कुमारी बैंकले सरकारको उद्धार कोषमा जम्मा गर्‍यो ३ करोड, ड्रोन लगायत सामग्री हस्तान्तरण



बिजमाण्डू
२०८३ भदौ ११ गते १२:५३ | Aug 27, 2026
कुमारी बैंकले सरकारको उद्धार कोषमा जम्मा गर्‍यो ३ करोड, ड्रोन लगायत सामग्री हस्तान्तरण


काठमाडौं। कुमारी बैंकले बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापना कार्यका लागि आर्थिक तथा जिन्सी सहयोग गरेको छ।

Vigo
GBIME
Tata

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ३ करोड रुपैयाँ आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

त्यसबाहेक बैंकले विपद् प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन करिब ३९ लाख रुपैयाँ बराबरको ५ वटा अत्याधुनिक एआई जडित निगरानी ड्रोन, ३ वटा ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाएको छ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाहरू प्रभावित भएका परिवारहरूलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी उक्त सहयोग प्रदान गरेको बैंकले जनाएको छ।

कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ। सहयोगले प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

विपद्को कठिन घडीमा कुमारी बैंकले प्रभावित समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै सम्बन्धित निकायहरूलाई राहत, उद्धार तथा पुनर्स्थापना कार्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन आग्रह गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सुरक्षित खोज तथा उद्धारको कामना गरेको छ।