नेपालमै बनेको जीपीएसबाट गाडीको निगरानी, नाडामा स्वदेशी ब्याट्रीदेखि हेलमेटले ताने ग्राहक



टुना भट्ट
२०८३ भदौ १४ गते १९:०७ | Aug 30, 2026
नेपालमै बनेको जीपीएसबाट गाडीको निगरानी, नाडामा स्वदेशी ब्याट्रीदेखि हेलमेटले ताने ग्राहक


काठमाडौं। नाडा अटो शोमा विदेशी ब्राण्डका महँगा सवारीसाधनसँगै नेपालमै उत्पादन तथा विकास भएका अटोमोबाइलसम्बन्धी उत्पादन र प्रविधिले पनि अवलोकनकर्ताको ध्यान खिचेका छन्।

Vigo
GBIME
Tata

ब्याट्री, लुब्रिकेन्ट र हेलमेटदेखि जीपीएस ट्र्याकिङ तथा अटोमोटिभ सफ्टवेयरसम्मका स्वदेशी उत्पादनले नाडा अटो शोमा अवलोकनकर्ताको ध्यान खिचेका हुन्। भदौ ९ गते सुरु भएको नाडा अटो शो आइतबार सकिएको छ।

लुब्रिकेन्टमा नेपाली उत्पादन

पूर्वाञ्चल ल्यूव आयलले नाडामा विभिन्न प्रकारका लुब्रिकेन्ट प्रदर्शनीमा राखेको थियो। सवारीसाधनमा प्रयोग हुने ब्रेक आयल, हाइड्रोलिक आयल, मोबिललगायत उत्पादन राखेको कम्पनीले ग्राहकलाई कतिपय उत्पादन खरिदमा २५ प्रतिशतसम्म छुटको अफर दिएको थियो।

नेपाल ल्युब आयल लिमिटेडको गल्फ आयलले पनि नाडामा आफ्ना उत्पादन प्रदर्शन गर्‍यो।

कम्पनीले पीसीएमओ, हाइब्रिड तथा ट्रान्सफर्मर आयललगायत विभिन्न प्रकारका लुब्रिकेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ।

नेपाली हेलमेटप्रति आकर्षण

नेपालमै हेलमेट उत्पादन गर्दै आएको केपीआई हेलमेट्सले पनि नाडामा विभिन्न डिजाइनका हेलमेट राखेर अवलकोकनकर्तालाई आकर्षित गर्‍यो। केपीआई हेलमेटका डाइरेक्टर सुमन बस्यालले अवलोकन गर्नेमध्ये खासगरी युवाहरुले हेलमेट उल्लेख्य संख्यामा किनेको जानकारी दिए।

कम्पनीले युवा वर्गलाई लक्षित गर्दै आकर्षक डिजाइन र सुरक्षा मापदण्डसहित पीएच वानदेखि पीएच १३ सम्मका आईएसआई र डीएसआई सर्टिफाइड हेलमेट उत्पादन तथा बिक्री गर्दै आएको छ। बस्यालका अनुसार कम्पनीसँग एक सयभन्दा बढी डिजाइनका हेलमेट उपलब्ध छन्।

कम्पनीका हेलमेटमा नेपाली सम्पदा झल्कने ग्राफिक्स डिजाइन छ। पर्यटन प्रवर्धन तथा नेपाली उत्पादनको पहिचान स्थापित गर्ने उद्देश्यले यस्तो डिजाइन गरिएको कम्पनीले जनाएको छ। कम्पनीले ‘मुस्ताङ एडिसन’ पनि बिक्री गर्दै आएको छ।

ब्याट्रीमा पनि स्वदेशी उत्पादन

एशियन ब्याट्रीले पनि नाडा अटो शोलाई आफ्नो प्रवर्धन गर्ने मञ्चका रुपमा प्रयोग गर्‍यो। विराटनगरमा आफ्नै फ्याक्ट्री रहेको एशियन ब्याट्रीले लिड एसिड, लिथियमलगायत विभिन्न प्रकारका ब्याट्री उत्पादन गर्दै आएको कम्पनीका नेत्र दाहालले जानकारी दिए।

कम्पनीले अटोमोटिभ, दुईपाङ्ग्रे सवारी तथा इन्भर्टर ब्याट्रीसँगै डिस्टिल्ड वाटरलगायत उत्पादन पनि गर्दै आएको छ।

एसटीसी इनर्जीले पनि दुईपाङ्ग्रे इभी तथा इन्भर्टरलगायत ब्याट्री नेपालमै उत्पादन तथा बिक्री गर्दै आएको छ। स्वदेशी उत्पादनप्रति उपभोक्ताको विश्वास बढ्दै जाँदा आफ्ना उत्पादन खरिद गर्ने ग्राहकको संख्या पनि बढिरहेको कम्पनीले जनाएको छ।

जीपीएसबाट गाडीको निगरानी

नाडामा नेपालमै विकास गरिएको ट्र्याकन नेपालको जीपीएस ट्र्याकिङ तथा सवारी व्यवस्थापन प्रणालीले पनि अवलोकनकर्तालाई तान्यो।

सवारीसाधनमा जीपीएस डिभाइस जडान गरेपछि मोबाइल वा कम्प्युटर एपमार्फत गाडीको गतिविधि निगरानी गर्न सकिने कम्पनीले जनाएको छ।

ट्र्याकन नेपालले सात प्रकारका प्रडक्ट विकास गरेको छ। यसमा रियल टाइम ट्र्याकिङ, सवारीसाधनको मोनिटरिङ तथा तीन महिनासम्मको सवारी गतिविधिको जानकारी राख्न सकिने सुविधा छ।

गाडी तोकिएको क्षेत्रभन्दा बाहिर गएमा वा ओभरस्पिड भएमा मोबाइलमा तत्काल अलर्ट आउने तथा आकस्मिक अवस्थामा एपबाटै गाडीको इन्जिन बन्द गर्न सकिने सुविधा पनि यसमा रहेको कम्पनीले जनाएको छ।

व्यक्तिगत गाडी धनी, यातायात व्यवसायी, डेलिभरी कम्पनी तथा कर्पोरेट कार्यालयका लागि यो प्रविधि उपयोगी हुने कम्पनीको भनाइ छ।

अटो व्यवसायका लागि नेपाली सफ्टवेयर

एमसी मोटोकोर ईआरपीले अटोमोबाइल व्यवसाय व्यवस्थापनका लागि सफ्टवेयर विकास गरेको छ। सेल्स, बिलिङ, एकाउन्ट तथा स्टक व्यवस्थापनलगायत काम एउटै प्ल्याटफर्मबाट गर्न सकिने कम्पनीका बिजनेस डेभलपमेन्ट अफिसर विजय देवकोटाले बताए।

देवकोटाका अनुसार यो नेपालीले नेपालका लागि बनाएको पहिलो अटोमोटिभ सफ्टवेयर हो। यसले गाडी उत्पादक, मुख्य एजेन्ट तथा डिलरलाई एउटै नेटवर्कमा जोड्ने काम गर्छ।

ब्याट्री, लुब्रिकेन्ट र हेलमेटजस्ता परम्परागत अटोमोबाइल उत्पादनदेखि जीपीएस ट्र्याकिङ र अटोमोटिभ व्यवस्थापन सफ्टवेयरसम्मका उत्पादन तथा प्रविधिले स्वदेशी उत्पादनको दायरा बढेको सन्देश नाडा अटो शोले दिएको छ।