बण्ड मार्केटको पूर्वाधार तयार गर्दै सेबोन, स्थिर लागतमा कम्पनीले पुँजी जुटाउन सक्ने



सुनिल कुँवर
२०८३ भदौ ९ गते १८:०१ | Aug 25, 2026
बण्ड मार्केटको पूर्वाधार तयार गर्दै सेबोन, स्थिर लागतमा कम्पनीले पुँजी जुटाउन सक्ने


काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कर्पोरेट बण्ड मार्केटका लागि पूर्वाधार तयारीको काम अघि बढाएको छ।

Vigo
GBIME
Tata

यसका लागि सेबोनले ऋणपत्र दर्ता तथा निष्कासन नियमावली बनाउन लागेको छ। नियमावलीको मस्यौदा सेबोनले तयार पारिसकेको छ।

हालसम्म बैंक तथा वित्तीय संस्था र अरु कम्पनीले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा भएको व्यवस्था अनुसार ऋणपत्र बिक्री गर्दै आएकामा अब छुट्टै नियमावली बनाउन लागिएको हो।

मस्यौदामाथि सरोकारवालाको सुझाव लिएर केही दिनमै स्वीकृतिको प्रक्रिया अगाडि बढाउने सेबोनका कर्मचारीहरुले बताएका छन्। मस्यौदा सेबोनको सञ्चालक समिति र अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्‍बाट स्वीकृत हुनुपर्छ।

सेबोनले मस्यौदामाथि छलफल थालिसकेको छ।

‘ऋणपत्र निष्कासन गर्ने कम्पनीको न्यूनतम् चुक्ता पुँजी १ अर्ब रुपैयाँ कायम गर्ने कि त्यसभन्दा कम राख्ने भन्ने विषयमा छलफलमै छौं। कम्पनीको पुँजी संरचना, रेटिङ, ट्रष्टीका विषयमा विस्तृतमा स्पष्ट पार्ने गरी काम भइरहेको छ,’ सेबोनका एक अधिकृतले भने, ‘अहिले सार्वजनिक परामर्शका लागि एक साता कुरेका छौं। त्यसपछि सञ्चालक समितिबाट पास गरेर मन्त्रालय पठाउने छौं।’

संस्थागत ऋणपत्र बजारको विस्तार, बैंक कर्जाको विकल्पका रूपमा बजारमा आधारित दीर्घकालीन वित्तीय स्रोत विकास, संस्थागत लगानीकर्तालाई लगानीका लागि थप उपकरण सिर्जना, कम्पनीहरूलाई दीर्घकालीन पुँजी परिचालन गर्ने अवसर,
लगानीकर्तालाई निश्चित आम्दानी श्रृजना गर्ने थप विकल्प, बण्ड प्राइसिङ तथा येल्ड कर्भ विकास, हरित, सामाजिक, दिगो विकाससँग सम्बन्धित विषयगत उपकरण विकास र ट्रष्टीमार्फत लगानीकर्ता संरक्षणको आधार बलियो बनाउने उद्देष्यसहित नियमावली बनाउन लागिएको हो।

सार्वजनिक वा परिपत्र विधिबाट ऋणपत्र निष्कासन गर्नुअघि सेबोनबाट अनुमतिप्राप्त ऋणपत्र ट्रष्टी नियुक्त गर्नुपर्नेछ। ट्रष्टीले लगानीकर्ताको हित संरक्षण, सम्पत्तिको संरक्षण, संगठित संस्थाको दायित्वको अनुगमन, ऋणपत्र निष्कासनका सर्तको परिपालना अनुगमन, लगानीकर्ताको बैठक, ब्याज/साँवा भुक्तानीको निगरानी तथा आवश्यक अवस्थामा सुरक्षणका लागि प्रयोग भएको सम्पत्तिको नियन्त्रण तथा विक्रीसम्मको भूमिका निर्वाह गर्नेछ।

नयाँ नियमावली बनेपछि कर्पोरेट ऋणपत्र बजार विकास हुने सेबोनको बुझाइ छ।

ऋणपत्रमार्फत बैंक तथा वित्तीय संस्था मात्र नभइ अरु संगठित संस्थाले समेत दीर्घकालीन वित्तीय स्रोत परिचालन गर्न सक्ने छन्। कम्पनीहरुले ऋणपत्र निष्कासन गरी स्थिर ब्याजदरमा बजारबाट पुँजी संकलन गरेर परिचालन गर्न सक्नेछन्।

यसले लगानीकर्तालाई लगानीको स्थिर प्रतिफलको उपकरण र कम्पनीलाई पुँजी जुटाउने सबल वित्तीय संरचना तयार हुने सेबोनका निर्देशक तोलाकान्त न्यौपानेले बताए।

‘मस्यौदामा अहिलेको नियमावलीको भन्दा व्यापक दायरा समेटिएको छ। यो कर्पोरेट बण्ड मार्केट तयार गर्ने मुख्य पूर्वाधार हो,’ उनले भने, ‘विदेशी मार्केटमा समेत ऋणपत्र जारी गरेर सस्तोमा पैसा उठाउन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।’

कर्पोरेट बण्डका उपकरणमार्फत कम्पनीहरुले पूर्वाधार निर्माणदेखि कम्पनीको आफ्नो व्यवसाय फैलाउन पुँजी जुटाउन सक्नेछन्। यसमा पुँजी संकलनको माथिल्लो सीमा तोकिएको छैन।

नियमावलीको मस्यौदामा ऋणपत्र जारी गर्दा संगठित संस्थाको ऋण र पुँजीको अनुपात ७०:३० तोकिएको छ। ऋणपत्र निष्कासन गर्ने कम्पनीको चुक्ता पुँजी न्यूनतम् १ अर्ब रूपैयाँ हुनु पर्नेछ।

संगठित संस्थाले सेबोन र नेपाल राष्ट्र बैंकको स्वीकृति लिई विदेशी मुद्रामा विदेशी पुँजी बजारमा ऋणपत्र निष्कासन गर्न सक्ने प्रस्ताव गरिएको छ। ‘यस्तो निष्कासनबाट प्राप्त रकम नेपालमा लगानी गर्नुपर्नेछ। यो व्यवस्था भविष्यमा नेपालका योग्य संगठित संस्थालाई अन्तर्राष्ट्रिय ऋणपत्र बजारमा पहुँच प्रदान गर्ने महत्वपूर्ण आधार बन्न सक्छ,’ सेबोनका निर्देशक न्यौपानेले भने।

बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी वा विशेष ऐन अन्तर्गत स्थापित संस्था बाहेक अन्य संगठित संस्थाले सुरक्षित ऋणपत्र मात्र निष्कासन गर्न सक्नेछन्। कम्पनीले सेबोनको स्वीकृति लिएर परिपत्रमार्फत पनि ऋणपत्र निष्कासन गर्न सक्नेछन्।