बाढीले सेयर बजारमा पहिरो गएपछि सेबोन सशंकित, कारोबारमा विशेष निगरानी गर्न नेप्सेलाई पत्र



बिजमाण्डू
२०८३ भदौ १५ गते १९:४८ | Aug 31, 2026
बाढीले सेयर बजारमा पहिरो गएपछि सेबोन सशंकित, कारोबारमा विशेष निगरानी गर्न नेप्सेलाई पत्र


काठमाडौं। भोटेकोशीको बाढीले सेयर बजारमा पहिरो गएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेन्जलाई पाँच बुँदे निर्देशन दिएको छ।

Vigo
GBIME
Tata

सेबोनले सूचीकृत कम्पनीहरूको धितोपत्र कारोबार, बजार पारदर्शिता तथा लगानीकर्ताको हित संरक्षण सम्बन्धमा विशेष सतर्कता अपनाउन आवश्यक देखिएको भन्दै सेबोनले सोमबार नेप्सेलाई पाँच बुँदे निर्देशन दिएको हो।

सेबोनले नेप्सेसँग प्राकृतिक विपद्‍बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने सूचीकृत कम्पनीको विस्तृत सूची मागेको छ।

सेबोनले नेप्सेलाई प्रभावित कम्पनीहरुबाट आफ्नो आयोजना, सम्पत्ति, उत्पादन, वित्तीय अवस्था तथा व्यवसायमा परेको प्रभाव सम्बन्धी विवरण प्राप्त गरी सूचना प्रणालीमार्फत सार्वजनिक गराउन भनेको छ।

आयोजनामा भएको प्रारम्भिक भौतिक क्षति, विद्युत उत्पादन बन्द वा प्रभावित भएको अवस्था, अनुमानित उत्पादन क्षमता प्रभावित भएको परिमाण, मानव संशाधनमा भएको क्षति सम्वन्धी विवरण, प्रसारण तथा वितरण पूर्वाधारमा परेको प्रभाव, बीमा भएको वा नभएको अवस्था, बीमा कम्पनीलाई दाबी गरिएको वा नगरिएको विवरण, प्रारम्भिक वित्तीय प्रभाव, आयोजना पुनः सञ्चालन हुन सक्ने अनुमानित समय, बैंक ऋण तथा ऋण सेवा क्षमतामा सम्भावित प्रभाव, कम्पनीको व्यवस्थापनले लिएको तत्काल कदम सार्वजनिक गराउन भनिएको हो।

भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीले एक दर्जनभन्दा बढी जलविद्युत आयोजना क्षतिग्रस्त भएपछि त्यसको असर सेयर बजारमा परेको छ। त्यस दिनयता तीन कारोबार दिनमा सेयर बजारमा ८० अंकको पहिरो गइसकेको छ। त्यसमा पनि क्षतिग्रस्त जलविद्युत कम्पनीको सेयर मूल्य उल्लेख्यरुपमा घटेको छ।

सोमबार नेप्सेमा ४३‍.८९ अंकको गिरावट आउँदा बाढीले क्षतिग्रस्त मैलुङखोला जलविद्युत आयोजनाको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। यस्तै रसुवागढी जलविद्युत कम्पनीका लगानीकर्कताले पनि प्रति कित्ता २२.१० रुपैयाँ गुमाएका छन्। चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि प्रति कित्ता ३६२ रुपैयाँमा झरिसकेको छ।

सेबोनले नेप्सेलाई बाढी प्रभावित कम्पनीहरूको सेयर बारोबारमा विशेष निगरानी राख्न भनेको छ। बाढी प्रभावित कम्पनीको धितोपत्र कारोबारमा विशेष निगरानी राखि अस्वाभाविक मूल्य परिवर्तन, असामान्य कारोबार परिमाण, अस्वाभाविक खरिद वा बिकी आदेश, महत्वपूर्ण सूचना सार्वजनिक हुनुअघि भएको असामान्य कारोबार र बजारको निष्पक्षता तथा पारदर्शितामा असर पार्न सक्ने अन्य गतिविधि निरन्तर अनुगमन गर्न भनेको छ।

विपद्, दुर्घटना, आगलागी, भूकम्प तथा अन्य असाधारण घटनाबाट सूचीकृत कम्पनीमा पर्ने अल्पकालीन तथा दीर्घकालीन असरलाई मध्यनजर गरी सूचना प्रवाह, कारोबार रोक्का/पुनः सञ्चालन सम्बन्धी कार्यविधि तयार गर्न पनि सेबोनले नेप्सेलाई निर्देशन दिएको छ।

सेबोनले आफूले दिएका निर्देशन कार्यान्वयन सम्बन्धमा कार्य प्रगति तथा बजारमा देखिएको असामान्य गतिविधिसम्बन्धी विवरण नियमित रूपमा उपलब्ध गराउन भनेको छ।