काठमाडौं। उपत्यकाको रात्रीकालीन अर्थतन्त्र चलायमान बनाउन बस सेवा विस्तार गर्न सिफारिस गरिएको छ।
काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित समितिले रात्रीकालीन बस सेवा सञ्चालनका लागि ४ वटा नयाँ रुट प्रस्ताव गरेको छ।
काठमाडौं महानगरका साथै ललितपुर महानगर तथा बुढानीलकण्ठ, चन्द्रागिरि, सूर्यविनायक, मध्यपुर थिमि, गोदावरी र कीर्तिपुर नगरपालिकाको सक्रिय सहभागितामा रात्रीकालीन बस सेवा विस्तार गरिए उपत्यकाको रात्रीकालीन अर्थतन्त्र चलायमान हुने र निजी सवारीमाथिको निर्भरता घट्ने प्रतिवेदनले समितिले बताएको छ।
काठमाडौं महानगरले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि थानकोट-एयरपोर्ट र बुढानीलकण्ठ-लगनखेल रुटमा रात्रीकालीन बस सेवा सञ्चालन गर्दै आएको छ।
समितिका अनुसार तीन महिनामा ६६ हजार ९५२ यात्रुले सेवा लिएका छन्। एउटा बसले दैनिक औसत १४२ यात्रुलाई सेवा दिएको छ भने त्यसबापत ३ हजार १३४ रुपैयाँ आम्दानी भएको छ। जबकि एउटा बस सञ्चालन गर्न दैनिक ४ हजार ८१४ रुपैयाँ खर्च हुने गरेको छ।
रात्रीबस सञ्चालनमा करिब ३५ प्रतिशत अर्थात दैनिक प्रति बस १ हजार ६९० रुपैयाँ घाटा भएको छ। समितिले यो घाटा पूर्तिका लागि लामो दूरीमा बस सञ्चालन गर्न र रुट थप्न सुझाव दिएको छ। साझा यातायातमा छोटो दूरीको भाडा २० रुपैयाँ, मध्यम दूरीको २५ रुपैयाँ र लामो दूरीको ३० रुपैयाँ छ।
थानकोट-एयरपोर्ट रुटमा ५१.५५ प्रतिशत र बुढानीलकण्ठ-लगनखेल रुटमा ४८.४५ प्रतिशत यात्रु भार देखिएको समितिले जनाएको छ।
राती सेवा लिनेमध्ये ४७ प्रतिशतले छोटो दूरी अर्थात् ५ किलोमिटरभित्र, ३२ प्रतिशतले मध्यम दूरी र २१ प्रतिशतले लामो दूरीको यात्रा गरेका छन्।
समितिले गोदावरी-बुढानीलकण्ठ, चक्रपथ, जगाती-ठमेल र कीर्तिपुर-आरएनएसी रुटमा सेवा विस्तार गर्न भनेको हो। यी रुटले उपत्यकाका प्रमुख अस्पताल, व्यावसायिक केन्द्र र नाकालाई जोड्ने भएकाले यात्रुको संख्या बढ्ने समितिको बुझाइ छ।
यस्तै हालको बस संख्यालाई ७ बाट २८ पुर्याउन भनेको छ। समितिले रात्रीकालीन सेवालाई आर्थिक रूपमा दिगो बनाउन तीनवटा विधि प्रस्ताव गरेको छ।
समितिले रात्रिकालीन समयमा कर्मचारीको अतिरिक्त भत्ता र प्राविधिक खर्च बढी हुने भएकाले हालको भाडामा १२ रुपैयाँ थप गर्न, कुल घाटाको ५० प्रतिशत रकम ८ वटा नगरपालिकाले समान रूपमा व्यहोर्ने र बाँकी ५० प्रतिशत नगरपालिकाको आकार, जनघनत्व र सञ्चालन दूरीका आधारमा बाँडफाँड गर्न तथा यात्रीहरुमा विश्वास र भरोसा बढाउने कार्यक्रम गरेर लागत जुटाउन सुझाव दिएको हो।
समितिमा महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत विपुल तिवारी, सिभिल इञ्जिनियर आँचल आचार्य, साझा यातायातका सहायक प्रबन्धक इञ्जिनियर जनक रिसाल र यातायात व्यवस्थापन अधिकृत शंकर बस्याल सदस्य थिए।











