काठमाडौं। डोङफेङ एमहिरो इलेक्ट्रिक एसयूभी नेपालमा सार्वजनिक भएको छ। चिनियाँ कम्पनी डोङफेङले उत्पादन गरेको एमहिरो-१ इलेक्ट्रिक एसयूभी मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोमा सार्वजनिक गरिएको हो।
विद्युतीय एसयूभी सेग्मेन्टमा शक्तिशाली र विलासी मोडलका रूपमा रहेको एमहिरो-१ लाई इलेक्ट्रिक हमर र मर्सिडिज-बेन्ज जी-क्लासलाई चुनौती दिने गरी तयार गरिएको छ। यसको मुख्य विशेषता अफरोड क्षमता, उच्च पावर र विलासी डिजाइन हो।
एमहिरो-१ मा चारवटा विद्युतीय मोटर प्रयोग गरिएको छ। यी मोटरले संयुक्तरूपमा ८०० किलोवाट अर्थात् १,०८८ एचपी पावर तथा १,४०० एनएम पीक टर्क उत्पादन गर्छन्।
करिब ३.५ टन तौल रहेको यो एसयूभीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ४.२ सेकेन्डमै पूरा गर्ने कम्पनीको दाबी छ।

डोङफेङले एमहिरो-१ मा ६५.८ किलोवाट आवर क्षमताको ब्याट्री राखेको छ। यो ब्याट्रीले पूर्ण चार्जमा ४५० किलोमिटरसम्म यात्रा गर्न सक्ने डब्लूएलटीपी परीक्षणले देखाएको छ।
यसमा रेन्ज एक्सटेन्डेड भएकाले ८० लिटरको ट्यांक छ। एयर सस्पेन्सनयुक्त यो एसयूभीको ग्राउण्ड क्लियरेन्स २४० एमएम छ, जसलाई आवश्यकता अनुसार ३३० एमएमसम्म बढाउन सकिन्छ। यसले ९०० एमएम गहिराइसम्मको पानीसमेत पार गर्न सक्ने क्षमता राख्छ।
कठिन भूभागमा चलाउनका लागि एमहिरो-१ मा ड्राइभिङ मोडअन्तर्गत बालुवा, चट्टान, हिलो र पानीका लागि छुट्टाछुट्टै अफरोड मोड दिइएको छ।
डिजाइनमा पनि एमहिरो-१ लाई फरक देखाउने प्रयास गरिएको छ। ड्यासबोर्डमा ठूलो स्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर तथा ठूलो गोलाकार थ्री-स्पोक स्टेयरिङ ह्वील दिइएको छ।

यसको ढोका खोल्ने ह्यान्डलसमेत पेस्तोलको आकारबाट प्रेरित डिजाइनमा तयार गरिएको छ। नाडा अटो शोमा प्रदर्शनीका लागि राखिएको एमहिरो-१ को बिक्री भने तत्काल सुरु हुने छैन।
नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी एमएडब्लू वृद्धि यो गाडी सन् २०२७ जनवरीदेखि बिक्री गर्ने तयारीमा छ।










