काठमाडौं। चीनबाट अकस्मात आएको बाढीका कारण अटोमोबाइल क्षेत्रमा ठूलो क्षति पुगेको छ। अटो व्यवसायीले दसैं तिहारलाई लक्षित गरेर मगाएका ७०० भन्दा बढी गाडी बाढीले बगाएको छ।
विभिन्न कम्पनीले मगाएका गाडी बाढीले रसुवा भन्सार क्षेत्र तहसनहस हुँदा बगाएको हो। बीवाइडी गाडी बेच्ने साइमेक्स इंकले सबैभन्दा धेरै क्षति बेहोरेको छ। साइमेक्स इंकले मगाएका वीवाइडीका २०० भन्दा बढी गाडी बाढीले बगाएको छ।
यस्तै एमजी लगायत गाडी बेच्ने पारामाउन्ट मोटर्सले पनि धेरै क्षति बेहोरेको छ। उसले मगाएका १८० गाडी बाढीमा परेका छन्।
ओमोडा गाडी ६५ वटा र फोटोन गाडी ६० वटा बाढीमा परेका छन्। एमएडब्लू वृद्धिले आयात गरेका विभिन्न ब्राण्डका ८१ वटा गाडी पनि बाढीले बगाएको छ।
व्यवसायीहरुका अनुसार बीएआईसी र आर्कफक्स गाडी ३०/३५ वटा बाढीमा बिलाएका छन्। यसबाहेक स्काइवेल, म्याक्सस लगायत ब्राण्डका गाडी पनि बाढीको वितण्डामा परेका छन्। सीजी मोटर्स लगायत अन्य कम्पनीले आयात गरेका गाडी पनि बाढीसँगै बिलाएका छन्।
चिनियाँ गाडी व्यवसायीहरुले मुख्यगरी रसुवा नाकाबाट आयात गर्दै आएका छन्। तातोपानी नाका सडक भत्किएका कारण करिब एक महिनादेखि बन्द रहेको र कोरला नाकाबाट आयात गर्दा लागत महँगो पर्ने भएका कारण व्यवसायीहरुले चिनियाँ गाडी ल्याउन रसुवा नाका प्रयोग गर्ने गरेका हुन्।
पोहोर असार अन्तिम साता आएको बाढीले रसुवा नाका बन्द हुँदा व्यवसायीले बाध्य भएर कोरला नाका प्रयोग गरेका थिए। पोहोरको बाढीमा सीजी मोटर्सले बढी क्षति बेहोरेको थियो। यसपालि अधिकांश कम्पनीका गाडी बाढीमा परेका छन्।
व्यवसायीले दसैंका लागि मगाएको अरु सामान पनि स्वाहा भएको छ। २०० भन्दा बढी कन्टेनर बाढीले बगाएको छ। व्यवसायीहरुले दसैंका लागि मगाएकोमध्ये ५० प्रतिशतभन्दा धेरै सामान बाढीमा परेको बताएका छन्।
बाढीले त्रिशूली नदीका १९ वटा पुल बगाएको छ। सडक विभागका अनुसार धादिङबेसी जानेसहितका १९ वटा पुल बाढीले बगाएको हो।
विभागले कम्तिमा ४० किलोमिटर सडक क्षतिग्रस्त भएको बताएको छ। विभिन्न १५ वटा जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ।
भौतिक क्षतिसँगै ठूलो मानवीय हताहती भएको अनुमान गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार आन्तरिक र बाह्य गरी ३८४ पर्यटक सम्पर्कविहीन छन्। रसुवा भन्सार कार्यालयमा कार्यरत ४० कर्मचारीमध्ये १४ जनासँग सम्पर्क हुन नसकेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ। जलविद्युत आयोजनामा कार्यरत कर्मचारीसँग सम्पर्क हुन नसकेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
सरकारले बाढीमा परेकाहरुको खोजी र उद्धारका लागि एक दर्जनभन्दा बढी हेलिकोप्टर परिचालन गरेको छ।











