ‘भेइकुलर अन्डरपास’ निर्माण हुनेछ। लामो दूरीका सवारीसाधन अन्डरपास माथिबाट र स्थानीय सवारीसाधन भियूपी भित्रबाट चल्नेछन्।