काठमाडौं । टाइम्स बिजनेस प्रालिले बुटवलमा कियाको आधिकारिक डिलरका रूपमा सेवा सुरु गरेको छ। नेपालका लागि कियाको आधिकारिक वितरक कन्टिनेन्टल इन्टरप्राइजेजसँगको सहकार्यमा कम्पनीले भदौ १८, २०८३ देखि कालिकानगरस्थित शोरुमबाट औपचारिक रूपमा सेवा सुरु गरेको हो।
कालिकानगरस्थित शोरुमले बुटवलसँगै पाल्पा, रामनगर तथा रुपन्देही आसपासका प्रमुख सहरका ग्राहकलाई सेवा प्रदान गर्नेछ। शोरुममा हाल कियाका सेल्टोस, के३ र सोनेट उपलब्ध छन्।
कम्पनीले आगामी दिनमा सिरोस ईभी, सात सिट क्षमताको क्लाभिस ईभी तथा सोरेन्टो प्लग–इन हाइब्रिडसमेत उपलब्ध गराउने तयारी गरेको छ।
टाइम्स बिजनेसले गाडी बिक्रीमा मात्र सीमित नरही बिक्रीपछिको सेवा, स्पेयर पार्ट्स, चार्जिङ, पुरानो गाडी साट्ने सुविधा, टेस्ट ड्राइभ, बैंकिङ तथा बीमासम्बन्धी सेवा एकै स्थानबाट उपलब्ध गराउने जनाएको छ। यसबाट ग्राहकले गाडी खरिददेखि बिक्रीपछिका आवश्यक सम्पूर्ण सेवासम्म सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले विश्वास लिएको छ।
कम्पनीका प्रमुख संचालक दीपकराज गिरीले भने, ‘कियाका नवीन प्रविधियुक्त तथा विश्वस्तरीय गाडीलाई सरल र सहज रूपमा ग्राहकसम्म पुर्याउनु हाम्रो मुख्य उद्देश्य हो। गाडी बिक्रीसँगै सर्भिस, स्पेयर पार्ट्स, चार्जिङ, एक्सचेन्ज र फाइनान्सलगायत सम्पूर्ण सेवा एकै स्थानबाट उपलब्ध गराएर ग्राहकलाई दीर्घकालीन रूपमा सन्तुष्ट बनाउने हाम्रो प्रतिबद्धता छ।’
अटोमोबाइल व्यवसायमा लामो अनुभव हासिल गरेका गिरी सन् २०१९ देखि कन्टिनेन्टल इन्टरप्राइजेजसँग आबद्ध छन्। काठमाडौं उपत्यकाका लागि इसुजुको विशेष आधिकारिक डिलरका रूपमा उत्कृष्ट बिक्री गर्दै आएको टाइम्स बिजनेसले अब यही अनुभवलाई उपयोग गर्दै कियाका विश्वस्तरीय गाडी र भरपर्दो सेवा बुटवल तथा आसपासका ग्राहकसम्म पुर्याउने लक्ष्य राखेको जनाएको छ।
आकर्षक र साहसी डिजाइन, चुस्त संचालन अनुभव तथा नयाँ पुस्ताको रोजाइअनुकूल विशेषता कियाका प्रमुख आकर्षण रहेको जनाइएको छ। विशेषगरी फरक पहिचान, गतिशील ड्राइभिङ अनुभव र मूल्यअनुसार उपयोगी सुविधा खोज्ने ग्राहकका लागि कियाका गाडी उपयुक्त विकल्प बन्ने कम्पनीले जनाएको छ।
डिलर संचालनको अवसर पारेर टाइम्स बिजनेसले चाँडै नै दसैँलक्षित विशेष योजना सार्वजनिक गर्ने तयारीसमेत गरेको छ। कम्पनीले बुटवल तथा आसपासका ग्राहकलाई कालिकानगरस्थित शोरुम भ्रमण गरी कियाका गाडी अवलोकन तथा टेस्ट ड्राइभ गर्न आग्रह गरेको छ।











