काठमाडौं। भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको तरंग सेयर बजारमा देखिएको छ। हाइड्रोपावर र निर्जीवन बीमा कम्पनीको सेयर मूल्य उच्च अंकले घटेको छ।
बुधबार हाइड्रोपावरको सूचक २.८४ प्रतिशत र निर्जीवन बीमा कम्पनीको भाउ सर्वाधिक ३.९० प्रतिशतले घटेको छ। बाढीका कारण क्षतिग्रस्त भएका आयोजनाको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।
रसुवागढी हाइड्रोपावर र मैलुङ खोला जलविद्युतको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। बाढीले १११ मेगावाट विद्युत उत्पादन क्षमताको रसुवागढी हाइड्रोपावरको ड्याम नै बगाएको छ।
बाढीका कारण एक दर्जन हाइड्रोपावरका आयोजानामा क्षति पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। क्षति पुगेका आयोजनाको सेयर मूल्य घटेको छ।
बजार बुधबार ३५.९२ अंकले घटेर २५५८.३५ अंकमा आएको छ। सबै उपसमूहका सूचकको मूल्य घटेको छ। २५२ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।
बजारमा ४ अर्ब ७७ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। चिलिमे हाइड्रोपावरको सबैभन्दा धेरै २० करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सेलिङ प्रेसरका कारण कम्पनीको उच्च कारोबार भएको हो।
बाढीका कारण मानविय, भौतिक संरचना र सम्पत्तिसँगै जलविद्युत आयोजना, सवारी साधन, नेपाल भित्र्याउन ल्याइएका सामानमा क्षति पुगेको छ। आयोजना र सामानहरुमा भएको क्षतिको दायित्व निर्जीवन बीमा कम्पनीले बेहोर्नुपर्ने हुन्छ। बाढीले अप्रत्यासित ठूलो दायित्व सिर्जना गरेपछि निर्जीवन बीमा कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको हो।
बजारमा २३ कम्पनीको मूल्य बढ्दा सर्वोत्तम पेन्ट्रस इन्डष्ट्रिजमा पोजेटिभ सर्किट लागेको छ।










