बैंकले ऋण दिएका ९ मध्ये चार विद्युत आयोजनामा मात्र क्षति, ऋण लगानी कुनमा कति?



बिजमाण्डू
२०८३ भदौ १६ गते १५:३९ | Sep 1, 2026
बैंकले ऋण दिएका ९ मध्ये चार विद्युत आयोजनामा मात्र क्षति, ऋण लगानी कुनमा कति?


काठमाडौं। बैंकले ऋण लगानी गरेका रसुवा, नुवाकोट र धादिङका ९ जलविद्युत परियोजनामध्ये चार वटामा मात्र क्षति पुगेको छ। नेपाल बैंकर्स संघका अनुसार ५ मेगावाटको मैलुङ खोला, २० मेगावाटको लाङटाङ खोला, १११ मेगावाटको रसुवागढी र ३७ मेगावाटको माथिल्लो त्रिशुली-३ ‘बी’ परियोजनामा क्षति पुगेको हो।

Vigo
GBIME
Tata

नुवाकोट र धादिङमा बैंकले लगानी गरेका अन्य जलविदयुत परियोजनामा क्षति भएको छैन। संघका अनुसार सुपर त्रिशूली, माथिल्लो मैलुङ ‘ए’, साला सुङ्गी, हिरारत्न र प्राइम हाइड्रोमा क्षति नभएको हो। यी परियोजनामा केही नभए पनि बाढीले ट्रान्समिसन लाइन बगाउँदा साला सुङ्गीको विद्युत बिक्री भने रोकिएको छ।

संघका अनुसार सरकार, नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले लगानी गरेका परियोजना भने बाढीले बढी प्रभावित छन्। निजी क्षेत्रका बैंकले लगानी गरेका परियोजनामा ठूलो क्षति देखिएको छैन।

क्षति भएका परियोजनामध्ये रसुवामा रहेको लाङटाङ खोला जलविद्युत आयोजनामा तीन बैंकको ऋण लगानी छ। लक्ष्मी सनराइज बैंकको अगुवाइमा सिद्धार्थ र कुमारी बैंकले परियोजनामा ऋण दिएका हुन्। बैंकका अनुसार तीन बैंकले ४ अर्ब रुपैयाँ ऋण दिएका छन्।

त्रिशूली जलविद्युत कम्पनीले निर्माण गरिरहेको माथिल्लो त्रिशूली-३ ‘बी’ मा तीन वटा बैंक तथा वित्तीय संस्थाले ऋण दिएका छन्। यसमा बैंकहरुले कुल ५ अर्ब ७६ करोड रुपैयाँ लगानी सम्झौता गरेका छन्।

नबिल बैंकको अगुवाइमा जलविद्युत लगानी तथा विकास कम्पनी र नेपाल बैंकले ऋण लगानी सम्झौता गरेका हुन्। यो परियोजनामा विद्युत प्राधिकरण र नेपाल टेलिकमले २ अर्ब ४६ करोड रुपैयाँ सेयर लगानी गरेका छन्।

क्षति पुगेको अर्को परियोजना हो- १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर। यो परियोजनामा पोहोर बाढीले क्षति पुर्‍याएपछि नबिल र कुमारी बैंकले आपतकालीन ऋण लगानी गरेका थिए। मुख्य प्रवर्धक विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत आयोजना हो। रसुवागढीमा पोहोर असार २४ गते आएको बाढीले पनि क्षति पुर्‍याएको थियो।

त्यसको पुनर्निर्माण तथा मर्मतका लागि कुमारी बैंकले २ अर्ब र नबिल बैंकले ४९ करोड ८० लाख रुपैयाँ ऋण दिएका थिए। अहिलेको बाढीले यो परियोजनालाई पुन: क्षति पुर्‍याएको छ।

बाढीले क्षति पुगेको मैलुङ खोला जलविद्युत आयोजनामा एनएमबि बैंकले मुख्य लगानी गरेको छ। सहवित्तीयकरणमार्फत दिइएको ऋणको अर्को सदस्य ग्लोबल आइएमई बैंक हो। दुई बैंकले २७ करोड ऋण दिएका छन्।

संघका अनुसार बैंकहरुले लगानी गरेकोमध्ये साढे ७ अर्ब रुपैयाँ प्रभावित भएको छ। जलविद्युत बाहेक बैंकहरुले रसुवा, नुवाकोट र धादिङका शाखामार्फत सर्वसाधारणलाई दिएको साढे दुई अर्ब रुपैयाँ ऋणका घर/व्यवसाय बाढीमा परेका छन्। यो समेत गर्दा बैंकहरुको कुल १० अर्ब रुपैयाँ ऋण लगानी प्रभावित भएको छ।

बाँकी जलविद्युत परियोजनामा क्षति पुगेको छैन। ब्लु इनर्जी लिमिटेडले १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा नबिल, ग्लोबल आइएमई, हिमालयन, कुमारी, एभरेष्ट र नेपाल एसबीआई बैंकले ऋण लगानी गरेका छन्। परियोजनामा १२ अर्ब १८ करोड रुपैयाँ ऋण लगानी सम्झौता भएको छ।

यद्यपी सबै ऋण प्रयोग भइसकेको छैन। आयोजनाको कुल अनुमानित लागत १६ अर्ब २४ करोड रुपैयाँ छ। यसमा बैंकहरुले ७५ प्रतिशत ऋण दिएका हुन्। यो आयोजनाको निर्माण एक वर्षमा सकिंदैछ।

इनर्जी इन्जिनियरिङ लिमिटेडले ६.४२ मेगावाट क्षमताको माथिल्लो मैलुङ ‘ए’ आयोजना निर्माण गरिरहेको छ। यो रसुवा र धादिङमा पर्छ। यसमा नेपाल बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट मेगा र हिमालयन बैंकले सहवित्तीयकरणमा ऋण दिएका छन्।

धेरै अगाडि निर्माण थालिएको यो परियोजना कहिले भुकम्प, कहिले बाढीलगायत कारण प्रभावित हुँदै आएको छ। यसमा बैंकहरुले ६६ करोड ९४ लाख रुपैयाँ ऋण दिने सम्झौता गरेका थिए। यो परियोजनामा यसपालि क्षति भएको छैन।

यसबाहेक प्राइम हाइड्रोपावर कम्पनीले ५१२ किलोवाट क्षमताको परियोजना धादिङमा निर्माण गरेको छ। यसमा प्रभु बैंकले एकल लगानी गरेको छ। करिब १० करोड लागतको परियोजनामा बैंकले ७ करोड हाराहारी ऋण दिएको छ। यसमा पनि क्षति छैन।

हिरारत्न हाइड्रोपावर लिमिटेड नुवाकोटको तादी खोलामा जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनी हो। तादी खोलामा ५ मेगावाटका मुख्य र ३ मेगावाटका क्यासकेड आयोजना निर्माण प्रक्रियामा छन्। यसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋण लगानी गरेको छ। बाढीग्रस्त क्षेत्रमा परे पनि यसमा क्षति भएको छैन।

७८ मेगावाटको साला सुङ्गी हाइड्रोपावरबाट उत्पादित बिजुली पठाउने ट्रान्समिसन लाइन ढलेका कारण अहिले वितरण रोकिएको छ। नेपाल इन्नेभेष्टमेन्ट मेगा बैंकको अगुवाइमा कुमारी बैंक र सिटिजन्स बैंकले ऋण लगानी गरेको यो परियोजनामा क्षति भएको छैन। यसमा तीन बैंकले ९ अर्ब ५३ करोड रुपैयाँ ऋण दिने सम्झौता गरेका छन्।