काठमाडौं । सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध र विद्युत्गृह लगायत बाँकी संरचना निर्माणका लागि भएको नयाँ टेन्डरमा तीनवटा कम्पनी प्राविधिक रुपमा योग्य ठहरिएका छन।
आयोजनाले मंगलबार सूचना जारी गर्दै आर्थिक प्रस्तावको लागि प्राविधिक रुपमा योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो। सूचीमा चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन बेजिइङ, अनेग-आरसीसी जेभी र सिनोहाइड्रो कर्पोरेसन लिमिटेड चाइना रहेका छन्।
यही कम्पनीहरु मध्येबाट प्रस्ताव गरिएको आर्थिक र प्राविधिक प्रस्ताव हेरेर ठेक्का प्रदान गरिनेछ। यसको आर्थिक प्रस्ताव भने कात्तिक १६ गते खोलिनेछ।
सम्झौता अनुसार काम नगरेपछि पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले सुनकोशी-मरिनमा ठेक्का सम्झौता तोडेका थिए।
पटेल-रमण जेभीले १४ अर्ब ८ करोड ८ करोड रुपैयाँमा ठेक्का लिएकामा आधाभन्दा बढी समय गुज्रिँदा १० प्रतिशतभन्दा काम नगरेपछि कम्पनीसँगको सम्झौता रद्द गरिएको थियो। अहिले कम्पनीले अन्तर्राष्ट्रिय अदालतमा यससम्बन्धी मुद्दा लडिरहेको छ।
पुराना ठेक्का सुनकोशी मरिन आयोजनामा बाँध र पावर हाउस बनाउन २०७९ साल पुस १४ गते १४ अर्ब ७ करोड रुपैयाँमा रमण-पटेल जेभीसँग ठेक्का सम्झौता भएको थियो। पुरानो ठेक्का गत मंसिरमा तोडिएको थियो।









