यामाहाको एक्सएसआर १५५ बाइक नेपाली बजारमा आयो, रेट्रो डिजाइनमा आर १५ को इन्जिन



बिजमाण्डू
२०८३ भदौ ९ गते १४:५० | Aug 25, 2026
यामाहाको एक्सएसआर १५५ बाइक नेपाली बजारमा आयो, रेट्रो डिजाइनमा आर १५ को इन्जिन


काठमाडौं। यामाहाको एक्सएसआर १५५ बाइक नाडा अटो शोमा सार्वजनिक गरिएको छ।

Vigo
GBIME
Tata

नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले नयाँ बाइक मंगलबार सार्वजनिक गरेको हो। यो बाइक भारतमा बेस्ट सेलिङ मोडल बनिरहेको छ। कम्पनीले भारतमा सार्वजनिक गरिएको करिब ९ महिनापछि एक्सएसआर १५५ बाइक नेपाली बजारमा ल्याएको हो।

आकर्षक रेट्रो डिजाइन, पर्फमेन्स तथा आधुनिक टेक्नोलोजीका कारण भारतमा रुचाइएको यो मोटरसाइकल नेपालमा पनि लोकप्रिय हुन सक्ने कम्पनीको विश्वास छ। बाइकको मूल्य ५ लाख ३९ हजार रुपैयाँदेखि सुरु हुन्छ।

कम्पनीका अनुसार एक्सएसआर १५५ को डिजाइन विश्वव्यापी रूपमा बिक्री हुँदै आएको एक्सएसआर सिरिजबाट प्रेरित छ। यसमा क्लासिक रेट्रो स्टाइलसँगै आधुनिक डिजाइनको संयोजन गरिएको छ।

यामाहा आर १५ र एमटी १५ मा प्रयोग हुँदै आएको इन्जिन प्लेटफर्ममा आधारित एक्सएसआर १५५ मा पनि सोही क्षमताको इन्जिन छ।

रेट्रो डिजाइनमा आधुनिक पर्फमेन्स खोज्ने ग्राहकलाई लक्षित गरी ल्याइएको एक्सएसआर १५५ मा डेल्टा बक्स फ्रेम, गोलाकार एलईडी हेडलाइट, टियरड्रप आकारको फ्युल ट्याङ्क र फ्ल्याट सिंगल-पिस सिट छ।

मोटरसाइकलको तौल १३७ किलोग्राम, ग्राउण्ड क्लियरेन्स १२० एमएम र फ्युल ट्याङ्क १० लिटर क्षमताको छ। एक्सएसआर १५५ मा १५५ सीसीको सिंगल-सिलिन्डर, फोर-स्ट्रोक, फोर-भल्भ, एसओएचसी, फ्युल-इन्जेक्टेड तथा भीभीए प्रविधियुक्त इन्जिन रहेको कम्पनीले जनाएको छ।

यो इन्जिनले अधिकतम १८.४ पीएस पावर तथा १४.२ एनएम टर्क उत्पादन गर्छ। इन्जिनलाई ६-स्पीड गियर बक्ससँग जोडिएको छ भने असिस्ट र स्लिपर क्लचसमेत उपलब्ध छ।

सस्पेन्सनतर्फ अगाडि टेलिस्कोपिक यूएसडी फोर्क र पछाडि स्विङआर्म लिंक मोनोसक सेटअप छ। सुरक्षाका लागि डबल डिस्क ब्रेक तथा डबल-च्यानल एबीएस उपलब्ध छ।

यसमा ट्युबलेस टायर र कलर-म्याचिङ अलोय ह्वीलसमेत छ। फिचरतर्फ यामाहाको स्मार्टफोन कनेक्टिभिटी सिस्टमसहितको डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ। यसबाट कल तथा एसएमएस अलर्टलगायत जानकारी प्राप्त गर्न सकिन्छ। फुल एलईडी लाइटिङ, डीआरएल, ट्र्याक्सन कन्ट्रोल तथा इलेक्ट्रिक स्टार्टरजस्ता फिचर पनि उपलब्ध छन्।