काठमाडौं। २० मेगावाट क्षमताको लाङटाङ भोटेकोशी जलविद्युत आयोजनाबाट उद्धार टोली फर्किएको छ। बाढीले डुबानमा परेको आयोजनामा केही पनि नभेटिएको भन्दै शुक्रबार उद्धार टोली फर्किएको हो।
‘त्यहाँ सबै ठाउँमा खोज्दा केही नभेटिएपछि उद्धार टोली फर्किएको हो,’ सशस्त्र प्रहरीका डीआइजी नेत्रबहादुर कार्कीले भने।
आयोजनाका प्रवर्द्धक विजयमोहन भट्टराईले पनि आयोजनाको सुरुङमा पसेर हेर्दा केही पनि नभेटिएपछि उद्धार टोली फर्किएको बताए। ‘आज सेना र सशस्त्र प्रहरीको टिम भित्र गएको थियो। त्यहाँ उनीहरुले लाइट बालेर हेर्दा केही नभेटिएपछि फर्किएको भन्ने छ,’ उनले भने।
भदौ १० गतेको बाढीले आयोजनाका ३९ कामदार सम्पर्कविहीन भएकामा १९ जनाको उद्धार गरिएको थियो। २ जनाको बिहीबार शव भेटिएको थियो।










