तनहुँ जलविद्युत आयोजनामा विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि गर्न नमुना अभ्यास

बिजमाण्डू
२०८३ असोज २५ गते १३:०५ | Oct 11, 2026
तनहुँ जलविद्युत आयोजनामा विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि गर्न नमुना अभ्यास


काठमाडौं। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि विपद् नमुना अभ्यास गरेको छ।

GBIME
Tata

आयोजनाले जनशक्तिको सुरक्षा तथा आपतकालीन अवस्थामा प्रभावकारी उद्धार र प्रतिकार्य सुनिश्चित गर्न मुख्य बाँध निर्माणस्थलमा विपद् नमुना अभ्यास गरेको हो।

नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत आपतकालीन प्रतिकार्य योजनाबमोजिम सञ्चालन गरिएको अभ्यासमा प्याकेज-१ (हेडवर्क्स) र प्याकेज-२ (मुख्य सुरुङ, विद्युतगृहलगायत संरचना तथा सम्बन्धित उपकरण)मा कार्यरत जनशक्तिलाई लक्षित गरेको आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार सम्भावित विपद्का बेला अपनाउनुपर्ने सुरक्षा सावधानी, तत्काल उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा आपतकालीन अवस्थामा प्रभावकारी समन्वय गर्ने विधिबारे व्यवहारिक अभ्यास गरिएको थियो।

नमुना अभ्यासमा तनहुँ हाइड्रोपावर लिमिटेड (टीएचएल)का प्रबन्ध सञ्चालक, आयोजना प्रबन्धक तथा अन्य पदाधिकारी, नेपाली सेनाको दमौलीस्थित कालिभञ्जन गणका अधिकारी, आयोजना सुपरीवेक्षण परामर्शदाता (पीएससी), वातावरण तथा सामाजिक व्यवस्थापन सेवा प्रदायक र निर्माण व्यवसायीका प्रतिनिधिको उपस्थिति थियो।

टीएचएलका प्रबन्धसञ्चालक छविलाल गैह्रेले विपद् व्यस्थापनमा पूर्वतयारी, समयमै सूचना प्रवाह र प्रभावकारी उद्धार प्रणालीको महत्वमा जोड दिँदै आयोजनाले निर्माणस्थलमा कार्यरत जनशक्तिको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेको बताए। 

उनले यस्ता अभ्यासले विपद्का बेला तत्काल निर्णय लिन, सम्बन्धित निकायबीच समन्वय गर्न तथा मानवीय क्षति न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले बाँधस्थलभन्दा तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेलाई सम्भावित बाढी तथा अन्य जोखिमबारे सचेत गराउन र आपतकालीन अवस्थामा सुरक्षित रहन विभित्र कार्यक्रम सञ्चालन गरिरहेको बताए।

आयोजनाले बाँधस्थलदेखि तल्लो तटीय क्षेत्र हुँदै सेती र त्रिशूली नदीको दोभानसम्म सम्भावित जोखिमबारे समयमै सूचना प्रवाह गर्न १७ वटा साइरन जडान गरेको छ।

नदीमा बाढी आएमा सुरक्षित स्थानमा जान तथा आपतकालीन अवस्थामा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिन १० स्थानमा सूचनामूलक होर्डिङ बोर्ड राखिएको छ।