काठमाडौंको न्युरोडमा सुनको चमकसँगै जीवन बिताएका तेजरत्न शाक्यका लागि सुन केवल मूल्यवान धातु होइन, जीवनको एउटा लामो कथा हो। त्यो कथामा संघर्ष छ, प्रतिष्ठा छ, परम्परा र सीप छ। परिवार र सँगसँगै बदलिँदो नेपालको अर्थतन्त्र पनि छ।
२०२२ सालमा एसएलसी सकेर व्यवसायमा प्रवेश गर्दा शाक्य १६-१७ वर्षका थिए। त्यतिबेला एक तोला सुनको मूल्य २०० रुपैयाँ थियो। अहिले त्यही सुनको मूल्य तीन लाख रुपैयाँभन्दा माथि पुगेको छ। मूल्यको यो उकालो उनका लागि सुन बजारमा आएको परिवर्तनको एउटा संकेत मात्रै हो। ६ दशकभन्दा बढी लामो यात्रामा उनले नेपाली सुनचाँदी व्यवसायलाई परम्परागत कालिगडीबाट आधुनिक, संगठित र बैंकिङ प्रणालीमा जोडिएको व्यवसायमा रूपान्तरण हुँदै गएको देखेका छन्।
सानै उमेरमा पारिवारिक व्यवसायको जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यताले उनको बाटो तय गरिदियो। वृद्ध हुँदै गएका बुबा र व्यवसाय सम्हाल्ने सदस्यको आवश्यकता थियो। त्यसैले उनले कमर्स विषय रोजे। बिहान त्रिचन्द्र क्याम्पसमा पढ्थे, दिउँसो पसलमा बस्थे।
ग्रयाजुएसनपछि मास्टर्स पढ्ने ठूलो रहर थियो। तर, व्यवसाय सम्हाल्नुपर्ने भएकाले पढाइलाई निरन्तरता दिन सकेनन्। उनका साइँला दाजु सरकारी जागिरे थिए। काठमाडौंका रैथाने शाक्य परिवारका लागि जिल्ला-जिल्लामा हुने उनको सरुवा झन्झटिलो लाग्थ्यो। दाजुलाई काठमाडौं ल्याउन भनसुन गर्नुपर्ने अवस्था देखेका उनका बुबाको एउटा भनाइले तेजरत्नको सोच नै बदलिदियो।
‘बुबाले पढेर जागिर खान सकिन्छ तर सीप सिके त व्यवसाय गरेर आफैं मालिक बन्न सकिन्छ भन्नुभयो। त्यही बोलीले जीवनको लक्ष्य नै मोडिदियो र पूर्णरूपमा व्यवसायमा केन्द्रित भएँ,’ उनी सम्झन्छन्।
आज आफ्नो करिब ६१ वर्ष लामो व्यावसायिक यात्राको आधार उनी त्यही निर्णयलाई मान्छन्।

पाँच रुपैयाँको व्यापार र ‘साहु’ बनेका बालक
शाक्यको व्यवसायसँगको सम्बन्ध एसएलसीपछि मात्रै सुरु भएको थिएन। उनी हुर्किएको वातावरणमै व्यापार र सीप जोडिएका थिए। उपत्यकाको नेवार समुदायमा बालबालिकालाई सानैदेखि काम र व्यापारको अभ्यास गराउने परम्परा थियो। साउनमा घण्टाकर्णका बेला बालबालिकालाई फलाम वा धातुका औँठी बनाएर बेच्न लगाइन्थ्यो। बिक्रीबाट आएको पैसा उनीहरूकै हुन्थ्यो।
‘करिब १० वर्षको हुँदा औँठी बेच्ने गरियो। घण्टाकर्णका दिन पसलको एउटा ढोका खुला राखेर औँठी लिएर ‘साहु’ बनेर बसिन्थ्यो, ग्राहकलाई त्यो औँठी बेच्नुपर्थ्यो। मैले पहिलोपटक पाँच रुपैयाँको औँठी बेचें। त्यो बेला मभन्दा धनी कोही छैन जस्तो लाग्यो,’ उनी हाँस्दै सम्झन्छन्।
त्यो पाँच रुपैयाँको व्यापार बालक शाक्यका लागि संसारकै ठूलो सम्पत्ति थियो। त्यसले व्यापारप्रतिको आत्मविश्वास र पैसाको मूल्य बुझ्ने आधार बनायो। बुबाले आफ्नो पेसालाई धर्म, परम्परा, रीतिरिवाज र सामाजिक मूल्यसँग जोडेर हेर्ने भएकाले त्यसलाई निरन्तरता दिन सधैं प्रेरित गरिरहे।

कालिगडदेखि ‘अलराउन्डर’
शाक्यले व्यवसाय सुरु गर्दाको सुनचाँदीको काम आजजस्तो विभाजित र व्यावसायिक थिएन। एउटै व्यक्तिले सुनको ढिका छोएदेखि गहना तयार पार्ने र त्यसको अन्तिम फिनिसिङसम्मका काम गर्नुपर्थ्यो। उनी कालिगड पनि थिए, मजदुर पनि र मालिक पनि।
उनको पारिवारिक काम मुख्यतः तीन भागमा बाँडिएको थियो – ‘किज्या,’ ‘बुज्या’ र ‘माज्या’। किज्या गहनामा बुट्टा काट्ने र कार्भिङ गर्ने, बुज्या फिनिसिङ र जडान गर्ने तथा माज्या चाँदी पगाल्ने र पिट्ने काम थियो। परिवारका सदस्यहरू फरक-फरक सीपमा दक्ष थिए। कसैलाई कला र बुट्टाको ज्ञान थियो, कसैलाई रेडिमेड गहनाको, कसैलाई फिनिसिङको र उनका बुबा चाँदीको काममा निपुण थिए।
शाक्यले भने ती सबै सीप सिके। यही बहुआयामिक ज्ञान उनको व्यावसायिक पहिचान बन्यो। विशेषगरी कालिगडीमा उनको रुचि थियो।
व्यवसाय सुरु गर्दाको एउटा घटना उनी अहिले पनि उत्साहका साथ सुनाउँछन्। एक ग्राहकले विदेशी झुम्का देखाएर त्यस्तै डिजाइन बनाउन सकिन्छ कि भनेर सोधे। उनले सक्छु भनेर जिम्मा लिए। डिजाइन तयार भयो तर फिनिसिङ दिन सकेनन्। त्यसपछि विभिन्न ठाउँमा पुगेर खोज्दा भारतीय कालिगडले त्यस्ता गहना बनाउने थाहा पाए। मारवाडीको पसलमा गएर उनले त्यो सीप सिके र झुम्का तयार गरेर ग्राहकलाई दिए।
‘त्यो बेलाको आत्मसन्तुष्टि वर्णन नै गर्न सक्दिनँ,’ उनी भन्छन्।
तर, अहिले नेपाली युवामा कालिगडीप्रति रुचि घट्दै गएको देख्दा उनलाई चिन्ता लाग्छ। उनका अनुसार नेपाली सुन व्यवसाय भारतीय कालिगडमा निर्भर हुँदै गएको छ। आफू नेपाल सुनचाँदी व्यवसायी संघको अध्यक्ष हुँदा सरकारको सीमित सहयोगमा सीपमूलक तालिम सञ्चालन गरेर युवालाई यस पेसातर्फ आकर्षित गर्ने प्रयास गरेको र पछि सीटीईभीटीमार्फत पनि तालिम चलाएको उनी सम्झन्छन्।

अर्डरबाट रेडिमेडसम्म
शाक्यले व्यवसाय सुरु गरेको समयमा गहना चाहिने ग्राहकले पसलमा गएर तत्काल किन्न पाउँदैनथे। गहना अर्डरमा मात्रै बन्थ्यो। कतिपय अवस्थामा ग्राहक आफैंले सुन ल्याएर गहना बनाउन दिन्थे।
‘२०४६ सालअघि रेडिमेड गहना भन्ने नै थिएन। ग्राहकले अर्डर दिन्थे र त्यहीअनुसार बनाइन्थ्यो,’ उनी भन्छन्।
त्यो समय बजार सानो थियो, जनसंख्या कम थियो र सुनचाँदीको कामलाई व्यवसायभन्दा बढी सीप र कालिगडीका रूपमा हेरिन्थ्यो। व्यवसायी औपचारिक दर्ताभन्दा आफ्नो सीपले चिनिन्थे। ‘कालिगड’ उनीहरूको परिचय नै थियो। २०४६ सालको राजनीतिक परिवर्तनपछि अवस्था बदलिन थाल्यो। व्यवसाय दर्ता गर्ने क्रम बढ्यो, संघसंस्था बन्न थाले र बजार विस्तार भयो। परम्परागत कालिगडी क्रमशः उद्योग र व्यापारको स्वरूपमा प्रवेश गर्न थाल्यो।
तर, कानुनी संरचना भने व्यवसायको बदलिँदो स्वरूपअनुसार अघि बढ्न नसकेको शाक्यको अनुभव छ। चोरीको सुनसँग सम्बन्धित पुराना कानुनी प्रावधानले व्यवसायीलाई समस्या पारे। बजार मूल्यभन्दा फरक मूल्यमा सुन खरिद-बिक्री भए चोरीको विषय बन्ने र चोरी भएको सुन पटकपटक बिक्री हुँदै अन्तिम खरिदकर्तासम्म पुगे पनि उसले कारबाहीको जोखिम बेहोर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्।
सुनचाँदी व्यवसायका लागि छुट्टै र स्पष्ट कानुनी संरचना आवश्यक रहेको उनको भनाइ छ। २०७४ सालको देवानी संहिताले सुनलाई नगदसरह मान्यता दिए पनि व्यवहारमा पुरानो कानुनी दृष्टिकोणको प्रभाव अझै रहेको उनको बुझाइ छ। सरकारले सुनचाँदीलाई विलासिताको वस्तुका रूपमा हेर्दा त्यसमा लाग्ने भ्याटले कारोबारमा थप समस्या सिर्जना गरेको उनी बताउँछन्।

भारतीय कालिगड र प्रविधिको दबदबा
नेपाली सुनचाँदी व्यवसायमा आएको अर्को ठूलो परिवर्तन कालिगडीमा देखियो। शाक्यका अनुसार २०३५ सालतिर कोलकाताबाट आएका एक बंगाली कालिगडले न्युरोडमा काम सुरु गरेपछि भारतीय कालिगडको प्रवेश विस्तार भयो।
उनीहरूले नयाँ प्रविधि र उत्कृष्ट फिनिसिङको अभ्यास ल्याए। २०४६ सालपछि भारतीय कालिगडको उपस्थिति झन् बढ्यो।
यसले परम्परागत शैलीमा काम गरिरहेका नेपाली कालिगडका अगाडि नयाँ प्रतिस्पर्धा खडा गर्यो। नेपाली कालिगडलाई एउटै गहना बनाउन तीन–चार दिन लाग्ने अवस्थामा प्रविधिमा अभ्यस्त भारतीय कालिगडले त्यही काम एक दिनमै गर्न थाले।
‘नेपाली कालिगडको सीप कमजोर भएर होइन कि सामाजिक र सांस्कृतिक जीवनसँग जोडिएको परम्परागत काम गर्ने शैली, नियमित तालिमको अभाव र नयाँ प्रविधिमा पहुँचको कमीले नेपाली कालिगड पछि पर्दै गए। विस्तारै नेपाली कालिगड यो पेसाबाटै टाढिँदै गए,’ शाक्य भन्छन्।
नेपाली युवालाई सीप सिकाएर यो व्यवसायमा आकर्षित नगरे विदेशी कालिगडमाथिको निर्भरता अझ बढ्ने उनको चिन्ता छ।

व्यवसायसँगै संगठन निर्माण
शाक्यको व्यावसायिक जीवनको अर्को महत्त्वपूर्ण अध्याय सुनचाँदी व्यवसायीको संगठन निर्माणसँग जोडिएको छ। २०४४ सालमा स्थापना भएको सुनचाँदी व्यवसायीको संगठनमा सहसचिवबाट काम सुरु गरेका उनी सचिव र महासचिव हुँदै नेतृत्वमा पुगे। २०५८ देखि २०६९ सालसम्म उनले नेपाल सुनचाँदी व्यवसायी संघको नेतृत्व गरे।
त्यतिबेला संघका करिब ४२/४३ जिल्लामा शाखा थिए। देशभर संगठन विस्तार गर्ने उनको लक्ष्य थियो। २०६९ सालसम्म दैलेखसहित ४२ जिल्लामा संगठन विस्तार भएको उनी सम्झन्छन्।
त्यो समय सुनको मूल्यमा समेत एकरूपता थिएन। मखन, इन्द्रचोक र असनमै फरक–फरक मूल्यमा किनबेच हुन्थ्यो। संघले दैनिक मूल्यमा एकरूपता ल्याउने प्रयास गर्यो।
‘सुरुमा फोनबाटै आजको मूल्य जानकारी गराइन्थ्यो। अहिले प्रविधिको विकाससँगै हरेकले बिहानै सुनको मूल्य थाहा पाउने दिन आयो,’ उनी भन्छन्।
सदस्यता शुल्क १० रुपैयाँबाट सुरु भएको उनी सम्झन्छन्। संगठनको उद्देश्य व्यवसायीको साझा संस्था बनाउनु मात्रै थिएन। चोरी, सुरक्षा, कानुन, खरिद-बिक्री र व्यवसायीको अधिकारका विषयमा सामूहिक आवाज उठाउनु पनि थियो।

ल्हासादेखि झिटिगुन्टासम्म
शाक्यको नेतृत्वकालमा सुनको आपूर्ति प्रणालीमा पनि ठूलो परिवर्तन आयो। पहिले सुन ल्याउने स्पष्ट नीति थिएन। ल्हासा जाने-आउनेले सुन ल्याउँथे। धरानको ब्रिटिस लाहुरेको पेन्सन क्याम्प हुँदै पनि सुन आउँथ्यो। पछि नेपाली शान्ति सैनिकलाई सुन ल्याउने सुविधा दिइयो। बर्मा र युगोस्लाभियाबाट समेत विभिन्न माध्यमबाट सुन आउने गरेको उनी सम्झन्छन्।
२०४९ सालको बजेटमा सुनचाँदी र हिरा ल्याउन प्रतिबन्ध लगाइयो। पछि नीति फेरिँदै गयो। शाक्यका अनुसार पहिले झिटीगुन्टाबाट ठूलो परिमाणमा, १० किलोसम्म, सुन ल्याउन पाइन्थ्यो। यसले तस्करीको जोखिम बढाएको थियो।
२०५५ सालको बजेटले सुनमा भ्याट लगाएपछि बजारमा समस्या आएको उनी बताउँछन्। त्यसपछि उद्योगी-व्यवसायीका संस्थासँग मिलेर सरकारसँग छलफल गरिएको र कर व्यवस्था सच्याइएको उनको भनाइ छ।
‘सरकारलाई बारम्बार झकझकाउँदै झिटीगुन्टामार्फत सुन ल्याउने परम्पराको अन्त्य गरी नयाँ नीति ल्याउन आग्रह गरियो र बल्ल २०६३ सालबाट मात्रै वैधानिक रूपमा सुन आयात सुरु भयो,’ उनी भन्छन्।
२०६३ सालमा ‘ओपन जनरल लाइसेन्स’ सुरु भएपछि बैंकमार्फत सुन आयात गर्ने बाटो खुल्यो। पछि कोटा प्रणाली लागू भयो। विदेशी मुद्रा संकटका बेला सुन आयात रोक्ने बहस उठ्दा शाक्यलगायत व्यवसायीले प्रतिबन्धभन्दा व्यवस्थापन आवश्यक रहेको भन्दै पहल गरे। त्यसपछि सुन आयातलाई बैंकिङ प्रणालीभित्र राख्ने अभ्यास अघि बढ्यो।

सुनको चमकपछाडिको चिन्ता
२०६० सालमा दर्ता भएको ‘तेजमिन ज्वेलर्स’ नाम पनि पारिवारिक कथासँग जोडिएको छ। छोरीले बुबा तेजरत्न र आमा सुमिनाको नाम जोडेर नाम राखेकी हुन्। आज न्युरोड प्यूखाँमा रहेको तेजमिन पुराना सुन पसलमध्ये एक हो। त्यहाँ सुनभन्दा चाँदीका गहना र भाँडाकुँडा बढी छन्।
तर, सुनको मूल्य बढ्दै जाँदा कारोबार भने खुम्चिएको शाक्य बताउँछन्। ग्राहकको क्रयशक्ति घट्दा बजारमा उत्साह नरहेको उनको अनुभव छ। अहिले छोरा पनि सुन व्यवसायमा सक्रिय भएपछि उनलाई केही आराम मिलेको छ।
आज न्युरोड र असनका सुन पसलमा विगतको जस्तो चहलपहल छैन। २०२४ सम्म सुनचाँदीको बजार स्वाभाविक रूपमा बढेको भए पनि त्यसपछि मूल्य अस्वाभाविक रूपमा बढेको उनको बुझाइ छ। चीन र अमेरिकाबीचको व्यापार तनाव, युद्ध र ठूला शक्तिराष्ट्रबीचको प्रतिस्पर्धाको असर सुनको मूल्यमा परेको उनी बताउँछन्।
‘आफ्नो क्रयशक्ति बचाउन मानिसले दीर्घकालीन स्रोत हेर्छ तर अहिले कारोबार नै नभएको देख्दा दुःख लाग्छ। ग्राहक सुन किन्न होइन, बेच्न आउँछन्। आफ्ना ग्राहकको सुन किन्यो तर बेच्ने कहाँ?’ उनी प्रश्न गर्छन्।
उनलाई चिन्ता केवल आफ्नो पसलको होइन, पुस्तौंदेखि चलिआएको एउटा व्यवसायको भविष्यको पनि छ। उनका अनुसार सुनचाँदी व्यवसाय ‘लो भोल्युम, हाई भ्यालु’ व्यवसाय हो। त्यसैले स्पष्ट कानुनी संरचना, सुरक्षा, सीप विकास र नेपाली कालिगडको पुनरुत्थान आवश्यक छ।
ठूला देशले सुनलाई रणनीतिक सम्पत्तिका रूपमा सञ्चय गरिरहेका बेला नेपालमा भने सुनचाँदी व्यवसाय नै संकटमा पर्न थालेको उनको चिन्ता छ। आफ्नो व्यावसायिक यात्रामा तेजरत्नले सुनको मूल्य २०० रुपैयाँबाट तीन लाख रुपैयाँभन्दा माथि पुगेको देखे। प्रविधि बदलियो, बजार बदलियो, कालिगडी बदलियो, आयात प्रणाली बदलियो र सुनचाँदी व्यवसाय पनि परम्परागत पेसाबाट संस्थागत व्यवसायमा रूपान्तरण भयो।

तर, उनको स्मृतिमा सबैभन्दा मूल्यवान कुरा सुनको मूल्य होइन, पाँच रुपैयाँको पहिलो व्यापार हो। त्यो पाँच रुपैयाँले उनलाई व्यापारको अर्थ सिकायो। त्यसपछि ६ दशकभन्दा लामो यात्रामा उनले सुनमा केवल धातुको चमक देखेनन्, त्यसमा परिवार, संस्कृति, सीप, बचत, प्रतिष्ठा र अर्थतन्त्रको प्रतिबिम्ब देखे।
तेजमिनको यात्राजस्तै तेजरत्न शाक्यको जीवन पनि नेपाली सुनचाँदी व्यवसायको रूपान्तरणसँग गाँसिएको छ। एउटा पुस्ताले हातको सीपबाट सुरु गरेको यात्रा अर्को पुस्तामा संस्थागत व्यवसाय बनेको छ। त्यो यात्रामा सुन गहना बन्ने धातुमा मात्र सीमित रहेन, यो नेपाली समाजको आर्थिक र सामाजिक जीवनको एउटा ऐना बन्यो।











