काठमाडौं। सेयर बजार सुधारका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)अध्यक्ष डा. गोपाल भट्टले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष १० बुँदे सुझाव पेस गरेका छन्।
सेबोन अध्यक्ष डा. भट्टले सोमबार अपराह्न अर्थ मन्त्रालय पुगेर १० बुँदे सुझाव बुझाएका हुन्। अध्यक्ष भट्टले आफूसँगै उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेललाई पनि अर्थ मन्त्रालय लगेका थिए।
‘अर्थमन्त्रीज्यू अहिले अर्थतन्त्रलाई गतिशील बनाउने प्याकेज ल्याउने तयारीमा हुनुहुन्छ। उहाँले पुँजीबजार सुदृढीकरण तथा सेयर मार्केट सुधारको योजना पनि ल्याउन लाग्नुभएको छ। त्यसकै लागि सेबोन अध्यक्षलाई के कस्ता योजना चाहिन्छ भनेर बोलाइएको थियो। सेबोन अध्यक्षले १० बुँदे सुझाव दिनुभएको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘सेबोन अध्यक्षले पेस गरेका बुँदा अध्ययन गरेर मन्त्रीज्यूले प्याकेज ल्याउनु हुनेछ।’
अर्थतन्त्र पुनरुउत्थानको प्याकेज ल्याउने तयारी गरिरहेका अर्थमन्त्री वाग्लेले सोमबार नै नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल र डेपुटी गभर्नर किरण पण्डितसँग पनि छलफल गरेका छन्।
मन्त्री वाग्लेले राष्ट्र बैंक र सेबोनको नेतृत्वलाई पुँजी बजार विकास र सुधारका लागि कानुनी उपाय पेस गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
मन्त्री वाग्लेले भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित व्यवसायीहरुका लागि भन्सार छुटदेखि ऋण पुनर्संरचनाको प्याकेज ल्याइसकेका छन्।











