दसैंका लागि च्याङ्ग्राको किनबेच सुरु, डोल्पाबाट जोमसोममा झारियो एक हजारको बथान

बिजमाण्डू
२०८३ असोज १९ गते १२:२२ | Oct 5, 2026
दसैंका लागि च्याङ्ग्राको किनबेच सुरु, डोल्पाबाट जोमसोममा झारियो एक हजारको बथान


काठमाडौं। दसैं नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको किनबेच सुरु भएको छ। दसैंका लागि बेच्न माथिल्लो डोल्पाबाट मुस्ताङको जोमसोममा भेडाच्याङ्ग्राको बथान ल्याइएको छ।

Vigo
GBIME
Tata

आफ्ना पाँच सहकर्मीसहित एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा शनिबार साँझ जोमसोम आइपुगेको डोल्पाका व्यापारी शेरबहादुर रोकायाले जानकारी दिए।

डोल्पाबाट जोमसोम आइपुग्न रोकायालाई एक साताभन्दा बढी लागेको छ। उनी डोल्पो बुद्ध गाउँपालिकाबाट असोज ९ गते भेडाच्याङ्ग्रासहित जोमसोमतर्फ हिंडेका थिए।

सेताम्मे हिउँ, अत्यधिक चिसो र जोखिमपूर्ण बाटो छिचोल्दै रोकायासहितको टोली च्याङ्ग्रा लिएर जोमसोम आइपुगेको हो। उनले ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका छन्।

यसपटक हिउँ छिचोल्दै जोखिमपूर्ण यात्रा गरेर च्याङ्ग्रा जोमसोम ल्याएको रोकायाले बताए। उनका अनुसार डोल्पाबाट मुस्ताङ आउने बाटोमा सेताम्मे हिउँ जमेको थियो। भारी वर्षा र हिमपातका कारण मुस्ताङ-डोल्पा जोड्ने पदमार्गमा निकै कठिन भएको रोकायाले बताए।

‘हाम्रो सबै सम्पत्ति च्याङ्ग्रामै लगानी भएको छ। दसैंका बेला डोल्पा फर्कने बाटो सरकारले समयमै सहज बनाइदिए राम्रो हुन्थ्यो,’ उनले भने।

रोकायाले माथिल्लो डोल्पाका डोल्पो बुद्ध, से-फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकाका किसानबाट च्याङ्ग्रा खरिद गरी जोमसोम ल्याएका हुन्। भेडाच्याङ्ग्रा जोमसोमको घरपझोङ गाउँपालिकास्थित सार्वजनिक मैदानमा राखिएको छ।

नेपाल-चीन सीमा क्षेत्रमा चोङ्ग्रा मेला बन्द भएकाले यसपटक डोल्पामै च्याङ्ग्रा खरिद गर्नुपरेको उनको भनाइ छ। उनका अनुसार डोल्पाबाट यसपटक ८ हजारभन्दा बढी भेडा च्याङ्ग्रा जोमसोम ल्याइँदैछ। डोल्पाबाट गत वर्ष ११ हजार बढी च्याङ्ग्रा मुस्ताङ ल्याइएको थियो। रासस