सेयर बजारमा ४ अर्ब १९ करोडको किनबेच, १९२ कम्पनीको मूल्य घट्दा तीनमा नेगेटिभ सर्किट



बिजमाण्डू
२०८३ भदौ २४ गते १५:२७ | Sep 9, 2026
सेयर बजारमा ४ अर्ब १९ करोडको किनबेच, १९२ कम्पनीको मूल्य घट्दा तीनमा नेगेटिभ सर्किट


काठमाडौं। लगातार ४ दिन बढेको सेयर बजार आज घटेको छ। नेप्से परिसूचक बुधबार १५.४३ अंक घटेर २५४५.४० विन्दुमा आएको हो।

Vigo
GBIME
Tata

कारोबारमा आएका सबै उपसमूहले सेयर बजार घटाएका हुन्। विकास बैंकको सूचक सबैभन्दा धेरै २.३७ प्रतिशतले घटेको छ। यस्तै, निर्जीवन बीमा कम्पनीको सूचक १.५७ प्रतिशत ओरालो लागेको छ।

बजारमा १९२ कम्पनीको सेयर मूल्य घटेको छ। तीन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। इमर्जीङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै १५ प्रतिशतले गुमाएका छन्।

लकइन अवधि सकिएको डेढ वर्षपछि संस्थापक सेयर कारोबारमा आएका कारण इमर्जिङ नेपालको सेलिङ प्रेसरले मूल्यमा नेगेटिभ सर्किट लागेको हो।

सिन्धु विकास बैंक र जानकी फाइनान्सको वित्तीय स्थिति नाजुक छ। यी दुई संस्थालाई मुक्तिनाथ विकास बैंकले प्राप्ति गर्ने भएको छ। बैंकले दुई संस्था आफूमा गाभ्न प्रारम्भिक सम्झौता गरिसकेको छ। त्यहीभएर पछिल्लो समय दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागिरहेको छ।

बजारमा सेयरमूल्य बढेका ७४ कम्पनीका लगानीकर्ताले कमाएका छन्। अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। बुधबार ४ अर्ब १९ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। ११ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।

रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै ४२ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, सेन्ट्रल फाइनान्सको १७ करोड ११ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १६ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।