म्याग्दी। चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा १० दिनसम्ममा यातायात संचालन हुने भएको छ। गत असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछि क्षतिग्रस्त बनेको उक्त खण्डमा मर्मत कार्य जारी छ।
म्याग्दीको राहुपारेदेखि पोखरेबगर खण्डको करिब १५ किलोमिटरमा सडक मर्मत हुन बाँकी छ। अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि रातोपानी, धिरच्याङ, महभीर, भीरकाटे, तिप्ल्याङ, बेगखोला, कुनौटा, सिरुवारी, बैसरी र राहुपारे क्षेत्रमा कालीगण्डकीले कटान गरेर पैदलयात्रा गर्न पनि कठिन बनाएको सडकको मर्मतका लागि पनि उपकरण परिचालन भएको आयोजना प्रमुख तेजस्वी शर्माले बताए।
‘सबै तालमेल मिलेमा अबको एक हप्तादेखि १० दिनभित्र बेनी-जोमसोम-कोरला सडकमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित उपकरण र मजदुरहरू परिचालन गरेका छौँ,’ उनले भने, ‘अवरोध भएको सबै ठाउँमा सामानान्तर हिसाबले मर्मतको कामलाई तीव्रता दिएका छौँ।’
रसुवा र तातोपानी नाका बन्द भएका अवस्थामा चीनसँग व्यापारका लागि एकमात्र विकल्प बनेको कोरला नाका जोड्ने सडक मर्मत गरी जतिसक्दो छिटो यातायात सञ्चालनका लागि सरकारले उच्च प्राथमिकताका साथ काम अघि बढाएको छ। चीनसँगको व्यापारिक नाकाका अलावा मुस्ताङमा उत्पादन भएको स्याउ बजार पठाउने, दसैंतिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने र पर्यटकीय याम सुरु भइसकेकाले मुस्ताङलाई सडक यातायात सञ्जालमा जोड्ने बेनी-जोमसोम सडक मर्मतका लागि दबाब परेको छ।
२०२ किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडकमा बाढीपहिरोले ५५ ठाउँमा क्षति पुर्याएको थियो। पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गादेखि म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ राहुपारे र मुस्ताङको कोरला नाकादेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानी खण्डको सडक मर्मत भइसकेको जनाएको छ।
रघुगङ्गा गाउँपालिका-३ तिल्केनीचौरमा राहुघाट जलविद्युत् आयोजनाको विद्युतगृह र स्वीचयार्ड परिसरमा कालीगण्डकीले कटान गरेको सडकको विकल्पमा मार्ग खुलाउन प्रयोगमा नरहेको ग्यान टि टावर हटाउन भएको ढिलाइले दुई दिन सडक मर्मतको काम प्रभावित बनेको योजना प्रमुख शर्माले बताए।
प्रमुख शर्माका अनुसार शनिबार तिल्केनीचौर छिचोलेर चमेरे हुँदै राहुपारेमा कालीगण्डकीले कटान गरेर भत्काएको सडक मर्मत थालिएको छ। तिल्केनीचौरमा अवरोध हटेपछि रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटसँग जिल्ला सदरमुकाम बेनीको यातायात सम्पर्क स्थापित भएको छ।
यसैगरी, सुरक्षाकर्मी र स्वयंसेवकले तिल्केनीचौरदेखि सिरुवारी हुँदै बेगखोलासम्म ग्यालिनमा बोकेर डिजेल ढुवानी गरेपछि बैसरी र सिरुवारीमा थन्किएका एस्काभेटर संचालन भएका छन्। मुस्ताङबाट ल्याएको र जलविद्युत् आयोजनासँग मौजुदा इन्धन सापटी मागेर पोखरेबगरबाट बेनीतर्फ सडक मर्मतमा उपकरण परिचालन भएको छ। रासस











