सात मिनेटमै तहसनहसको दृश्य : बाढीको बबन्डर ‘बुलेट ट्रेनको रफ्तार’मा



ऋषिकेश दाहाल
२०८३ भदौ १३ गते ११:०२ | Aug 29, 2026
सात मिनेटमै तहसनहसको दृश्य : बाढीको बबन्डर ‘बुलेट ट्रेनको रफ्तार’मा


नेपाल-चीन व्यापारका लागि सबैभन्दा सहज मानिएको रसुवा-केरूङ नाका यतिखेर क्षतविक्षत छ। मानवीय क्षति, भौतिक संरचना तहसनहस तथा चरम आर्थिक संकटतिर धकेल्नेगरी भएको यस घटनाबाट पार पाउन सहज छैन।

Vigo
GBIME
Tata

नियमित आकस्मिकता झैँ बनेको उपल्लो भेगबाट अप्रत्यासित आउने कहरले नमेटिने घाउ दिएको छ। यो घटनाले मलाई एकपटक रसुवा हुँदै कैलाश मानसरोवरसम्मको यात्रा सम्झाएको छ।

ठीक दुई वर्ष अघि जनै पूर्णिमामा मानसरोबर र कैलाश पर्वत परिक्रमा गरेर फर्किँदै गर्दा हामीले फरक परिस्थिति सामना गर्नुपर्‍यो। मेनलाइन चीनले ‘सीजाङ’ भनेर नामकरण गरेको उपल्लो भेगमा एकाएक बालुवा मिसिएको बाढी हाम्रा लागि अप्रत्यासित थियो। हामीलाई यात्रा गराउने नेपाली टुर अपरेटर र उनीहरूसँग सहकार्य गर्ने चिनियाँ व्यावसायीका लागि पनि पहिलो पटकको अनुभव थियो त्यतिखेरको बाढी। जलवायु परिवर्तनको असर उपल्लो भेगमा कसरी भइरहेको छ हामी प्रत्यक्षदर्शी बन्न पुग्यौं।

आँखाले देखुञ्जेलसम्मको विशाल पठारमा बलियो पूर्वाधारसहितको विकासले हामीलाई जति लोभ्याइरहेको थियो, त्यति नै अत्याउन बाध्य बनाएको थियो अप्रत्यासित आएको भेलले। हामी चढेकै गाडीको पूरै पाङ्ग्रामा बालुवा भरियो।

करिब करिब गाडी भित्र बालुवा छिर्न लाग्दा पानीको बहाव घट्यो। गाडी बिग्रियो। चल्न सकेन। हामीलाई अर्को गाडीमा सिफ्ट गरेर सागा हुँदै केरूङ पुर्‍याइयो। त्यसपछि केरूङ। केरुङमा हाम्रो बसाइ लम्बियो किनकि नेपालतिर जाने बाटो एकाएक खोलाले खाइदिएको रहेछ। फेरि दुई रात केरुङमा बिताएपछि हामी नेपाल भित्रियौं। रातारात काम गरेर भत्किएको सडकमा ट्रयाक खोलेको दृश्य पनि हाम्रा लागि नौलो थियो।

गत वर्षको भोटेकोशी बाढी। फाइल तस्बिर

एक वर्ष पहिलेकै संकेत
एक वर्षअघि यही नाकामा नेपाल-चीन मैत्री पुल माटोमै मिल्यो। ढुंगा र लेदोसहितको पानीले नेपालतर्फको भन्सार यार्ड बगायो। नेपाल छिरिसकेका सयौं इभी, कन्टेनरहरू र बससमेत भोटेकोसीमा केहीबेर तैरिँदै अन्तत: माटोमै बिलाए। बगाउँदै किनार लागेका र बाढीको असर भोगेका कतिपय गाडीका अवशेषहरू एक वर्षसम्मै त्यही देखिन्थे। चीनतर्फ कम क्षति भए पनि नेपालतर्फको क्षति अपूरणीय थियो त्यतिखेर।

चीनले तीव्र गतिमा बेलीब्रिज जोड्यो। त्यो पुलले दुई देशका नागरिकलाई मात्र जोडेन, उत्तरतिरको व्यावसायिक कारोबारलाई पनि सर्लक्कै धान्ने अवस्था आयो। अरू नाकाभन्दा भरोसा योग्य नाका बन्यो केरुङ।

त्यही भरोस फेरि चकनाचुर भएको छ। एक वर्षअघि नेपालतर्फमात्रै क्षति थियो। यसपाला चिनियाँ अध्यागमनको विशाल भवन र त्यससँगै जोडिएको सम्पूर्ण संरचना पनि तहसनहस भएको छ। नेपाल र चीन दुवैतिर डरलाग्दो तथ्यांकमा मानिसहरूले ज्यान गुमाएका छन्। नेपाली, चिनियाँ, भारतीयसहित पश्चिमा मुलुकका नागरिक पनि प्रकृतिको कहरमा सिकार भएका छन्।

नेपालतर्फ सडकमात्र नामेट भएको छैन, अब खोल्ने ट्रयाकको रेखांकन समेत हुने स्थिति छैन। नेपाललाई केरुङ हुँदै सिजाङबाट मेनलाइन चीन जोड्ने बाटोले अब लामो समयका लागि पूर्णविराम लिएको छ।

यसपटकको बाढी।

चिनियाँ विज्ञ भन्छन् : सात मिनेटमै बबन्डर
जलवायु परिवर्तनका कारण हिमाली भेगले भोगिरहेको प्राकृतिक प्रकोपको यो डरलाग्दो तस्बिरले हामीलाई नमिठोगरी घोचिरहने छ। हामीले भौतिक संरचना, आर्थिक गतिविधिभन्दा पनि डरलाग्दो गरी मानवीय क्षति बेहोरेका छौं। त्यसैले पनि प्रश्न उठ्छ एकाएक किन भइरहेको छ प्रकृतिको यस्तो ताण्डव?

विश्वको ध्यान खिचिरहेको यही प्रकोपको सन्दर्भमा मैले एकजना चिनियाँ प्राध्यापकसँग केही प्रश्न गरेको थिएँ।
मानवीय क्षति बेहोर्नेगरी प्रकोपले हामीलाई कसरी लपेट्यो? उनले मेरा जिज्ञासालाई समाधान गर्ने चिनियाँ एरो जियोफिजिकल सर्भे एन्ड रिमोट सेन्सिङ सेन्टरका वरिष्ठ इन्जिनियर गुओ जाओचेङले गरेको विश्लेषणसम्म पुर्‍याइन्। जाओचेङका अनुसार उच्च हिमाली क्षेत्रको हिमपहिरोबाट सुरु भइ शृंखलाबद्ध प्रक्रियाको परिणाम थियो यो सबै परिणाम।

रिमोट-सेन्सिङ विज्ञ जाओचेङले ७ मिनेटकै समयअन्तरमा विध्वंसले आकार लिएको देखिएको जनाएका छन्। ‘नेपालतिरबाट खसेको हिमपहिरोले तीव्र गतिमा लेदोको बहाव गराउँदै ७ मिनेटभित्रै केरुङ नाकामा ठोक्किएको थियो,’ उनले भनेका छन्।
नेपाल र चीनबीच दुई घन्टा १५ मिनेटको समयान्तर छ।

बिहान ८:३७ बजे पहिरो गएको युएसजीएसको सेन्सरले रेकर्ड गरेको छ। त्यसको ७ मिनेटपछि नै केरुङको अध्यागमन पुगेको त्यहाँको सीसीटिभी क्यामराले देखाएको छ। यस वितण्डाले सुरुमा केरुङ काउन्टीको इमिग्रेसनलाई एकै लपेटोमा तहसनहस बनायो त्यसले। र, थपिएका संरचनासहितको बहावले नेपालतर्फ बबण्डर मच्चाउनेक्रम थाल्यो।

चिनियाँ विज्ञले घटनाअघि र पछिका भूउपग्रह तस्बिर तुलना गरेर विश्लेषण गरेका छन् जसमा केरुङ नाकाभन्दा माथिल्लो तटीय क्षेत्रमा छोजियान नदीतिर नेपाली भेगबाट हिमपहिरो गएको देखाउँछ। यो पछि भोटेकोसीमा मिसियो।

जलवायुमाथि गहिरो अध्ययन गरेका नेपाली विज्ञ डा उत्तमबाबु श्रेष्ठले शुक्रबार साँझ फेसबुकमा लामो पोस्ट गर्दै यही सात मिनेटमाथि लेखेका छन्, ‘सात मिनेटमा त्यो बाढी उत्पत्ति स्थानबाट करिब २२ किलोमिटर पार गरेर त्यहाँ पुगेको छ। भनेपछि त्यो बाढीको गति १८८ किलोमिटर प्रतिघण्टा। मानौँ त्यो कुनै ‘बुलेट ट्रेन’ हो!’

उनले यही रफ्तारमा विपत्ति आइरहने हो भने हामीले तयार पार्ने संरचना र विपद् पूर्वानुमान प्रणाली जस्तोसुकै बनाए पनि काम गर्न सक्ला त भन्दै प्रश्न गरेका छन्। श्रेष्ठले लेखेका छन्, ‘जुन स्केलको बाढी अहिले आयो त्यो स्केलको तुलनामा हामीले जस्तोसुकै विपद् पूर्वानुमान प्रणाली बनाए पनि काम गर्ला?’

हिमपहिरो अनि लेदोको उत्पात
गुओका अनुसार ५ हजार २ सय मिटरको उचाइमा रहेको हिमनदी भीरतिर एकाएक झरेको थियो। तलतिर झर्ने गतिसँगै यसले नदीको सतह र पाखा खोस्रँदै गयो। ठूलो परिमाणमा ढुंगा, माटो र गेग्रान सोहोरियो।

‘यो हिमपहिरो, तीव्र गतिको लेदो र ढुंगाहरू मिसिँएर भएको विपद्को एकीकृत र शृङ्खलाबद्ध घटना हो,’ गुओले तस्बिरहरूको मूल्यांकनसहित व्याख्या गरेका छन्। उनले यसलाई अझ बुझाउन हिमपहिरोको गुरुत्वाकर्षण क्षमता र त्यसले नदीको सतह र किनारालाई कसरी बहावमा लैजान्छ भनेर व्याख्या गरेका छन्। ‘बग्ने पदार्थको मात्रा थपिँदै जाँदा विनाशकारी क्षमता वृद्धि हुन्छ,’ गुओले भनेका छन्। ठाडो र भिरालो भूगोलका कारण बाढी धुलो उडाउँदै आएको देखिन्छ जुन सोसल मिडियामा देखिने फुटेजहरूमा प्रष्ट देखिन्छ।

श्रेष्ठले पनि यसलाई अन्य समय आएका बाढीसँग तुलना गर्न योग्य नहुने तर्क गरेका छन्। उनले लेखेका छन्, ‘यो बाढी सामान्य खोला, खहरे र नदीहरूमा आउने बाढीभन्दा बिल्कुलै फरक छ जस्तो लाग्छ।‘

एक वर्षअघि र अहिलेको स्रोत फरक
चिनियाँ विज्ञले स्याटेलाइट प्रमाणका आधारमा गरेको दाबीअनुसार एक वर्षअघि र यसवर्षको विपद्को स्रोत फरक हुन्। ‘हिमताल विस्फोटका बाढी अत्यधिक खतरनाक हुन्छन्, तर यसपालाको घटना हिमतालका कारण होइन,’ उनले भनेका छन्।
दुवै विपद् उच्च हिमाली हिउँमण्डलसँग सम्बन्धित भने छन्। तर दुवैका प्रक्रिया फरक हुने गर्छ। जब प्राकृतिक बाँध भत्किन्छ हिमताल विस्फोट हुन्छ। तालमा जम्मा भएको पानी एक्कासि बाहिरिन्छ।

यसको विपरीत हिमपहिरोमा पहाडको ठाडो भागबाट हिमनदी वा हिउँको ठूलो भाग एक्कासि खस्छ। यसरी खसेको हिउँ र ढुंगा-माटो लगायतका पदार्थसँग मिलेर लेदो बन्छ र तीव्र गतिमा तलतिर लाग्छ।

सधैं जोखिममै हो त?
गुओको अध्ययनले जटिल भूगर्भ, भूबनोट र सक्रिय हिउँमण्डलका कारण यस क्षेत्र सधैं विपद्को जोखिममा छ। जलवायु परिवर्तनले यसमा थप जोखिम बढाएको छ। कालो देखिने गरेको हिमालले जोखिमको तहलाई उच्च रहेको देखाउँदै आएको छ। हिउँ पग्लिने क्रमको तीव्रता, ढिक्का रहेका हिउँ चिरिने क्रम बढ्दा यसखाले जोखिम थप बढ्ने देखिन्छ।

भोटेकोसीमा जलस्तर कम हुँदै लेदो बग्न घटेको छ। तर खतरा भने टरिसकेको छैन। स्याटलाइट इमेजले यस्ता गेग्रान र लेदोले साना नदीहरू थुनेने र तालमा रुपान्तरण हुनेक्रम देखाएको छ। यसरी बहाव रोकिँदा जलाशय हुने र पानीको सतह माथितिर लाग्नेक्रम जारी रहन्छ। चिनियाँ पक्षले यस्ता रोकावटको आकार र स्थायित्व पत्ता लगाउन थप स्याटेलाइट निगरानी र स्थलगत निरीक्षण आवश्यक हुने जनाएको छ।

उता अनुसन्धान यता उद्धारकै दबाब
जसरी चीनले स्याटलाइट इमेजमार्फत उपल्लो भेगको अनुगमनलाई तीव्रता दिइरहेको छ, नेपाल भने उद्धारकै दबाबमा छ। अझै पनि धेरै मानिसहरू फसेका छन्। सम्पर्कमा आएका मानिस उद्धारको प्रतीक्षामा छन्। बेपत्ताको सूची थप बढ्नसक्ने देखिएको छ।

नेपाल प्रहरीका अनुसार अहिलेसम्म ६ सय १६ जनाको शव फेला परेको छ। यो संख्या लगातार माथि जाने निश्चित छ किनकि प्रभावित धेरै क्षेत्रमा उद्धारकर्मी पुग्न समेत सकेका छैनन्। हराएका मानिसको संख्या दुई हजारको नजिक पुगिसकेको छ। २ हजार ३ सय १ जना घाइते एवम् प्रभावितको उद्धार गरिएको छ।

फेरि मानसरोबर यात्राकै सन्दर्भ
हामी जुन दिनका लागि लक्ष गरेर मानसरोबर पुगेका थियौं, यसपालाको वितण्डामा ज्यान गुमाउनेहरू त्यही मितिलाई लक्ष्य गरेर सिजाङतिरको यात्रामा थिए। भावनात्मक रुपमा मैले आफूलाई ती यात्री र आफूसँग तुलना गरेँ।

उद्धारको आशामा कुरिरहेका मानिस सम्झेँ। ती अझै प्रतीक्षामा नै होलान् – कोही आउँला र उद्धार गर्ला भन्दै। केरुङ पुगिसकेकाहरू र कैलाशतिर कोरामा गएकाहरू पनि फर्किने रुट सम्झेर भावुक बने होलान्।