विराटनगर। झापाको बिर्तामोडमा भाटभटेनीको सुपरस्टोर पुनः सञ्चालनमा आएको छ। जेनजी आन्दोलनमा आगजनी र लुटपाटबाट ध्वस्त बिर्तामोड सुपरस्टोर आइतबारदेखि पुनः सञ्चालनमा आएको हो।
भाटभटेनीका सञ्चालक कल्याण गुरुङले आइतबार सुपरस्टोरको उद्घाटन गर्दै औपचारिक रूपमा सञ्चालन भएको जानकारी दिएका हुन्।
ग्राहकवर्गकै सदभाव, प्रेम र सहानुभूति पाएर भाटभटेनी खरानीबाट उठ्न सफल भइरहेको उनले बताए। बिर्तामोड र यस वरपरका नागरिक र विशेष गरी गृहिणीले ‘भाटभटेनी अब कहिले खुल्छ?’ भन्दै हौसला दिएको उल्लेख गरे।
यसअघि यहाँको सुपरस्टोरमा वैदिक पद्धतिअनुसार पूजा, होमयज्ञ आदि गरिएको थियो। भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले ग्राहकको रुचि र सुविधालाई ध्यानमा राख्तै सुपरस्टोरले आधुनिक र गुणस्तरीय सेवालाई विस्तार गरिएको स्पष्ट पारे।
अधिकृत पौडेलका अनुसार भदौ महिनामा बिर्तामोड, धरान र टंगाल गरी तीन स्थानको सुपरस्टोर सञ्चालन गर्ने लक्ष्यअनुसार बिर्तामोडको उद्घाटन सबैभन्दा पहिले गरिएको हो। भदौ २४ गते धरानको र असोजको पहिलो हप्तामा टंगालको सुपरस्टोर पुनःसंचालनमा ल्याइने छ।
यसपछि त्यसपछि हेटौंडा र दमकका सुपरस्टोर पुनः संचालन गर्ने तयारी भइरहेको छ। जेनजी आन्दोलनसम्म भाटभटेनीले एक वेयर हाउस र २७ वटा सुपरस्टोर गरी २८ वटा व्यावसायिक केन्द्रबाट व्यापारिक सेवा उपलब्ध गराउँदै आएको थियो।
जसमध्ये आन्दोलनकारीले ९ सुपरस्टोरमा लुटपाट मात्र गरेका थिए भने वेयरहाउससहित १२ वटा सुपरस्टोरमा लुटपाट र आगजनी गरेर त्यहाँका भौतिक संरचना ध्वस्त बनाएका थिए।











