काठमाडौं। बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विभिन्न दातृ तथा द्विपक्षीय निकायले सहयोग घोषणा गर्ने क्रम बढेको छ। प्राविधिक तथा मानवीय सहायता आउन थालिसकेको छ।
अस्ट्रेलियाले ३९ लाख अस्ट्रेलियन डलर (करिब ४० करोड रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ। त्यसका साथै ‘अस्ट्रिया असिस्ट्स’ कार्यक्रमअन्तर्गत परिचालन हुने गरी प्राविधिक तथा मानवीय सहायता पनि तत्कालै दिने भएको छ।
अस्ट्रेलियाले घोषणा गरेको सहायता संयुक्त राष्ट्रसंघ, विश्व खाद्य कार्यक्रम र अस्ट्रेलियन गैरसरकारी संस्थामार्फत खर्च हुने जनाइएको छ।
अमेरिकाले बिहीबार ५ लाख डलर (करिब ७ करोड ६५ लाख) सहयोग दिने भनेको छ। त्यसका साथै थप सहायता दिन अमेरिका तयार रहेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।
भारतले दुई पटक गरेर ५० मेट्रिक टनभन्दा बढी राहत सामग्री सहयोग गरिसकेको छ। दक्षिण कोरियाले १० लाख डलर (१५ करोड ३० लाख रुपैयाँ) बराबरको मानवीय सहायता र थप ५ मिलियन डलर अर्थात् करिब ७६ करोड ५० लाख दिने भएको छ।
बेलायतले ५ मिलियन पाउण्ड (१ अर्ब ४ करोड रुपैयाँ) दिनेछ। युरोपियन युनियनले तत्काल मानवीय तथा प्राविधिक सहायता पठाउने घोषणा गरिसकेको छ।
अन्तर्राष्ट्रिय रेडक्रसले १.२४ मिलियन डलर (करिब १९ करोड) रुपैयाँको सहयोग घोषणा गरेको छ। विश्व बैंकले बुधबार बाढी आएलगत्तै २५ अर्ब रुपैयाँ दिने घोषणा गरेको थियो। त्यसमध्ये डेढ अर्ब रुपैयाँ आपतकालीन स्रोत परिचालन गर्नका लागि तत्कालै प्राप्त हुने अर्थ मन्त्रालयले जनाएको छ।
चीनले यकिन नभने पनि आपतकालीन सहयोग गर्न तयार रहेको बताएको छ। संयुक्त राष्ट्रसंघले राहत सामग्री र जनशक्ति परिचालन गर्न थालेको छ। विश्व स्वास्थ्य संगठनले मेडिकल टिम र औषधि सहायता सुरु गरेको छ।











