बैंकहरुबीच सस्तो ब्याजदरमा अटो कर्जा दिन प्रतिस्पर्धा, कुनको स्किम कस्तो?



आकाश बोगटी
२०८३ भदौ ९ गते १५:५२ | Aug 25, 2026
बैंकहरुबीच सस्तो ब्याजदरमा अटो कर्जा दिन प्रतिस्पर्धा, कुनको स्किम कस्तो?


काठमाडौं। नाडा अटो शोलाई लक्षित गर्दै एक दर्जन बैंकले सस्तो ब्याजदरको स्किम ल्याएका छन्। बैंकहरुले नाडा अटो शोमा गाडी किन्नका लागि प्रोत्साहित गर्न सस्तो ब्याजदरका योजना ल्याएका हुन्।

Vigo
GBIME
Tata

एनआईसी एसिया बैंकले स्थिर ब्याजदरको स्किम ल्याएको छ। एनआईसी एसियाले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो कर्जाको योजना ल्याएको छ। बैंकले ७ वर्ष अवधिका लागि स्किम ल्याएको हो। बैंकको बेसरेट हाल ५.९१ प्रतिशत छ।

एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुजित शाक्यले धेरैजसो बैंकले ‘फ्लोटिङ’ ब्याजदरका स्किम ल्याएकाले ग्राहकलाई अप्सन दिन स्थिर ब्याजदरको कर्जा योजना ल्याएको बताए।

‘धेरैजसो बैंकले बेसरेटमा प्रिमियम जोडेर कर्जा दिने स्किम ल्याएका छन्। हामीले थप अप्सन दिएका हौं,’ उनले भने, ‘७ वर्षका लागि स्थिर ब्याजदर ५.९९ प्रतिशतमै कर्जा दिने स्किम ल्याएका छौं। कर्जा अवधिभर ब्याजदर घटबढ हुने छैन।’

नेपाल बैंकले ४.९४ प्रतिशत ब्याजदरमा अटो कर्जाको स्किम ल्याएको छ। बैंकले बेसरेटमा ०.४९ प्रतिशत ब्याजदर प्रिमियम जोडेर अटो कर्जा दिइरहेको छ।

नाडा अटो शोलाई मध्यनजर गर्दै कुमारी बैंकले १० वर्ष अवधिका लागि अटो कर्जा दिने भएको छ। कुमारीले ५.२१ प्रतिशत ब्याजदरमा अटो कर्जाको स्किम ल्याएको छ। बैंकले अटो कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लिनेछ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रामचन्द्र खनालले नाडा अटो शोलाई लक्षित गरी बेसरेटकै हाराहारीमा कर्जाको स्किम ल्याएको बताए।

‘हाम्रो बेसरेट नै ५.०३ प्रतिशत छ। त्यसमा थोरै मात्रै प्रिमियम जोडेर अटो कर्जा दिइरहेका छौं,’ उनले भने, ‘अटो कर्जाको जोखिम कम हुने हुँदा बेसरेटमा थोरै प्रिमियम जोडेर कर्जा दिइरहेका हौं।’

नबिल बैंकले ५.१७ प्रतिशत ब्याजदरमा अटो कर्जाको स्किम ल्याएको छ । नबिलले अटो कर्जामा सेवा शुल्क ०.५० प्रतिशत कायम गरेको छ। बैंकको पछिल्लो तीन महिनाको औसत बेसरेट ४.४२ प्रतिशत छ।

कृषि विकास बैंकले प्रिमियम र सेवा शुल्कमा ३३.३३ प्रतिशत छुटसहित अटो कर्जाको योजना ल्याएको छ। बैंकको बेसरेट हाल ४.६६ प्रतिशत छ।

ग्लोबल आइएमई बैंकले इभी गाडी खरिद गर्न ५.१७ प्रतिशत ब्याजदरमा कर्जा दिइरहेको छ। बैंकले अटो कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लिनेछ।

ग्लोबल आइएमईले स्थिर ब्याजदरमा समेत अटो कर्जा दिनेछ। बैंकले ७ वर्ष अवधिका लागि अटो कर्जा दिंदा पहिलो तीन वर्षका लागि ब्याजदर फिक्स (५.१७ प्रतिशत) हुनेछ र बाँकी अवधिका लागि बेसरेटमा २ प्रतिशत प्रिमियम जोडिने बैंकले जनाएको छ। अहिले ग्लोबल आइएमईको बेसरेट ४.६७ प्रतिशत छ।

नाडा अटो शोलाई लक्षित गर्दै माछापुच्छ्रे बैंकले बेसरेटमा ०.५ प्रिमियम थपेर अटो कर्जाको योजना ल्याएको छ। बैंकले यस्तो कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लिनेछ।

लक्ष्मी सनराइज बैंकले ५.४९ % ब्याजदरमा अटो कर्जाको स्किम ल्याएको छ। बैंकले पनि सेवा शुल्क ०.५० प्रतिशत कायम गरेको छ।

राष्ट्रिय वाणिज्य बैंकले इभी र पेट्रोल दुवै खाले सवारीका लागि सस्तो ब्याजदरमा कर्जा दिइरहको छ। बैंकले ७ वर्ष अवधिको अटो कर्जाको ब्याजदर ५.०२ प्रतिशत कायम गरेको छ।  

राष्ट्रिय वाणिज्य बैंक सीइओ देवेन्द्ररमण खनालले अधिक तरलताका कारण बेसरेटमा थोरै मात्रै प्रिमियम थपेर अटो कर्जा दिइरहेको बताए।

‘समग्र बैंकहरुको सीडी रेसियो ७० प्रतिशत नजिक छ। हाम्रो बैंकको सीडी रेसियो औसत भन्दा निकै कम छ,’ उनले भने, ‘तरलता थुप्रिनु भनेको लागत बढ्नु नै हो। त्यसकारण पनि हामीले बेसरेटमा थोरै प्रिमियम जोडेर कर्जा दिइरहेका छौं।’

प्रभु बैंकले बेसरेटमा ०.५० प्रतिशत प्रिमियम थप गरी अटो कर्जाको स्किम ल्याएको छ। बैंकको बेसरेट हाल ४.९४ प्रतिशत छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा कर्जा योजना सार्वजनिक गरेको छ। यस योजनामा प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र कायम गरिएको बैंकले जनाएको छ।

वाणिज्य बैंक मात्र नभई विकास बैंक र फाइनान्स कम्पनीले समेत नाडा अटो शोलाई लक्षित गरी स्किम ल्याएका छन्। मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक र गोर्खाज फाइनान्सले अटो कर्जाको स्किम ल्याएका हुन्।

मुक्तिनाथ विकास बैंकले बेसरेटमै अटो कर्जा दिने घोषणा गरेको छ। बैंकको बेसरेट हाल ५.५४ प्रतिशत छ। बैंकका अनुसार यो स्किम भदौ मसान्तसम्म मात्र रहनेछ।

महालक्ष्मी विकास बैंकले नाडा अटो शोमा आफ्नो स्टल नै राखेको छ।

एकातिर बैंकिङ प्रणालीमा अधिक तरलता र अर्कातिर कर्जाको माग सुस्त रहेका कारण बैंक तथा वित्तीय संस्थाहरुले सवारीसाधन किन्न चाहनेहरुलाई लक्षित गरी सस्तो ब्याजदरका योजना ल्याएका हुन्। अहिले बैंकिङ प्रणालीमा १५/१६ खर्ब अधिक तरलता छ।