काठमाडौं। धादिङको बैरेनी बजारको एक किलोमिटर बाहेक पृथ्वी राजमार्गमा दुइतर्फी नै सडक सञ्चालनमा आएको छ। त्रिशूली बाढीले ल्याएको लेदो पन्छाएपछि राजमार्गमा आवागमन बिस्तारै सामान्य हुने क्रममा छ।
यसअघि पृथ्वी राजमार्ग तीन दिनको प्रयासपछि एकतर्फी खुलाइएको थियो। गल्छी-मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाइएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन शुक्रबार साँझबाट सञ्चालनमा आएको थियो।
गल्छी-मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएपछि राजमार्गमा अलपत्र सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको थियो। राजमार्ग बन्द भएपछि काठमाडौं उपत्यकामा अत्यावश्यक वस्तुको आपूर्ति रोकिएको थियो। जसका कारण काठमाडौंको ‘लाइफलाइन’को रुपमा रहेको राजमार्गको लेदो हटाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सडक विभागको टोली परिचालन गरिएको थियो।
बिहीबार गल्छी र बैरेनीको केही भागमा सडक खुलाएकामा शुक्रबार बिहानैदेखि १० वटा एक्साभेटर प्रयोग गरेर लेदो हटाइएको थियो। शनिबार पनि आवागमन सहज बनाउन काम भइरहेको प्रहरीले जनाएको छ।










