दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिका-६ डुम्रीडाँडामा आज साँझ बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
दुर्घटनामा आँबुखैरेनी गाउँपालिका-६ छापस्वारा बस्ने ४७ वर्षीया इन्द्रमाया गुरुङको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको बोलेरो जीप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। दुर्घटनामा घाइते गुरुङलाई उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका उनले बताए।
दुर्घटनामा घाइते भएका छ जनाकै आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रनाउ घिमिरेले बताए।
दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको नेतृत्वमा ट्राफिक प्रहरीसहित १० जनाको टोली घटनास्थलमा खटिएको थियो।
जीप चालक आँबुखैरेनी गाउँपालिका -६ हिलेखर्क निवासी ३३ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।
यस्तै टिपरको ठक्करबाट दाङमा बालकको मृत्यु भएको छ। घोराही लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका-३ कुइरेपानीमा रा१ख २५११ नम्बरको टिपरले आज साँझ ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका-१ निवासी राजन अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते भएका बालकको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। घटनापछि स्थानीयले दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै विरोध गरेका छन्। ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको जनाइएको छ। रासस








