सांग्रिला मोटर्सले लिपमोटर बी१० कोरला नाकाबाट ल्याउन थाल्यो, ‘डेलिभरी छिट्टै सुरु हुनेछ’



बिजमाण्डू
२०८३ भदौ १९ गते १९:४८ | Sep 4, 2026
सांग्रिला मोटर्सले लिपमोटर बी१० कोरला नाकाबाट ल्याउन थाल्यो, ‘डेलिभरी छिट्टै सुरु हुनेछ’


काठमाडौं। भदौ १० गतेको बाढीले रसुवागढी नाका ध्वस्त भएपछि अटो व्यवसायीले चिनियाँ विद्युतीय गाडी कोरला नाकाबाट ल्याउन थालेका छन्।

Vigo
GBIME
Tata

लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर बी१० कोरला नाकाबाट भित्र्याउन सुरु गरिसकेको बताएको छ।

‘ग्राहकलाई तोकिएकै समयमा गाडी उपलब्ध गराउन बी१० कोरला नाकाबाट भित्र्याउन सुरु गरिएको छ,’ सांग्रिला मोटर्सले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यससँगै ग्राहकलाई गाडी डेलिभरी गर्ने कार्य छिट्टै सुरु हुनेछ।’

सांग्रिला मोटर्सले साउन २६ देखि ३१ सम्म भएको नाइमा मोबिलिटी एक्स्पो र भदौ ९ देखि १४ सम्म भएको नाडा अटो शोमा लिपमोटर बी१० गाडी राखेको थियो। गाडी राम्रो संख्यामा बुकिङ भएकाले कोरला नाकाबाट ल्याउन सुरु गरेको कम्पनीले बताएको छ।

व्यवसायीले सामान्य अवस्थामा रसुवागढी नाका हुँदै गाडी आयात गर्ने गरेका थिए। तर, बाढीले रसुवागढी नाका तहसनहस भएपछि व्यवसायीहरु कोरला नाकातर्फ लागेका हुन्।