काठमाडौं। नाडा अटो शोको १८औं संस्करण सम्पन्न भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औं स्वर्णजयन्तीको अवसरमा आयोजित अटो शो आइतबार सम्पन्न भएको हो।
भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा भएको अटो शोमा २०० भन्दा बढी स्टलमा सवारीसाधन, अटो पार्टपुर्जा, टायर, लुब्रिकेन्ट्स, वित्तीय सेवा तथा अन्य अटोमोबाइलसम्बन्धी उत्पादन र सेवा प्रदर्शन गरिएको थियो।
प्रदर्शनीमा २५ वटा प्यासेन्जर भेहिकल, १७ वटा लाइट कमर्सियल भेहिकल, १३ वटा दुई पाङ्ग्रे ब्रान्ड तथा १५ वटा बैंक तथा वित्तिय संस्था तथाा बीमा कम्पनीको सहभागिता थियो।

दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे विभिन्न ब्रान्डले अटो शोमा नयाँ मोडल सार्वजनिक गरेका थिए। विद्युतीय सवारीसाधनको उल्लेख्य उपस्थिति रहेको प्रदर्शनीमा नयाँ पुस्ताका इभी, मोटरसाइकल र स्कुटरसँगै नेपालमै उत्पादन तथा एसेम्बल भएका सामग्रीले समेत उपभोक्ताको ध्यान ताने।

बीवाइडी, टाटा, डिपल, नामी, अवतार, जेइकु, चेरी, डङफेङलगायत ब्रान्डका नयाँ मोडल शोका आकर्षण बनेका थिए। सवारीसाधन किन्न चाहने ग्राहकलाई बैंकहरूले सस्तो ब्याजदरका अफर ल्याएका थिए।
अटो शोको बीच भदौ १० गते भोटेकोशीमा आएको बाढीले जनधनको ठूलो क्षति पुर्याएपछि अवलोकनकर्ता केही घटेका थिए। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपत्तिका कारण उत्सवको भन्दा पीडाको अनुभूति बढी भए पनि जीवन सधैँ एउटै ठाउँमा रोकिन नसक्ने बताए।
‘विपत्तिले हामीलाई कमजोर बनाउन सक्छ। तर, हाम्रो संकल्पलाई कमजोर बनाउन सक्दैन,’ उप्रेतीले भने, ‘यही विश्वासका साथ हामीले अटो शोलाई निरन्तरता दियौं। कठिन परिस्थितिका बाबजुद सबै पक्षले अटो शोप्रति देखाउनुभएको सहयोग, सद्भाव र विश्वासले हामीलाई मजबुत बनाएको छ।’
नाडा अटो शोका उत्कृष्ट पाँच स्टल
नाडा अटो शोमा विभिन्न पाँच विधामा उत्कृष्ट स्टलको उपाधि प्रदान गरिएको छ। चार पाङ्ग्रे प्यासेन्जर कारतर्फ साइमेक्स इन्कको बीवाइडीले उत्कृष्ट स्टलको उपाधि पाएको छ।

त्यस्तै दुई पाङ्ग्रे सवारीसाधनतर्फ एमएडब्लू राइड्स प्रालिको यामाहा र कमर्सियल चार पाङ्ग्रेतर्फ एनइभी नेपाल प्रालिले विक्री गर्दै आएको दिगोले उत्कृष्ट स्टलको उपाधि पाएका छन्।

त्यसैगरी अटो कम्पोनेन्टतर्फ सिप्रदी अटोपार्टस् प्रालिले राखेको मिलिलेन टायर र बैंक तथा वित्तीय संस्थातर्फ माछापुच्छ्रे बैंकको स्टल उत्कृष्ट घोषित भएका छन्।











