सेयर बजारमा नयाँ उपकरण सञ्चालन गर्न पूर्वाधार बनाइँदै, सेन्ट्रल काउन्टर पार्टी सीडीएससी

सुनिल कुँवर
२०८३ असोज २६ गते १५:२८ | Oct 12, 2026
सेयर बजारमा नयाँ उपकरण सञ्चालन गर्न पूर्वाधार बनाइँदै, सेन्ट्रल काउन्टर पार्टी सीडीएससी


काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजारमा लगानीका नयाँ उपकरण सञ्चालन गर्न पूर्वाधार निर्माणको तयारी थालेको छ।

GBIME
Tata

सेबोनले इन्ट्राडे, सर्टसेल र सेक्युरिटी लेण्डिङ एण्ड बरोइङ सञ्चालनका लागि संरचना बनाउन लागेको हो। सीडीएससी एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)लाई सेन्टर काउन्टर पार्टी (सीसीपी)सञ्चालन गर्न दिने गरी कानुन संशोधन गर्न लागिएको छ। सेबोनले यसका लागि धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावलीमा संशोधन गर्न लागेको हो।

सेबोनले बजारमा लगानीको थप उपकरण सञ्चालन गर्न कार्यकारी निर्देशक रुपेस केसी तथा नेप्से र सीडीएससीका अधिकृतसहितको समिति बनाएर काम गरिरहेको छ। बजारमा नयाँ उपकरण ल्याउने तयारीस्वरुप सेन्ट्रल काउन्टर पार्टीका रुपमा सीडीएससीलाई संस्थागत जिम्मेवारी दिने गरी कानुन संशोधनको प्रक्रिया अगाडि बढाइएको सेबोनका अधिकृतले बताएका छन्।

‘सेन्ट्रल काउन्टर पार्टीको जिम्मा सीडीएससीलाई दिने कुरा छ। यस सम्बन्धमा नियमावलीमा स्पष्ट पारिनेछ,’ सेबोनका एक अधिकृतले भने।

सीडीएससीले अहिले धितोपत्र कारोबारको सेटलमेन्ट गर्दै आएको छ। सेन्ट्रल काउन्टर पार्टीको जिम्मेवारीपछि सीडीएससीले सेटलमेन्टको ग्यारेन्टी गर्नेछ। सेटलमेन्टको ग्यारेन्टी भएपछि बजारमा लगानीका नयाँ उपकरण सञ्चालनको बाटो खुल्नेछ।

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले कानुनी रुपमा पूर्वाधारपछि सेन्ट्रल काउन्टर पार्टीको काम सीडीएससीले गर्ने बताए।

‘सेन्ट्रल काउन्टर पार्टी सेटलमेन्टको ग्यारेन्टी गर्ने संस्था हो। अन्तर्राष्ट्रिय रुपमा क्लियरिङले नै यो काम गर्दै आएका छन्। हामी अवधारणाको हिसाबले कसरी जाने भन्ने हो। त्यसलाई ऐनमा इन्ट्रोड्युस गरेपछि प्राविधिक विषयमा कसरी व्यवस्था गर्ने भन्ने कुरा आउँछ,’ उनले भने, ‘त्यसका लागि सेबोनले हामीसँग निरन्तर छलफल गरिरहेको छ।’   

सीडीएससीले अहिले नेप्सेमा कारोबार भइसकेपछि राफसाफ तथा फर्छ्योटको काम गर्दै आएको छ। बजारमा इन्ट्राडे, सर्टसेलिङ र सेक्युरिटी लेण्डिङ एण्ड बरोइङ सञ्चालनका लागि सीडीएससीको कार्य क्षेत्र विस्तार गरेर कानुन संशोधन गर्नुपर्ने आवश्यकता नेप्सेले औल्याएको थियो।

बजारमा नयाँ उपकरण सञ्चालनका लागि सीडीएससीको संस्थागत र प्राविधिक पूर्वाधारमा सुधार हुनुपर्ने विज्ञहरु बताउँछन्।

सेबोनका पूर्वकार्यकारी निर्देशक निरज गिरी बजारमा नयाँ उपकरण सञ्चालनका लागि कारोबारमा राफसाफको ग्यारेन्टी गर्न सेन्ट्रल काउन्टर पार्टी अनिवार्य भएको बताउँछन्।

‘बजारमा इन्ट्राडे, सर्टसेल र सेक्युरिटि लेण्डिङ एण्ड बरोइङ सञ्चालन गरियो तर, त्यसको खरिद बिक्रीकर्ताले सेयर पाएनन् भने त्यो प्रभावकारी हुन सक्दैन,’ उनले भने, ‘त्यसैले कारोबार त्यही दिन सेटल गर्न बायर र सेलरको बीचमा सेटलमेन्टको ग्यारेन्टी गरिदिने संयन्त्रका रुपमा सेन्ट्रल काउन्टर पार्टीलाई लिइन्छ। विदेशतिर कतिपय क्लियरिङ हाउसले नै यो काम गरेको पाइन्छ भने केही देशमा छुट्टै संरचना छन्।’

कानुन संशोधन गरेर स्पष्ट पार्दै डिपोजिटरीलाई नै सेन्ट्रल काउन्टर पार्टी बनाउन सकिने उनको भनाइ छ।

‘काउन्टर पार्टीले क्रेडिट रिस्क एलिमिनेट गर्ने हो। डिपोजिटरीले पनि यो काम गर्दै  आएका छन्। अहिलेको कानुनमा यो कुरालाई स्पष्ट पारेर सीडीएससीलाई दिन सकिन्छ,’ गिरीले भने।

अन्तर्दिवसीय धितोपत्र कारोबार (इन्ट्राडे)मा एकै कारोबार दिनभित्र कारोबार राफसाफ गरिन्छ। इन्ट्राडे एकै कारोबार दिनभित्र सेयर खरिद गरी सोही दिन बिक्री गर्ने वा पहिले बिक्री गरी सोही दिन पुनः खरिद गर्ने कारोबार प्रणाली हो।

यस प्रकारको कारोबारलाई सेटलमेन्ट गराउन सेन्ट्रल काउन्टर पार्टीले काम गर्छ।

सेबोनले बजारमा चरणबद्ध रुपमा इन्ट्रा डे, सर्टसेलिङ र सेक्युरिटी लेण्डिङ एण्ड बरोइङ सञ्चालन गर्ने बताएको छ। सेबोनले यसका लागि कानुन संशोधन गर्न समिति बनाएर छलफल गरिरहेको छ।

सर्टसेलिङमा लगानीकर्ताले आफूसँग सेयर नभए पनि सेयक्युरिटी लेण्डिङ एण्ड बरोइङबाट राफसाफको प्रत्याभूत गरेर कारोबार गर्छन्। यस कारोबारमा सिर्जना हुने दायित्व सेन्ट्रल काउन्टर पार्टीबाट पूरा गरिन्छ।

सेक्युरिटी लेण्डिङ एण्ड बरोइङ लगानीकर्ताले आफूसँग भएको सेयर अरुलाई ऋण दिने र आफूसँग नभएको सेयर अरुबाट लिएर कारोबार दायित्व पूरा गर्न सक्ने उपकरण हो।

‘बजारमा लगानीका नयाँ उपकरण सञ्चालन गर्दा सिर्जना हुने क्रेडिट रिस्क मिनिमाइज गर्न सेन्ट्रल काउन्टर पार्टी चाहिन्छ। सेबोनले त्यस प्रकारको संयन्त्र तयार पारेर पूर्वाधार निर्माण गर्न सक्छ। त्यसमा नयाँ प्रविधिको विषय पनि आउँछ,’ मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझीले भने।