काठमाडौं। नेपाल-चीन व्यापारको मुख्य नाका रसुवागढी भदौ १० गतेको विनाशकारी बाढीले कोल्याप्स भएपछि यसको असर वित्तीय क्षेत्रमा समेत पर्ने देखिएको छ।
मुख्य नाका नै ध्वस्त भएका कारण चीनबाट सामान ल्याउन अब प्रतीतपत्र (एलसी) खोल्न कम हुन थालेको बैंकरहरुले बताएका छन्।
‘नाकाका साथै सडक नै पूरै ध्वस्त भएका कारण रसुवागढी हुँदै चीनबाट सामान ल्याउन सम्भव छैन। त्यसैले चीनबाट हुने आयात त प्रभावित हुन्छ नै। मुख्य नाका नै नभएकाले अहिले एलसी खोल्ने क्रम घटेको छ। यो भनेको हाम्रो व्यवसाय खुम्चिनु हो,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)ले भने।
पर्वलाई लक्षित गरी साउनको अन्तिम सातादेखि एलसी खोल्ने क्रम बढेकामा भदौ १० गतेको बाढीले रसुवागढी नाका ध्वस्त हुनुका साथै पृथ्वी राजमार्ग पनि बन्द भएका कारण व्यवसाय खस्किएको बैंकरहरुको भनाइ छ।
व्यवसायीहरुले नजिकिएको पर्वलाई लक्षित गरी रसुवागढी नाकाबाट आयात बढाएका थिए। तर, भदौ १० गतेको बाढीले ठूलो क्षति गर्यो। नाकाका पूर्वाधार सबै बगाउनुका साथै जाँचपासका लागि आइपुगेका गाडीहरु नै बगायो। आफ्ना सामान बोकेका २०० भन्दा बढी कन्टेनरका साथै ७०० भन्दा बढी नयाँ गाडी बाढीले बगाएको व्यवसायीले बताएका छन्।
दसैंतिहारलाई लक्षित गरी चीनबाट लत्ताकपडा, जुत्ताचप्पल, विद्युतीय सामग्री, विद्युतीय गाडी लगायत सामान आयात गर्ने मुख्य समयमै मुख्य नाका र त्यहाँ पुग्ने सडक बाढीले तहसनहस भएको छ। जसका कारण व्यवसायीले अब केरुङतर्फ अड्किएका सामान रुट परिवर्तन गरेर कोरला हुँदै ल्याउने पहल थालेका छन्।
‘ढुवानीको क्रममा बाटोमा रहेको सामान वैकल्पिक भन्सारबाट ल्याउन सकिन्छ। तर, कोरलाबाट त्यति धेरै सामान नभित्रिएको अवस्थामा रसुवा नाका बन्द हुँदा स्वाभाविक रुपमा हामीलाई असर पर्न थालेको छ,’ ती सीइओले भने।
रसुवा नाका तहसनहसपछि सरकार नै अप्ठेरोमा परेका बेला छिमेकी मुलुक चीनले तातोपानी नाका औपचारिकरुपमै बन्द गरिदिएको छ। चीनले नेपाली भन्सार प्रशासनलाई इमेल लेखेर अर्को सूचना नभएसम्मका लागि तातोपानी नाका बन्दको घोषणा गरेपछि नेपाली व्यवसायीले ‘घाउमा नुन छर्केको’ महसुस गरेका छन्।

व्यवसायीहरुका लागि तातोपानी नाका कोरलाभन्दा धेरै सहज मानिन्छ। २०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त हुनुअघि चीनसँगको व्यापार तातोपानी नाकामा नै निर्भर थियो। रसुवागढी नाका ध्वस्त भएपछि तातोपानी नाकातर्फबाट सामान ल्याउन पहल गरिरहँदा छिमेकी देशको निर्णयले चीनबाट हुने आयात उल्लेख्यरुपमा घट्ने व्यवसायीहरुले बताएका छन्।
उपभोग्य वस्तुका लागि हरेक वर्ष पहिलो त्रैमासमा धेरै खर्च हुन्छ। पर्वका बेला धेरै खपत हुने भएकैले खासगरी भदौ र असोजमा एलसी खुल्ने क्रम ह्वात्तै बढ्ने गरेको थियो।
रसुवा नाकाबाट कुल वार्षिक आयातको करिब ३६ प्रतिशत सामान वर्षको पहिलो त्रैमासमा भित्रिने गरेको थियो। गत आर्थिक वर्ष सुरु नहुँदै सीमा नाकाको पुल बाढीले बगाएका कारण ६ महिनासम्म आयात निर्यात ठप्प भएको थियो। आर्थिक वर्ष २०८१/८२ पहिलो तीन महिनामा भने रसुवा नाकाबाट १६ अर्ब ७१ करोड रुपैयाँको सामान भित्रिएको तथ्यांक छ।
तर, नसोचेको क्षति भएका कारण रसुवा नाका अब कहिले खुल्छ भन्ने निश्चित छैन। तातोपानी नाका चीनले बन्द गरेका कारण व्यवसायीसँग अब कोरला नाकाको विकल्प छैन जहाँबाट सामान ल्याउन सहज छैन।

सामान लोड भएका कन्टेनर कोरला नाकातर्फ डाइभर्ट गरेर ल्याउन एक त लामो समय लाग्छ भने अर्को ट्रान्सपोर्ट शुल्क धेरै तिर्नुपर्छ। दसैंका लागि नै भनेर मगाउँदा अब ढिला भइसकेको छ। व्यवसायीहरुका अनुसार अब मगाएको सामान दसैं अगाडि ल्याउन बाटोका कारण सम्भव हुँदैन।
कोरला नाकाबाट ल्याउन लागत धेरै पर्ने व्यवसायीहरुको भनाइ छ। चीनबाट सामान ल्याउने मुख्य नाका चाडपर्वको मुखमा तहसनहस हुँदा आफूहरु समस्यामा परेको व्यवसायीहरुले बताएका छन्।
‘एक त सामान बोकेका हाम्रा धेरै कन्टेनर बाढीले बगायो। व्यवसायीले ठूलो लगानी गरेर ल्याएको धेरै सामान बाढीले बगाएको छ। अर्को नाका ध्वस्त भएपछि हाम्रो धेरै सामान केरुङतर्फ अड्किएको छ,’ आरबी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष पर्शुराम दाहालले भने, ‘अब उता अड्किएका सामान डाइभर्ट गरेर ल्याउनुपर्ने हुन्छ जुन सहज छैन। यसपालि हामीले अब धेरै सामान ल्याउन सक्ने अवस्था हुँदैन।’
व्यवसायीले बैंकमा निश्चित मार्जिन राखेर वा ऋण लिएर एलसी खोल्छन्। उनीहरूले सामान नेपाल भित्रिएर बजारमा बिक्री भएपछि बैंकको कर्जा तिर्न सक्छन्। सामान समयमा आउन नसक्दा नगद प्रवाह प्रभावित हुन्छ।










